अभिनेता विपिन अभिनयमा मात्रै हैन झूट बोल्न पनि माहिर, उनले बोलेको तीन झुट

अभिनेता विपिन अभिनयमा मात्रै हैन झूट बोल्न पनि माहिर, उनले बोलेको तीन झुट

काठमाडौँ : बोली फेर्न नेता मात्र हैन अभिनेता पनि कम छैनन्। त्यसमा अग्रपङ्क्तिमा परेका छन् अभिनेता विपिन कार्की। उनको बदलिरहने बोलीका आधारमा त अब विपिनले जे गर्दिन भन्छन् त्यो चैं गर्छन् भनेर बुझ्नुपर्ने देखिइसकेको छ।

प्रसङ्ग 'प्रसाद-२' बाट सुरु गरौँ। फ्लोरमा गइसकेको छायाङ्कनको काम रोकिएर टिमै काठमाडौँ फर्कियो। यसको कारक थिए निर्मातामध्येका एक सुवास थापा। निर्देशक सुदर्शन थापाको काम गर्ने शैलीप्रति पनि कार्कीको विमति थियो। अनि उनले अब फिल्ममा अभिनय नगर्ने दाबी गरे।

उनीसँगै अभिनेत्री नम्रता श्रेष्ठले पनि फिल्ममा अभिनय नगर्ने बताइन्। नम्रता आफ्नो निर्णयमा अडिग रहिन्। तर विपिन अडिन सकेनन्। अभिनेत्री बदलिएर केकी आउँदा पनि उनी राजी भए अभिनय गर्न।

बीचमा उनी भारतीय एक फिल्ममा अनुबन्ध भएका थिए। यो चैं सत्य नै हो। तर उनले अभिनय गर्ने मौका पाएनन् त्यो फिल्ममा। उनले नेपाली फिल्मको डेट जुधेको बहाना बनाए। तर डेट जुधेर हैन भारतीय फिल्म निर्माण पक्षले पछि विपिनलाई सरी भनेका थिए। उनले सत्य बोल्न सकेनन्। ढाँटे।

तेस्रो उदाहरण। उनले जति फिल्ममा अभिनय गरे पनि पशुपति प्रसादमा गरेको भस्मे डनको क्रेज मेटाउन सकेन। त्यसपछि आएका उनका फिल्महरूका क्यारेक्टर कुनै न कुनै रूपमा भस्मे डन वरिपरि घुमेपछि उनले भस्मे डनजस्तै क्यारेक्टर मात्रै हैन पशुपति प्रसादको सिक्वेल भष्मे डनमा अभिनय समेत नगर्ने सार्वजनिक रूपमै घोषणा गरेका थिए।

तर अहिले उनी पशुपति क्षेत्रमा भइरहेको ‘पशुपति प्रसाद २ : भस्मे डन’को छायाङ्कनमा संलग्न छन्।

अब विपिन अभिनयमा पात्र परिवर्तन गर्न मात्र माहिर छैनन् बोली फेर्न पनि माहिर छन् भन्ने यी तीन घटनाले नै पुष्टि गर्दैन र!

१० चैत, २०७९, १९:५९:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।