भरतपुर चुनावी सभामा रविले भने' म राजनीतिमा आएपछि कागजपत्रमा प्रश्न उठाइयो' तर प्रमाण भन्छ २०७५ मै प्रश्न उठेपछि अमेरिकी नागरिकता त्यागे

भरतपुर चुनावी सभामा रविले भने' म राजनीतिमा आएपछि कागजपत्रमा प्रश्न उठाइयो' तर प्रमाण भन्छ २०७५ मै प्रश्न उठेपछि अमेरिकी नागरिकता त्यागे
अध्यागमन विभागले २०७५ मा रविको राष्ट्रियता खुलाएको पत्र।

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफू राजनीतिमा आएपछि आफ्नो राहदानी र नागरिकताबारे प्रश्न उठाइएको झूट बोलेका छन्। उनले भरतपुरमा आयोजित चुनावी कार्यक्रममा आफूले अस्पताल बनाउँदा अनि अलपत्र परेकाहरूको उद्धार गर्दा ठीक भएका कागजात अहिले आएर गलत भएको दाबी गरेका हुन्।

उनले २०७९ असार १७ गते निर्वाचन आयोगमा दल दर्ता गरेका हुन्। तर उनको राष्ट्रियताबारे २०७४ असारमै प्रेस काउन्सिल नेपाल, गृह मन्त्रालय र अध्यागमन विभागसम्म यो विषय पुगेको थियो।

उनी त्यो बेलामा न्युज २४ टेलिभिजनमा कार्यक्रम सञ्चालक थिए। उनले सञ्चालन गर्ने कार्यक्रमबारे प्रश्न उठेपछि सन् २०१८ मा प्रेस काउन्सिल नेपालले उनको राष्ट्रियताबारे छानबिन गर्दा उनी अमेरिकी नागरिक रहेर श्रम स्वीकृति नलिई नेपालमा आएर काम गरिरहेको खुलेको थियो।

श्रम ऐन अध्यागमन ऐनको उलङ्घन गरेर नेपालमा बसेर काम गरिरहेको खुलेपछि उनले अमेरिकी नागरिकको कानुनी हक त्याग्न नेपालस्थित अमेरिकी दूतावासमा निवेदन दिएका थिए। उनले यस अगाडि पटक-पटक आफूले चार वर्ष अगाडि नै अमेरिकी नागरिकको हक छाडेको स्वीकार गर्दै आएका छन्।

प्राप्त प्रमाणहरूले समेत सन् २०१८ मै उनको नागरिकता र राहदानीबारे प्रेस काउन्सिल नेपालले छानबिन गरेको खुल्छ। उनले अदालतमा बुझाएको लिखित जवाफ, निर्वाचन आयोगमा बुझाएको स्पष्टीकरणमा समेत उनी सञ्चारकर्मी छँदै उनको नागरिकता र राहदानीबारे प्रश्न उठेको पुष्टि हुन्छ।

रास्वपा दर्ता गर्दै २०७९ असार १९ गते निर्वाचन आयोगले दिएको प्रमाण पत्र।

उनी राजनीतिमा आएको नौ महिना मात्र भएको छ। स्थानीय तहको निर्वाचनसम्म रवि ग्यालेक्सी टेलिभिजनमै कार्यरत थिए। निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति घोषणा गरेपछि मात्रै उनले राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेर सक्रिय राजनीतिमा आएका थिए।

उनी मङ्सिर ४ मा चितवन २ बाट उम्मेदवार बने लगत्तै कात्तिक २९ गते मुख्य निर्वाचन कार्यालयमा उनको नागरिकताबारे प्रश्न उठाउँदै उजुरी परेको थियो। आयोगले यसबारे केही निर्णय नगरेपछि सर्वोच्च अदालतमा रिट पर्यो। अदालतको संवैधानिक इजलासले उनको नागरिकता निष्क्रिय नै रहेको फैसला गरेपछि उनको सांसद पद गुमेपछि वैशाख १० मा उप निर्वाचन हुन लागेको हो।

सभामा उनले आइतबार आफ्नै पार्टीका सांसद ढाकाप्रसाद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग स्वास्थ्यमन्त्री बन्न पार्टी सभापति लामिछानेको कोर टिमलाई बुझाउनुपर्ने भन्दै साढे २ करोड मागेको अडियो सार्वजनिक भएको थियो।

उनले सो अडियो निर्वाचनलाई प्रभाव पार्न सार्वजनिक गरेको दाबी गर्दै भने' अदालत र निर्वाचनबाट नसकेपछि यस्ता चिज आउनुको ठूलो अर्थ छ। तर हामी डराएका छैनौँ।'

२७ चैत, २०७९, १६:४८:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।