गण्डकी प्रदेशसभाको विशेष अधिवेशन वैशाख ९ गतेका लागि आह्वान

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन वैशाख ९ गतेका लागि आह्वान

पोखरा : गण्डकी प्रदेशसभाको विशेष अधिवेशन वैशाख ९ गतेका लागि आह्वान गरिएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले ९ गतेका लागि विशेष अधिवेशन आह्वान गरेका हुन्।

गत चैत १० गते माओवादी केन्द्रले मुख्यमन्त्रीमा खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको सरकारले ३० दिनभित्र अर्थात् वैशाख ९ गतेसम्म विश्वासको मत लिइसक्नुपर्ने हुन्छ।

यद्यपि उनले विश्वासको मतको प्रक्रियामा नगई राजीनामा दिने आँकलन छ। ६० सदस्यीय प्रदेशभामा मुख्यमन्त्री अधिकारीलाई एमालेका २२ र राप्रपाका २ सांसदको समर्थन छ।

अधिकारी माओवादीका ८, राष्ट्रिय प्रजातन्त्र पार्टीका २ र एमालेका २२ सांसदको समर्थनमा गत पुस २५ गते मुख्यमन्त्री बनेका थिए।

केन्द्रमा सत्ता समीकरण बदलिएसँगै अधिकारी अल्पमतमा परेका हुन्।

गण्डकीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेको नेतृत्वमा सरकार बन्ने लगभग पक्का भइसकेको छ। जसका लागि कांग्रेसका २७ र माओवादीका ८ सांसद् छन्।

१ बैशाख, २०८०, १६:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।