जुम्लामा यो वर्ष शैक्षिक सत्र सुरु नहुँदै पाठ्यपुस्तक पुग्यो

जुम्लामा यो वर्ष शैक्षिक सत्र सुरु नहुँदै पाठ्यपुस्तक पुग्यो

जुम्ला : हिमाली जिल्ला जुम्लामा यस पटक शैक्षिक सत्र सुरु नहुँदै पाठ्यपुस्तक पुगेको छ।

सरकारले हिमाली जिल्लामा समेत वैशाखदेखि शैक्षिक सत्र सुरु गरेसँगै जिल्लाका सामुदायिक विद्यालयमा समयमै पाठ्यपुस्तक पुग्ने भएको हो।

आवश्यक पाठ्यपुस्तक जिल्लामा आइपुगेको जुम्लास्थित सन्ध्या स्टेसनरीका सञ्चालक सुमन खड्काले जानकारी दिए।

कक्षा १ देखि १० सम्मका करिब सात सय थान पाठ्यपुस्तक आइसकेका र जिल्लाको हिमा र तातोपानी गाउँपालिकाको मागअनुसार पाठ्यपुस्तक पुगेको उनको भनाइ छ।

यही वैशाख ३ गतेदेखि हिमा गाउँपालिकामा पाठ्यपुस्तक पुग्ने भएको छ। तातोपानी गाउँपालिकाले पनि पुस्तक माग गरेको छ।

अरू स्थानीय तहबाट पनि माग आउन थालेको र थप पुस्तक पनि आउने काम भइरहेको सञ्चालक खड्काले जानकारी दिए।

अहिले ६ हजार एक सय थान पाठ्यपुस्तक जिल्लामा पुगेको जीपी स्टेसनरीका सञ्चालक गणेश रोकायाले बताए।

सामुदायिक विद्यालयका विद्यार्थी संख्याका आधारमा शैक्षिक सत्रका लागि कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई लक्ष्य गरेर पुस्तक आएको बताइएको छ।

विगतका वर्षमा शैक्षिक सत्र सुरु हुँदा पनि पाठ्यपुस्तक आइपुग्दैनथ्यो। यो वर्ष भने समयमै पाठ्यपुस्तक आएकाले विद्यार्थीलाई सहज हुने देखिएको छ। 

१ बैशाख, २०८०, १४:०१:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।