एमालेमा हुँदा प्रदेश योजना आयोग सदस्य, माओवादी भएपछि   प्रमोसन पाएर उपाध्यक्ष

एमालेमा हुँदा प्रदेश योजना आयोग सदस्य, माओवादी भएपछि   प्रमोसन पाएर उपाध्यक्ष

सुर्खेत : बुधबार बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले दैलेखका योगेन्द्र शाहीलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गर्यो।

उनले बिहीबार पद तथा गोपनीयताको शपथ पनि लिइसके। मुख्यमन्त्री राजकुमार शर्माले उनलाई बिहीबार शपथ खुवाए।

शाही २०७६ देखि २०७८ सम्म कर्णाली प्रदेश योजना आयोगको सदस्य थिए। एमालेको भागबाट सदस्य बनेका शाहीले तत्कालीन समयको नेकपाभित्रको राजनीतिक अन्यौलता, उतार चढाव र आफ्नै व्यवहारिक समस्याको कारण दुखाउँदै २०७८ असोजमा राजीनामा दिए।

एमालेको केन्द्रीय अर्थ तथा योजना विभागको सचिव तथा एमाले कर्णाली प्रदेश कमिटीको सदस्य भएर उनले काम गरेका थिए।

गत असोजमा प्रदेश सभामा एमालेबाट टिकट नपाउने भएपछि उनी माओवादी प्रवेश गर्दै माओवादी केन्द्रबाट दैलेख क्षेत्र नम्बर–२ (ख) बाट उम्मेदवार बनेका थिए।

उनलाई टिकट दिन माओवादीबाट सिफारिसमा परेर चुनाव प्रचार–प्रसारको तयारी गरिसकेका उपेन्द्रकुमार रावत ‘सुशील’ लाई ब्याक गराइएको थियो।

तर शाही एमालेका कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहसँग पराजित भए। उनी ८३ मतको झिनो मतान्तरले पराजित भएका थिए।

प्रदेशसभामा पराजित भएका उनले आयोगको उपाध्यक्ष उपहार पाए। उनलाई हराउने शाह अहिले कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री छन्।

९ चैत, २०७९, २३:०५:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।