सामुदायिक विद्यालयले नै प्रवेश परीक्षाका नाममा विद्यार्थीहरुलाई ‘अयोग्य’ घोषणा गर्न मिल्छ?

सामुदायिक विद्यालयले नै प्रवेश परीक्षाका नाममा विद्यार्थीहरुलाई ‘अयोग्य’ घोषणा गर्न मिल्छ?

बुटवल : कुनै पनि विद्यार्थी विद्यालयमा अध्ययनका लागि पुगेपछि उक्त विद्यालयले ‘तिमी यहाँ पढ्न योग्य छैनौं’ भनेर भन्न पाउँछ? त्यसमा पनि सामुदायिक विद्यालयले।

अहिले नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलेसँगै रुपन्देही जिल्लामा नाम चलेका सामुदायिक विद्यालयमा विद्यार्थी भर्नाका लागि अभिभावक लागि परेका छन्। तर उनीहरुको चिन्ता भने रोजाइमा परेका रुपन्देहीका केही उत्कृष्ट भनिएका विद्यालयको प्रवेश परीक्षामा आफ्ना सन्तान उत्तीर्ण हुन सक्छन् वा सक्दैनन् भन्नेमा छ।

नयाँ भर्ना खुलेपछि बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालय, नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालय, शान्ति नमुना माध्यमिक विद्यालय, कान्ति माध्यमिक विद्यालय लगायतका विद्यालयहरुले प्रवेश परीक्षाका लागि आवेदन लिइसकेका छन्।

आवेदनकर्ता मध्येबाट सयौंको संख्यामा विद्यार्थीहरुलाई छानेर बाँकीलाई ‘अयोग्यको ट्याग’ विद्यालयले विद्यार्थीहरुलाई लगाइदिँदै छन्।

सीमित सिटमा भर्ना खोलेका कारण यसपटक रुपन्देहीका नमुना भनिएका विद्यालयबाट हजारौंको संख्यामा विद्यार्थीहरु ‘अयोग्य’ साबित हुँदैछन् । पढ्न भनेर पुगेको विद्यार्थीलाई ‘अयोग्य’ को ट्याग विद्यालयले लगाइदिए बाल मष्तिष्कमा कस्तो असर पर्ला?

‘राज्यको नीति मान्ने हो भने यी विद्यालयले प्रवेश परीक्षा नै लिन पाउँदैनन्। यी विद्यालय योग्य र धनीका बच्च मात्र पढ्न भनेर राज्यले खोलको होइन। त्यसैले विद्यार्थीहरु पढ्छु भनेर जो पहिले विद्यालय पुग्छ त्यसले भर्ना पाउनुपर्छ,’ अभिभावक संघ रुपन्देहीका अध्यक्ष एवं केन्द्रीय सदस्य लोकनाथ ज्ञवालीले भने।

उनले राम्रा भनिएका सामुदायिक विद्यालयले टाढा टाढाबाट प्रवेश परीक्षाबाट राम्रा विद्यार्थी स्कुल बस लगेर ल्याउँदा नजिकका विद्यालय कमजोर बनेको समेत बताए। ‘बुटवलका विद्यालयले खैरेनी, मुर्गिया पुगेर विद्यार्थी लिन किन आवश्यक छ?’ उनले प्रश्न गरे।

साथै उनले केही विद्यालयले प्रवेश परीक्षाका नाममा शुल्क समेत लिएको भन्दै कानुन विपरीत शुल्क लिने विद्यालयविरुद्ध स्थानीय सरकारले गम्भीर कदम चाल्नुपर्ने बताए।

‘विद्यालयमा विद्यार्थीहरुले पढ्न पाएका छन् छैनन्। त्यसको अनुगमन स्थानीय तहले गर्नुपर्छ। तर स्थानीय तहले केही अनुगमन गर्दैन्। राज्यले भनेको निःशुल्क शिक्षा समेत नाम मात्रको बनेको छ,’ उनले भने।

बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयमा हाल ७ हजार ४०० विद्यार्थी रहेकोमा नयाँ शैक्षिक सत्रका लागि ६ सय विद्यार्थी लिने गरी प्रवेश परीक्षाको तयारी गरेको छ। हालसम्म प्रवेश परीक्षाका लागि ३ हजार बढीले फाराम भरिसकेका छन्।

यसबाट पनि स्पष्ट हुन्छ कि २ हजार ४ सय बढी विद्यार्थीहरु उक्त विद्यालयमा पढ्न ‘अयोग्य’ साबित हुने निश्चित छ।

पूर्व जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापाले भने विद्यालयको भौतिक अवस्थाअनुसार सीमित सिटभन्दा बढी विद्यार्थी भर्ना हुन आएको अवस्थामा विद्यालयले प्रवेश परीक्षा लिनु अन्यथा नभएको बताए। उनले विद्यार्थीहरुलाई पढ्ने अवसर पाउनुपर्ने र त्यो अवसर स्थानीय सरकारले बनाइ दिनुपर्ने बताए।

कालिका मानवज्ञान माध्यमिक विद्यालयका सह प्राचार्य पिताम्बर बञ्जाडेले भर्ना हुन आएका सबै विद्यार्थी योग्य भए पनि विद्यालयको अवस्था अनुसार विद्यार्थीहरुको भर्ना लिने गरेको बताए।

‘हाम्रो क्षमता अहिले ६ सय हो। तर ३ हजार बढीले पढ्छु भनेर आउनुभएको छ। हाम्रो क्षमता सबैलाई भर्ना लिन सक्ने नभएकाले पढ्नका लागि तय गरेको मापदण्ड यो परीक्षा हो,’ उनले भने।

नेपाली र अंग्रेजी दुवै माध्यममा पढाइ हुने यस कालिका मानवज्ञान विद्यालयमा नर्सरीदेखि १० कक्षासम्म हरेक कक्षामा ५ भन्दा बढी ‘सेक्सन’ छन्। 

पढाइमा अब्बल मानिएको यो विद्यालयमा पढाउन अभिभावकहरुले निजी विद्यालयबाट आफ्ना सन्तानलाई निकालेर ल्याउने गर्छन्। सोही कारणले पनि विद्यार्थीहरु बढी भन्दा बढी कालिका मानवज्ञानमा पढ्न खोज्छन्। 

सरकारी विद्यालय भए पनि पर्याप्त शिक्षक दरबन्दी नहुँदा विद्यालयले विद्यार्थीहरुबाट ‘सेवा शुल्क’का नाममा रकम लिने गर्दछ। विद्यालयमा हाल ३३७ शिक्षक कर्मचारी छन्।

कालिका मानवज्ञान मात्र नभइ रूपन्देहीको तिलोत्तमा–५ मणिग्रामस्थित शान्ति नमुना माध्यमिक विद्यालयले पनि यस वर्ष १ हजार १४ सय विद्यार्थीहरुलाई ‘अयोग्य’ परिभाषित गर्दैछ।

विद्यालयका अनुसार यो वर्ष नयाँ शैक्षिक सत्रका लागि ५५० जना विद्यार्थी भर्ना गर्ने क्षमता भए पनि प्रवेश परीक्षाबाट ६ सय ८ जना उत्तीर्ण भएका छन्। चैत २६ गतेदेखि भर्नाका लागि वितरण गरिएको फर्म २ हजार जनाले भरेका थिए। हाल विद्यालयमा ५ हजार ४०० विद्यार्थी र १९८ जना शिक्षक कर्मचारी छन्।

५ हजार ३६६ जना विद्यार्थी रहेको बुटवल हाटबजार स्थित कान्ति माध्यमिक विद्यालयले पनि यस वर्ष प्रवेश परीक्षाबाट ‘योग्य’ विद्यार्थी भर्ना गर्दैछ।

१ हजार ८ सय प्रवेश परीक्षामा सहभागी भएकाहरु मध्ये ‘योग्य’ ५ सय जनाले मात्र नाम निकाल्ने विद्यालयले जनाएको छ। बुटवलको नवीन औद्योगिक कदरबहादुर रिता माविले पनि थप ४ सय विद्यार्थी भर्ना गर्दैछ।  

१० बैशाख, २०८०, ०९:२०:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।