माओवादीसहित ६ दलले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिए

माओवादीसहित ६ दलले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिए

बुटवल : माओवादी केन्द्र सहित ६ दलले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन्। समर्थन फिर्ता अगाडि माओवादी सहित सहभागी साना दलका मन्त्रीहरूले राजीनामा दिएका थिए।

माओवादी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादीले मुख्यमन्त्री गिरीलाई दिएको समर्थन फिर्ता लिएका हुन्।

प्रदेश प्रमुख अमिक शेरचनलाई भेटेर उनीहरूले मुख्यमन्त्री गिरीलाई दिएको समर्थन फिर्ता लिइएको जानकारी गराए। यो सँगै लुम्बिनी प्रदेशमा मुख्यमन्त्री लीला गिरीको सरकार अल्पमतमा परेको छ। गिरीले अब एक महिनाभित्र प्रदेश सभामा विश्वासको मत लिनुपर्नेछ।

सङ्घमा बनेको नयाँ गठबन्धन अनुसार माओवादी सहितका साना दलले मुख्यमन्त्री गिरीलाई दिएको समर्थन फिर्ता लिएका छन्। अब लुम्बिनी प्रदेशमा नेपाली काँग्रेस नेतृत्वमा सरकार बन्ने सम्भावना छ।

खास गरी लुम्बिनी प्रदेशमा माओवादी केन्द्रले मुख्यमन्त्रीमा आफ्नो दाबी भएको बताइरहेका छन्।

लुम्बिनीमा ८७ जना सांसद छन्। नयाँ सरकार गठनका लागि ४४ सांसदको समर्थन जरुरी हुन्छ।

प्रदेशमा सबैभन्दा ठुलो दल एमालेका २९, काँग्रेसका २७, माओवादीका १०, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका ४-४, जनमत पार्टी र जसपाका ३-३, एकीकृत समाजवादीका १ र २ स्वतन्त्र सांसद छन्।

लुम्बिनीका ३ स्वतन्त्र संसदमध्ये २ जना माओवादीमा प्रवेश गरिसकेका छन्। गत पुस २७ मा एमालेका गिरी मुख्यमन्त्री बनेका थिए।

१२ चैत, २०७९, १६:०९:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।