पोखरा–१८ को मतगणना पुनः गर्न उच्च अदालतको आदेश, मितिसमेत तोक्यो

पोखरा–१८ को मतगणना पुनः गर्न उच्च अदालतको आदेश, मितिसमेत तोक्यो

पोखरा : पोखरा महानगरपालिका वडा नम्बर १८ मा पुनः मतगणना गर्नुपर्ने भएको छ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनामा धाँदली गरेर कांग्रेसका उम्मेदवार शिवप्रसाद तिमिल्सिनालाई विजयी घोषणा गरिएको भन्दै एमालेका पुष्कलबहादुर कार्कीले उच्च अदालत पोखरामा पुनः मतगणनाको माग गर्दै निवेदन दिएका थिए।

सोही निवेदन उपर फैसला गर्दै उच्च अदालत पोखराका कायम मुकायम मुख्यन्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषिराज आचार्यको संयुक्त इजलासले मंगलबार पुनः मतगणना गर्न आदेश दिएको हो।

अदातलले आउँदो वैशाख २० गते वडाध्यक्ष पदको पुनः मतगणना गर्न आदेश दिएको उच्च अदालत पोखराका रजिष्ट्रार श्रीराम पौडेलले जानकारी दिए।

गत वैशाखमा भएको निर्वाचनमा कांग्रेसका तिमल्सिनाले १ हजार ६४३ मत पाएर विजयी भएका थिए। पराजित एमालेका थापाले १ हजार ६४० मत पाएका थिए। उनीहरूबीच तीन मतको मात्र फरक छ।

मतगणनामा खसेको भन्दा गणनामा ९ मत कम देखिएकाले गडबडी गरेको भन्दै थापाले निर्वाचन आयोग, जिल्ला निर्वाचन कार्यालय कास्की, निर्वाचन अधिकृतको कार्यालय र वडाध्यक्ष तिमल्सिनालाई प्रतिवादी बनाएर गत जेठ १८ गते उजुरी दिएका थिए।

२१ चैत, २०७९, २०:०८:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।