फेवातालको सिमसार क्षेत्र पुर्दै गरेका स्काभेटर र ट्रिपरलाई महानगरले लियो नियन्त्रणमा

फेवातालको सिमसार क्षेत्र पुर्दै गरेका स्काभेटर र ट्रिपरलाई महानगरले लियो नियन्त्रणमा

पोखरा : पोखरा महानगरले फेवातालको सिमसार क्षेत्र पुर्दै गरेको अवस्थामा दुई वटा ट्रिपर र दुई वटा स्काभेटरलाई नियन्त्रणमा लिएको छ।

विगतमा कोभिड-१९ को संक्रमण फैलिएको बेला लकडाउन भएको मौका छोपेर ताल किनाराको सिमसार क्षेत्र पुरेर व्यावसायिक संरचना धमाधम निर्माण गरेपछि महानगरले रोकेको थियो।

तर, अहिले पुन: सिमसार क्षेत्रमा वाईयूके कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालिका सञ्चालक युवराज खतिवडाले व्यावसायिक प्रयोजनका लागि भौतिक संरचना निर्माण गर्ने उद्देश्यले डाँडा काटेर पुर्न थालेको थिए। 

यसै क्रममा महानगरले २ वटा स्काभेटर र २ वटा ट्रिपरलाई नियन्त्रणमा लिएको हो।

सिमसार क्षेत्रमा कुनै पनि भौतिक निर्माणका कार्य नगर्न पटक पटक आग्रह गर्दा पनि अटेर गरेपछि स्काभेटर र ट्रिपर नियन्त्रणमा लिएको पोखरा महानगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले बताए।

सिमसार क्षेत्र पुर्नका लागि रातको समयमा निर्माण कम्पनीहरूले प्रति रोपनी ५ लाख रुपैयाँ लिएर काम गर्दै आएको खुलेको छ।

खतिवडा महानगरको पटक पटक कारबाहीमा परिसकेका व्यक्ति हुन्। उनले विभिन्न शक्ति केन्द्रको आडमा पोखरा क्षेत्रमा विभिन्न संरचना बनाएर भाडामा लगाउँदै आएका छन्।

विगतमा उनले फेवाताल किनारा लगायतका विभिन्न क्षेत्रमा सार्वजनिक सम्पत्ति हड्पन खोजेको आरोप लागेको थियो।

फेवातालको बाँध मर्मत गर्ने क्रममा ताल सुकाएको मौका छोपी केही व्यवसायीले पुरेको सिमसार क्षेत्रमा संरचना बनाउन डोजर चलाइरहेका छन्।

पछिल्लो समय महानगरले आवश्यक अनुगमन र कारबाही नगर्दा फेवातालको किनारै किनार पामे जाने ठाउँहरूमा तालको पानीसम्म पुगेर व्यावसायिक संरचना बनाउने होड नै चलेको छ। 

१२ चैत, २०७९, ११:३३:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।