वैदेशिक रोजगारीमा मृत्यु भएकाहरूको बिमा रकम ठगीमा बिमा कम्पनी र बोर्डका कर्मचारी समेत संलग्न

वैदेशिक रोजगारीमा मृत्यु भएकाहरूको बिमा रकम ठगीमा बिमा कम्पनी र बोर्डका कर्मचारी समेत संलग्न

काठमाडौँ : वैदेशिक रोजगारीको क्रममा मृत्यु भएकाहरूको बिमाको रकम ठगीमा बिमा कम्पनी र वैदेशिक रोजगार विभागकै कर्मचारी संलग्न रहेको देखिएको छ। प्रहरीले यस अगाडि नै बोर्डका एक कर्मचारीसहित गिरोहका सदस्यहरू पक्राउ गरिसकेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार थप दुई जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा एक जना बोर्डका कर्मचारी छन् भने अर्का बिमा कम्पनीका कर्मचारी। विदेशमा काम गर्दा गर्दै विविध कारणले मृत्यु भएका तथा बिदामा नेपाल आउँदा मृत्यु भएका नेपालीहरूले बिमा बापत पाउने बिमा रकम मृतकका आफन्तहरूलाई दिलाई दिन्छु भनी बिमा बापत प्राप्त हुने रकममा ठगी गरेको आरोपमा पशुपति अधिकारी अनि उमेश बुढाथोकी पक्राउ परेका हुन्।

कार्यालयका अनुसार उनीहरूले मृतकका परिवारका सदस्यलाई बिमाको थोरै रकम दिएर बाँकी रकम ठगी गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ।

पक्राउ परेका अधिकारी वैदेशिक रोजगार बोर्डमा कार्यरत नायव सुब्बा ( कम्प्युटर अपरेटर ) पदमा कार्यरत थिए। बुढाथोकी सूर्यज्योती जीवन बिमा कम्पनीका जुनियर अधिकृत हुन्। प्रहरीले यस अगाडि राम बहादुर तामाङ समेत ६ जनालाई पक्राउ गरिसकेको छ।

उनीहरूले विभिन्न मृतक व्यक्तिहरूको नागरिकता, राहदानी, जन्मदर्ता, मृत्युदर्ता, विवाह दर्ता, वडा कार्यालयको सिफारिस बिमा कम्पनीको लेटरप्याड लगायतका महत्त्वपूर्ण विविध कागजात फेला परेको प्रहरीले जानकारी दिएको छ।

२६ चैत, २०७९, १८:०२:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।