तिलोत्तमा नगरपालिकाद्वारा तीन जना राष्ट्रिय क्रिकेटर सम्मानित

तिलोत्तमा नगरपालिकाद्वारा तीन जना राष्ट्रिय क्रिकेटर सम्मानित

बुटवल : राष्ट्रिय क्रिकेट टोलीका ३ खेलाडीलाई रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगद पुरस्कारसहित सम्मान गरेको छ।

आइसीसी विश्वकप लिग-२ मा उत्कृष्ट खेल प्रदर्शन गरेका ओपनिङ ब्याटर कुशल भुर्तेलसँगै मौसम ढकाल तथा यू-१९ क्रिकेटका क्याप्टेन देव खनाललाई सम्मान गरिएको हो।

नगरपालिकाले आइतबार एक कार्यक्रमको आयोजना गरि खेलाडीहरूलाई जनही ५० हजार नगदसहित सम्मान गरेको छ।

नेपाली सिनीयर क्रिकेट टोली पहिलो पटक एकदिवसीय विश्वकप छनोट प्रतियोगता खेल्नको लागि छनोट भएको छ।

त्यसैगरी यू-१९ टिमका क्याप्टेन देव खनाल सहितको टिम भने सन् २०२४ मा श्रीलंकमा हुने यू-१९ विश्वकपका लागि छनोट भएको छ।

खेलाडीहरूलाई सम्मान गर्दै नगर प्रमुख रामकृष्ण खाणले तिलोत्तमालाई क्रकेटको हबको रुपमा विकास गर्न सकिने सम्भावना रहेको उल्लेख गरे।

साथै उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा उत्कृष्ट खेल प्रदर्शन गर्दै तिलोत्तमा र सिङ्गो मुलुकलाई पहिचान दिलाउन सकेको भन्दै सम्मानित खेलाडीहरूलाई बधाई दिए।

सम्मान ग्रहण गर्दै राष्ट्रिय खेलाडी भुर्तेलले सबैको साथ समर्थनले नै आफू र आफ्नो टिमले सफलता हात पारेको उल्लेख गरे।

नगरपालिकाले आफूहरूलाई सम्मान गरेर तिलोत्तमामा थप नयाँ र प्रतिभावना खेलाडी उत्पादनका लागि अवसर सिर्जना गरेको समेत उनले बताए।

१२ चैत, २०७९, ११:०५:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।