चलचित्र विकास बोर्डको सदस्यमा बुढाथोकी र अधिकारी नियुक्त

चलचित्र विकास बोर्डको सदस्यमा बुढाथोकी र अधिकारी नियुक्त

काठमाडाैं : चलचित्र विकास बोर्डमा रिक्त रहेको सदस्य पदमा दुई चलचित्रकर्मी नियुक्त भएका छन्।

रिक्त तीनमध्ये दुई पदमा निर्देशक केएल बुढाथोकी र निर्माता रवि अधिकारी नियुक्त भएका हुन्।

शुक्रबार सदस्यको हैसियतले बोर्डमा पदभार ग्रहण गर्दै सदस्य अधिकारीले चलचित्र विकासका लागि काम गर्ने बताए।

‘पत्रकारिता र चलचित्र निर्माणबाट संगालेको अनुभवले यहाँ काम गर्नेछु, बाहिर हुँदा देखेको समस्यालाई समाधान गर्ने स्थानमा पुगेको छु’, सदस्य अधिकारीले भने।

गत बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरूलाई दुई वर्षका लागि बोर्ड सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो।

नेपाल पत्रकार महासङ्घ दाङका पूर्वअध्यक्षसमेत रहेका सदस्य बुढाथोकीले थारु भाषाको चलचित्र ‘भुइँयार’ र ‘लावाजुनी’को निर्देशन गरेका छन्।

यस्तै चलचित्र पत्रकार सङ्घ नेपालको चितवन शाखाका निवर्तमान अध्यक्षसमेत रहनुभएका अधिकारी विगत डेढ दशकदेखि मनोरञ्जन पत्रकारितामा सक्रिय छन्।

अधिकारीले ‘पञ्चायत’ र ‘बाबु कान्छा’ चलचित्र निर्माण गरेका छन्।

बोर्डमा अझै एक सदस्य र केन्द्रीय चलचित्र जाँच समितिमा तीन सदस्य नियुक्त हुन् बाँकी छ।

११ चैत, २०७९, १४:३७:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।