भिजिट भिसामा ओमान पुर्‍याएर १२ लाखमा बेचिइन् नेपाली युवती

भिजिट भिसामा ओमान पुर्‍याएर १२ लाखमा बेचिइन् नेपाली युवती

काठमाडौँ : मानव तस्करमा सक्रिय समूहले वैदेशिक रोजगारीको प्रलोभनमा पारेर  महिलालाई ओमानमा लगेर १२ लाख रूपैयाँमा बिक्री गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।

मानव बेचबिखन अनुसन्धान ब्यूरोले इलामका शुक्रराम लिम्बू र सिन्धुपाल्चोकका विष्णु तामाङलाई पक्राउ गरेपछि उनीहरूले भिजिट भिसामा नेपाली महिलालाई ओमानमा पुर्याएर १२ लाखमा बेचेको खुलेको हो।

ब्यूरोको प्रारम्भिक अनुसन्धान प्रतिवेदन अनुसार उनीहरूले एक महिलालाई माघ १२ गते भिजिट भिसामा नेपालबाट दुबई हुँदै ओमान पुर्याएका थिए।

पहिला उनीहरूले ती महिलालाई केही दिन कम्पनीमा राखे। पछि घरेलु कामदारका रूपमा ओमानका एक व्यक्तिलाई बेचे। प्रहरी अनुसन्धानमा उनीहरूले ती महिलालाई तीन हजार पाँच सय ओमानी रियालमा बिक्री गरेको खुलेको छ।

काम पाएको भनेर ती महिला घरमा काम गर्न थालिन्। तर दैनिक २२ घण्टासम्म काम गर्नुपर्ने। शारीरिक अनि मानसिक यातना उस्तै। उनी बिरामी भएपछि एजेन्टले कम्पनीमा फिर्ता ल्यायो। अनि उनी भागेर ओमानमा रहेको नेपाली दूतावासमा पुगेपछि नेपाल फर्काइएकी थिइन्।

८ बैशाख, २०८०, १४:३०:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।