चलचित्र विकास बोर्डले ‘सिनेमा साइबर सेक्युरिटी’को डेडिकेटेड डेस्क सञ्चालन गर्ने

चलचित्र विकास बोर्डले ‘सिनेमा साइबर सेक्युरिटी’को डेडिकेटेड डेस्क सञ्चालन गर्ने

काठमाडौं : चलचित्र विकास बोर्डले हटलाइन नम्बर सहितको ‘सिनेमा साइबर सेक्युरिटी’को डेडिकेटेड डेस्क सञ्चालन गर्ने भएको छ।

मंगलबार बोर्डको हलमा एक कार्यक्रमको आयोजना गरि डेस्कका लागि सिस्टम विकासको काम सुरू भएको जानकारी दिँदै साइबर सुरक्षासँगै बोर्डलाई डिजिटल प्रविधिमा लैजाने सम्मका योजनाहरू ‘डेमोस्ट्रेसन’ समेत गरिएको छ।

कार्यक्रममा रोबोटिक्स एकेडेमी अफ नेपालका फाउण्डर बिक्रान्त कार्की र आईडिया ब्रिड आईटी सोलुशनका निबेश किरण अधिकारीले संयुक्त रूपमा सिनेमा साइबर सेक्युरिटी डेस्कबारे डेमोस्ट्रेसन देखाएका थिए। यी दुई कम्पनीले डेस्कको लागि सिस्टम विकासको काम गर्नेछन्।

नेपाली चलचित्र उद्योगले सामना गरिरहेको साइबर हमलाबाट छुटकारा पाउनका लागि बोर्डले योजना अघि सारेर त्यसबारे छलफल राखिएको बोर्डका कार्यकारी अध्यक्ष भुवन केसीले जानकारी दिए।

केसीले ‘साइबर सेक्युरिटी’ एक जटिल मुद्दा हो भन्ने जानकारी रहेको र यसलाई बहुपक्षीय दृष्टिकोणबाट सम्बोधन गर्नुपर्ने भएकोले नेपाली चलचित्र र चलचित्रकर्मीहरूले भोगिरहेका साइबर खतराहरू न्यूनीकरण गर्न सरकार, प्रहरी, चलचित्र निर्माताहरू, सामाजिक सञ्जाल प्लेटफर्म र अन्य सरोकारवालासँग मिलेर काम गर्ने बताए।

साथै, उनले यो पहलले नेपाली राष्ट्रिय चलचित्र उद्योगको हितको रक्षा मात्र नभई नेपालको डिजिटल अर्थतन्त्रको समग्र विकासमा पनि योगदान पुर्याउने विश्वास व्यक्त गरे।

‘सिनेमा साइबर सेक्युरिटी’ डेस्क सञ्चालन र यसको लागतबारे आगामी आर्थिक बर्षको बजेट विनियोजनको लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बोर्डले प्रस्तावना पेश गरिसकेको छ।

१४ चैत, २०७९, १९:४९:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।