नेपाली अर्थतन्त्रमा २०२८ सालको अवस्थामा दोहोरियो : विष्णु पौडेल

नेपाली अर्थतन्त्रमा २०२८ सालको अवस्थामा दोहोरियो : विष्णु पौडेल

बुटवल : पूर्व अर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्र गम्भीर र जटिल स्थितिमा पुगेको बताएका छन्।

पश्चिम नेपाल बस व्यवसायी प्रालिको तेस्रो साधारण सभामा बोल्दै उनले अहिले मुलुकको आर्थिक अवस्था गम्भीर बनेको र आन्तरिक राजश्वले कर्मचारीलाई तलब दिन नसक्ने अवस्था भएकाे बताए।

‘अहिले साधरण खर्च राज्यको आन्तरिक खर्चबाट व्यवस्थापन गर्न कठिन छ,’ उनले भने, ‘अहिलेको राजश्वले साधारण खर्च पनि धान्न सकेको छैन।’

रुपन्देही क्षेत्र नं. २ का सांसद् समेत रहेको पौडेलले विदेशी मुद्रा संचिती र रेमिटान्समा केही सुधार भए पनि अझै पनि राजश्व परिचालन हुन नसकेको बताए।

मुलुकमा राजश्व संकलनको अवस्था आधा शताब्दी पछिकै निराशाजनक रहेको भन्दै उनले गतवर्षको राजश्व संकलनको तुलनामा यो वर्ष उल्लेख्य मात्रामा कमी आएकाे बताए।

‘राजश्व परिचलन र संकलनको अवस्था चालु आर्थिक वर्षमा पूरा नहुने मात्र होइन गत वर्षको भन्दा पनि उल्लेख्य मात्रामा कम राजश्व संकलन भएको छ,’ उनले थपे, ‘यो अवस्था करिब ५० वर्षअघि देखिएको थियो।’

वि.स. २०२८ सालको घटना स्मरण गराउँदै पौडेलले भने– ‘उक्त वर्ष अघिल्लो वर्षको तुलनामा नगन्य मात्रामा कम राजश्व संकलन भएको थियो। ठिक सोही घटना ५० वर्षपछि चालु आर्थिक वर्षमा दोहोरिएको छ।’

एमालेका उपाध्यक्ष समेत रहेका पौडेलले अहिलेको अवस्थामा तत्काल क्रिया प्रतिक्रिया गर्ने अवस्थामा नेपाल नभएको भन्दै मुलुकको आर्थिक संकट समाधानका लागि सबै दल एउटै प्लेटफर्ममा बसेर लाग्नुपर्नेमा जोड दिए।

११ चैत, २०७९, १४:५५:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।