कर्णालीका मुख्यमन्त्रीले शुक्रवार विश्वासको मत लिँदै, एमाले मन्त्री अन्योलमा

कर्णालीका मुख्यमन्त्रीले शुक्रवार विश्वासको मत लिँदै, एमाले मन्त्री अन्योलमा

सुर्खेत : राप्रपाले समर्थन फिर्ता लिएका कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रवार  विश्वासको मत लिने भएका छन्। उनले शुक्रवार बस्ने संसद् बैठकबाट विश्वास मत लिन लागेका हुन्।

एमालेको समर्थनमा मुख्यमन्त्री बनेका शर्मालाई राप्रपाले दिएको समर्थन फिर्ता लिएको थियो। एमालेसहित राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादीसहित २४ सांसदले मुख्यमन्त्री शर्मालाई समर्थन गरेका थिए।

माओवादी काँग्रेससहितको नयाँ गठबन्धनमा गएपछि राप्रपाले १८ गते मुख्यमन्त्री शर्मालाई दिएको समर्थन फिर्ता लिएको थियो।

‘मुख्यमन्त्री शर्माले बुधवार नेपालको संविधान २०७२ को धारा १८८ को उपधारा २ बमोजिम मलाई प्रदेश सभाको विश्वास छ भन्ने कुरा प्रस्ट पार्न प्रस्ताव संसद् सचिवालयमा दर्ता गर्नुभएको छ,’ प्रदेश सभा सचिवालयले जारी गरेको सूचनामा भनिएको छ।

यता एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूले विश्वासको मत दिने वा नदिने भन्ने विषयमा अहिले आफूसँग कुनै जवाफ नभएको बताएका छन्।

एमालेबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा विनोद शाह, सामाजिक विकास मन्त्रीमा टेकराज पछाइ र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा जीतबहादुर मल्ल छन्।

कर्णाली प्रदेशको तेस्रो मुख्यमन्त्रीमा माओवादी केन्द्रका शर्मा पुस २७ गते नियुक्त भएका थिए। कर्णाली प्रदेशमा काँग्रेसका १४, माओवादीका १३, एमालेका १०, राप्रपा, समाजवादी र स्वतन्त्रका एक एक जना सांसद छन्। प्रदेश सभाको बैठक चैत १७ गते तीन बजे बस्दैछ। प्रदेश सरकारको नेतृत्व दाबी गरिरहेको कांग्रेसले विश्वासको मत दिने/ नदिने प्रस्ट छैन।

१५ चैत, २०७९, १७:१५:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।