नयाँ नेतृत्वसँगै निर्देशक समाजमा विवाद, पूर्व अध्यक्षले केपीले संस्था छाडे

नयाँ नेतृत्वसँगै निर्देशक समाजमा विवाद, पूर्व अध्यक्षले केपीले संस्था छाडे

काठमाडौँ : नेपाल चलचित्र निर्देशक समाजको नयाँ कार्यसमिति चयन भएसँगै विवाद बढेको छ। अध्यक्ष पदमा उम्मेदवार बनेकी सुचित्रा श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि जनकदीप पराजुली निर्विरोध भएका थिए।

उनी निर्विरोध भएसँगै समाजका पूर्व अध्यक्ष केपी पाठकले समाजको साधारण सदस्य समेत नरहने घोषणा गरे। शनिबार सम्पन्न भएको निर्वाचनका क्रममा देखिएको राजनीतिका कारण आफ्नो शिर निहुरिएको उनले लेखेका छन्।

‘चलचित्र निर्देशक समाजको चुनावी साधारण सभामा गैह्र सदस्यको प्रभाव, उम्मेदवारहरूलाई जबरजस्ती उम्मेदवारी फिर्ता लिन दबाब, उम्मेदवारको रूवाबासी, महिला सदस्य प्रति गरिएको व्यवहार देख्दा कुनै दृष्टिले पनि फिल्मको क्याप्टेन, सर्जकहरूको चुनाव देखिएन,' उनले फेसबुकमा लेखेका छन् 'एउटा सदस्य र पूर्व अध्यक्ष भएको नाताले मेरो शिर निहुरियो। तसर्थ, आजका मितिले म समाजको सदस्य नरहेको जानकारी गराउँछु।’

श्रेष्ठले समाजको नेतृत्व चयनमा चरम राजनीति भएको भन्दै आपत्ति जनाएकी थिइन्। उनले आफ्ना लागि भोट माग्नेहरूलाई धम्क्याएको र अग्रजहरूले गाली खाएको दाबी गरेकी छिन्।

अधिवेशनमा अध्यक्ष पराजुलीसँगै उपाध्यक्षमा सुभाष गजुरेल र दीप शिखा खड्का, महासचिवमा अरुण कुमार प्रधान, कोषाध्यक्षमा समुन्द्र भट्ट, सह–कोषाध्यक्षमा राज बस्न्यात, सदस्यहरूमा दीपक वली, सौरभ चौधरी, अम्बर ओली, सत्य राज चौलागाईं, उत्सव केसी, अमृत मान महर्जन निर्विरोध भए।

सह–सदस्यमा भने निर्वाचन भएको थियो। निर्वाचनमा सीमा गुरुङ र रामकुमार श्रेष्ठ निर्वाचित भए। 

१२ चैत, २०७९, १९:०९:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।