लघु चलचित्र प्रतियोगिता गर्दै विकास बोर्ड, विजेताले डेढ लाख रूपैयाँ पाउने

लघु चलचित्र प्रतियोगिता गर्दै विकास बोर्ड, विजेताले डेढ लाख रूपैयाँ पाउने

काठमाडौं : चलचित्र विकास बोर्डले लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने भएको छ।

प्रतियोगिताबारे बोर्डले केहि दिन अगाडी सार्वजनिक सूचना समेत निकालेको थियो।

प्रतियोगितामा सहभागी हुन बोर्डबाट स्वीकृत ढाँचाको दरखास्त फारम भरी बैशाख १० गतेसम्म दरखास्तसहित चलचित्र बोर्डको कार्यालय अथवा ईमेल ([email protected])मार्फत पेश गर्नुपर्ने बोर्डले जनाएको छ।

प्रतियोगिताको लागि उपलब्ध भएका चलचित्रहरूमध्ये उत्कृष्ट तीन चलचित्रहरूले क्रमशः प्रथम, द्वितिय र तृतिय गरी एक लाख पचास हजार, एक लाख र पचहत्तर हजार प्राप्त गर्नेछन्।

पुरस्कृत चलचित्रहरूलाई बोर्डले व्यावसायिक तथा गैरव्यावसायिक रूपमा आयोजना हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय चलचित्र महोत्सवहरू, विशेष प्रदर्शनी आदिमा सहभागी गराउनेछ।

प्रतियोगितामा सहभागी हुने चलचित्रहरू कम्तीमा ५० प्रतिशत नेपालमा नै छायांकन भएको र ५० प्रतियोगिता चलचित्रकर्मीहरू नेपाली भएको हुनुपर्नेछ।

साथै, सूचना प्रकाशित भएको मितिले पछिल्ला तीन वर्षभित्र निर्माण भएका चलचित्रहरूले मात्र भाग लिन पाउनेछन् र ती चलचित्रहरूले चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएको हुनुपर्नेछ।

लघु चलचित्र मौलिक यथार्थपरक, सन्देशमूलक, साँस्कृतिक, ऐतिहासिक, सिर्जनात्मक, कलात्मक, सामाजिक रुपान्तरण र जागरण, सचेतना, लैङ्गिक हिंसा, जातीय विभेद, कुप्रथा, राष्ट्रिय स्वाभिमान, राष्ट्रिय पहिचान र कला सँस्कृतिलाई संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यले निर्माण भएका हुनुपर्नेछ।

२० चैत, २०७९, ११:२१:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।