बुटवलको ऐतिहासिक रात्रि विद्यालय ‘ज्ञानोदय’ : विद्यार्थी छैनन्, स्थानीय तहले प्राथमिकतामै राख्दैन

बुटवलको ऐतिहासिक रात्रि विद्यालय ‘ज्ञानोदय’ : विद्यार्थी छैनन्, स्थानीय तहले प्राथमिकतामै राख्दैन

बुटवल : नेपालमा रहेका मात्र ३ वटा रात्रि विद्यालय मध्येको एक हो, बुटवलको ज्ञानोदय रात्रि माध्यमिक विद्यालय।ज्ञानोदय बाहेक नेपालमा विराटनगरमा महेन्द्र मावि र काठमाडौंमा नन्दी माविमा मात्र रात्रि पढाइ हुन्छ। ​​​​​​

दिउँसो पढ्न नपाउने विद्यार्थीहरुको सुविधाका लागि खोलिएको बुटवलको हाटबजार स्थित यस विद्यालय अहिले ‘जवरजस्ती’ मात्रै चलिरहेको छ। स्थानीय तहको कम प्राथमिकता र पर्याप्त प्रचार प्रसार हुन नसक्दा लामो इतिहास बोकेको विद्यालय हाल जिनतिन संचालनमा आइरहेको अवस्था छ।

६० वर्षअघि बुटवलका शिक्षा प्रेमीहरूको पहलमा स्थापना भएको रात्रि विद्यालयमा कक्षा ५ देखि १० सम्म अध्ययन हुने गर्छ। तर विद्यालयमा विद्यार्थी संख्या कम हुँदै गएको छ। अहिले विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीहरुको संख्या १ सय पनि छैन।

दिनभरी श्रम गरेर पढ्नेहरु धेरै छन्। घरायसी काम गर्ने कामदार पनि भएकाले कतिपयले घरमा पाहुना आउँदासमेत विद्यालयमा पठाउँदैनन्। त्यसैले विद्यार्थीहरु विद्यालयमा नियमित हुँदैनन्।

पढ्ने इच्छा हुँदा हुँदै पनि दिनमा पढ्न नपाउने विद्यार्थीहरुको अध्ययनको लागि भन्दै वि.स. २०२१ सालमा स्थापना भएको विद्यालयमा अहिले विद्यार्थी संख्या निकै न्यून हुँदै गएको विद्यालयका प्राचार्य गुरु पौडेलले बताए।

दिउँसो ४ बजेदेखि ८ बजेसम्म संचालन हुने विद्यालयमा हाल ९७ जना विद्यार्थीहरु अध्ययनरत छन्। विद्यालयमा मावि तहमा ४ जना र निमावि तहमा ४ गरी कुल शिक्षक ८ जना छन्। शिक्षक सबै सरकारी दरबन्दीका हुन्।

पढेर बीचमै कक्षा छाडेका, घरमा काम गर्ने कामदार, हाटबजारमा तरकारी बिक्री गर्ने, दिउँसो विभिन्न उद्योगमा काम गर्ने श्रमिकहरू नै विद्यालयका विद्यार्थीहरु हुन्।

‘दिनभरी श्रम गरेर पढ्नेहरु धेरै हुनुहुन्छ। घरायसी काम गर्ने कामदार पनि भएकाले कतिपयले घरमा पाहुना आउँदासमेत विद्यालयमा पठाउनुहुन्न। त्यसैले विद्यार्थीहरु विद्यालयमा नियमित हुँदैनन् ,’ प्राचार्य पौडेलले भने।

ज्ञानोदय दिवा र रात्रि माध्यमिक विद्यालय नाम रहेको विद्यालयमा दिवा र रात्रि हेर्ने व्यवस्थापन समिति, प्राचार्य, शिक्षक, प्रशासन सबै फरक/फरक छ। तर भवन भने एउटै मात्रै छ।

कक्षा ६, ७ र ८ मा कम्प्युटर विषय अध्ययन गराउँदै आएको विद्यालयले कक्षा ९ र १० मा ऐच्छिक अन्तर्गत शिक्षा विषय पढाउँदै आएको छ। तर अहिले विद्यालयमा कम्प्युटर शिक्षक नहुँदा अध्यापन नै प्रभावित भएको पौडेलले बताए।

१२ वर्षदेखि ४० कटेकाहरुले समेत अध्ययन गर्ने विद्यालयमा छात्रावास राख्न सके विद्यार्थीहरुको कक्षा नियमित हुने पौडेलको धारणा छ। ‘विद्यालयमा एउटा बस र आवास बनाउन सके विद्यार्थीहरुको संख्या बढ्ने थियो। त्यससँगै प्राविधिक शिक्षा पनि विद्यालयमा ल्याउनुपर्छ भनेर स्थानीय तहलाई अनुरोध गरेका छौं,’ उनले भने।

ज्ञानोदय दिवा माध्यमिक विद्यालयकै भवन यस रात्रि विद्यालयले प्रयोग गर्दै आइरहेको छ। दिवा र रात्रिका लागि साझा भवन हुँदा पनि कार्यक्रमहरु गर्न अप्ठ्यारो भएको उनले बताए। त्यसबाहेक रात्रिमा नियमित बिजुलीको समस्या हुँदा पनि पढाइमा अड्चन आउने गरेको उनको भनाइ छ।

ज्ञानोदय प्रौढ विद्यालय’ नामबाट स्थापना भएको विद्यालयमा सुरुमा कक्षा ६ देखि १० सम्म अध्ययन हुन थाल्यो। तर रातमा पढाइ गराउन कम चुनौती भने थिएन। पंचायतकालको समय थियो।

ज्ञानोदय दिवा र रात्रि माध्यमिक विद्यालय नाम रहेको विद्यालयमा दिवा र रात्रि हेर्ने व्यवस्थापन समिति, प्राचार्य, शिक्षक, प्रशासन फरक/फरक छ। तर भवन भने एउटै मात्रै छ।

रात्रिकालीन विद्यालयको अवधारणा

व्यापारिक नगरी बुटवल पहिले बटौलीका नामले चिनिथ्यो। यहाँ घ्यूसँग नुन साट्ने व्यापार दिनभर जसो हुन्थ्यो। त्यसबाहेक दैनिक हुने कामकाजका कारण पढ्न खोज्नेहरुका लागि पनि विद्यालय थिएनन्। भएका दिउँसो मात्र चल्थे।

दिनभरी काम गरेर साँझ पढ्न खोज्नेहरुका लागि रात्रि विद्यालयको परिकल्पना गरियो। तर यसको स्थापना भने सहज थिएन। तर बुटवलका चन्द्रध्वज श्रेष्ठ, दुर्गालाल बजिमय, सुरेन्द्रमनी श्रेष्ठ लगायतको सक्रियतामा वि.स. २०२१ सालमा ज्ञानोदय रात्रि माध्यमिक विद्यालय स्थापना भयो।

विद्यार्थीहरुको आकर्षण बढिरहेका बेला विद्यालयलाई तत्कालीन जिल्ला शिक्षा कार्यालयले बन्द गर्न परिपत्र गर्यो र विद्यालय खारेज भयो।

‘ज्ञानोदय प्रौढ विद्यालय’ नामबाट स्थापना भएको विद्यालयमा सुरुमा कक्षा ६ देखि १० सम्म अध्ययन हुन थाल्यो। तर रातमा पढाइ गराउन कम चुनौती भने थिएन। पंचायतकालको समय थियो। विद्यार्थीहरु कम हुन्थे। शिक्षकहरु पनि आंशिक रुपमा अध्यापन गराउँथे। दिउँसोमा उद्योग कलकारखानामा काम गर्ने र साँझ मात्र विद्यालयमा विद्यार्थीहरु पढ्न आउँथे।

‘विद्यार्थीहरु कम थिए त्यसबेला। उद्योग, पसलमा काम गर्ने विद्यार्थीहरुलाई ग्रेडअनुसार छुटाएर अध्यापन हुने गर्दथ्यो’ विद्यालयका पूर्व अध्यक्ष पुनाराम पोखरेलले भने, ‘अभावका बीचमा सुरु भएको विद्यालयमा सुरुमा मइन्टोल र लालटिन बालेर समेत पढाइयो।’

पछि मात्र विद्यालयमा बुटवल नगर पंचायत, उद्योग बाणिज्य संघ र जिल्ला पंचायत आदि संस्थाहरूले पनि आर्थिक अनुदान दिन थालेको र विद्यालय बिस्तारै तंग्रिदै गएको उनले बताए। 

विद्यालयको खारेजी

२०२८ सालमा सरकारले देशमा नयाँ राष्ट्रिय शिक्षा पद्धति योजना लागु गर्ने घोषणा गर्यो। पहिलो पटक कास्की र चितवनमा लागु भएको यो योजना दोस्रो चरणमा २०२९ सालमा रूपन्देही जिल्लामा समेत लागु भयो। त्यसपछि ७ वर्षसम्म चलिरहेको यस विद्यालयले स्वीकृति पाउन सकेन।

विद्यार्थीहरुको आकर्षण बढिरहेका बेला विद्यालयलाई तत्कालीन जिल्ला शिक्षा कार्यालयले बन्द गर्न परिपत्र गर्यो र विद्यालय खारेज भयो। विद्यालयको भवनमा २०३० सालमा तानसेन पाल्पामा रहेको शिक्षा शास्त्र इन्स्टिच्युट (हालको बुटवल बहुमुखी क्याम्पस) बुटवलमा सर्ने भएपछि त्यही बस्यो। 

विद्यालय संचालनको तयारी भयो। १५२ जना पुरुष र ४ जना महिला विद्यार्थीहरु भर्ना हुने भए। तर तयारी चल्दाचल्दै वि.स. २०३८ साल असोज १३ गते बुटवलमा भीषण बाढी आयो।

यसपछि वि.स. २०३७ बुटवल नगरपालिकामा भएको एक निर्णयले पुनः विद्यालयलाई व्युउँताउने प्रयास भयो। तर चलाउने कसरी? त्यो बेला पनि नगर पंचायत र उद्योग वाणिज्य संघले आर्थिक अनुदान दिने उद्घोष गरे र विद्यालय चलाउने निर्णय भयो।

बन्द विद्यालय चलाउन कम चुनौती थिएन। संघसंस्थामा विद्यार्थीहरुलाई रात्रिकालमा पढ्न चाहनेहरु को को छन्? भन्दै इच्छुक माग गरियो। अनि विद्यालय पुन: संचालनमा आयो।

बाढीको अर्को चपेटामा

तत्कालीन बुटवल नगरपंचायतका प्रधानपंच बृजमान श्रेष्टको सक्रियतामा विद्यालय व्युतिएपछि विद्यालय संचालनको तयारी भयो। १५२ जना पुरुष र ४ जना महिला विद्यार्थीहरु भर्ना हुने भए। तर तयारी चल्दाचल्दै वि.स. २०३८ साल असोज १३ गते बुटवलमा भीषण बाढी आयो।

विद्यालयका भौतिक सम्पति नष्ट भयो। कागजपत्र सबै नष्ट भए। तर त्यो बेला श्रेष्ठकै अगुवाइमा फेरि संरचना निर्माण गर्न थालियो र वि.स. २०३८ साल पुस पहिलो सातादेखि रात्रि मा.वि. मा फेरि पढाइ संचालन भयो।

‘बाढी पसेकै कारण वि.स. २०२८ सम्मका विद्यालयका रेकर्डहरु भेटिदैनन्,’ प्राचार्य पौडेल भने। विद्यालय व्युताएपछि चन्दाबाटै केही वर्ष विद्यालय चलाइएको पूर्व शिक्षकहरु बताउँछन्। त्यसपछि वि.स. २०४१ सालमा सम्बन्धन पाएपछि भने सरकारी सेवा सुविधा विद्यालयमा आएको पौडेलले बताए। सम्बन्धन पाएपछि कक्षा ६ देखि १० सम्म विद्यालयमा अध्ययन हुन थालेको हो।

२६ चैत, २०७९, ०९:३०:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।