प्रहरीमा महिला आइजिपी कहिले ?, सरकारले चाहे दुई दिनमै, नत्र कहिले-कहिले !

प्रहरीमा महिला आइजिपी कहिले ?, सरकारले चाहे दुई दिनमै, नत्र कहिले-कहिले !

काठमाडौँ : नेपाल प्रहरीको इन्स्पेक्टरमा खुलेको खुल्ला प्रतिस्पर्धामा २०५१-१२-५ मा ६०  जना नियुक्त भए। त्यसमा ४ जना महिला थिए मिरा चौधरी, दुर्गा सिंह, किरण बज्राचार्य अनि किरण राणा। अहिले यी चार जनामध्ये किरण प्रहरी महानिरीक्षकको प्रतिस्पर्धामा छिन्।

प्रतिस्पर्धाको आधारमा महिला प्रहरी एआइजीमा नियुक्त भएको अनि प्रहरी नेतृत्वको प्रतिस्पर्धी भएको यो पहिलो पटक हो।

प्रहरीमा महिलातर्फ एकै ब्याचीमध्ये कार्यसम्पादनमा चौधरी र बज्राचार्य दुवैको छवि अब्बल प्रहरी अधिकृतको देखियो। दुबैले लैङ्गिक फाइदा लिएर सङ्गठनमा अगाडि बढेनन्। प्रतिस्पर्धाबाटै अगाडि बढे। यी दुवै डिआइजीसम्म सँगै भए। तर एआइजी बढुवामा मिरा छुटिन्।

एसपी छँदा किरण २०७३ सालमा मानव बेचबिखन विरुद्धको वर्ष हिरो घोषित भएकी थिइन्। बज्राचार्य केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीमा रहँदा करिब २ वर्ष सङ्गठित मानव तस्कर समूहलाई पक्राउ गर्न धेरै हदसम्म सफल भइन्। त्यही कामका लागि अमेरिकी विदेश मन्त्रालयले सन् २०१६ मा ‘टिआइपी रिपोर्ट हिरो’मा उनलाई छनोट गरेको थियो।

उनले यो बीचमा जिल्ला प्रहरी परिसर ललितपुरको समेत नेतृत्व गरिन्। एसपी छँदा मिरा चौधरी अपराध महाशाखामा थिइन्। गुन्डाको रजगज रहेको सो समयमा उनले गुन्डालाई तह लगाउन महत्त्वपूर्ण भूमिका खेलेकी थिइन्।

गुन्डा नाइके दिनेश अधिकारी ‘चरी’ इन्काउन्टरको फिल्ड अफिसर उनी नै हुन्। उनी अहिले उपत्यका ट्राफिक प्रहरी महाशाखा प्रमुख छिन्।

नेपाल प्रहरीका आइजिपी धिरजप्रताप सिंह सहित एआइजी र डिआइजीहरु।

२०७५ फागुन ५ गते बढुवा भएर सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, गणेश रेग्मी, रामदत्त जोशी, दीपक थापा, मिरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, वसन्तबहादुर कुँवर र भीम ढकाल एसएसपी भए। 

मिरा र चौधरीसँगै डिआइजी समेत भए। तर एआइजीमा छुटे। वसन्त कुँवर, टेक बहादुर राई, दीपक थापा, श्यामलाल ज्ञवाली अनि किरण एआइजी भए।

एआइजीमा बढुवा भएका पाँच प्रहरी अधिकृतहरूको कार्यक्षमता र आर्थिक अनुशासनलाई मापक बनाउने हो भने मिरा छुट्नुपर्ने कुनै कारण देखिन्न। तर उनी छुटिन्। पहिलो पटक किरण पुरुषहरूसँग एकल प्रतिस्पर्धा गरिरहेकी छिन् सङ्गठन प्रमुखमा।

इतिहास बनाउन एक कदम बाँकी

अहिले प्रहरी नेतृत्वमा पुगेको २०४८ को ब्याच हो। अहिले प्रहरी डिआइजी र एआइजीमा २०४८ र २०४९ ब्याचका छन्। प्रहरीको अहिलेसम्मको उमेर हदबन्दी अनुसार ३० वर्षे समय अवधि हो। यो नबदलिए बज्राचार्य र चौधरीको अवकाश मिति २०८१ साल चैत ५ गते हो।

किरण मात्रै हैन प्रहरी सङ्गठनमा रहेका महिलाको प्रतिनिधित्व गरेर सङ्गठन प्रमुख बनेर इतिहास बनाउन किरण एक कदम पछाडि मात्रै छिन्।

जनपदतर्फको पहिलो डीआइजी पार्वती थापा मगर हुन्। तर उनलाई विशेष पद बनाएर बढुवा गरेकाले प्रहरी प्रमुखमा प्रतिस्पर्धा गर्ने मौका पाइनन्। अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा नै प्रहरी सङ्गठनमा महिलालाई अगाडि बढाउने भन्दै डिआइजीको विशेष पद बनाएर थापाको बढुवा गराएका थिए।

बीचमा पुुजा सिंह एआईजीसम्म भएर अवकाशमा गइन्। त्यसपछि एआइजीमा पुगेकी किरण नै पहिलो महिला प्रहरी हुन् जो प्रहरी प्रमुखको प्रतिस्पर्धामा छिन्। यस पटक यो मौका चुकेमा महिला प्रहरी कहिले प्रमुखको प्रतिस्पर्धी बन्न सक्छन् एकिन भन्न गाह्रै छ। 

साढे ८ प्रतिशत महिला प्रहरी

अहिले नेपाल प्रहरीको सङ्ख्या झन्डै ८० हजार छ । जसमा महिलाको सङ्ख्या ६ हजार ८ सय ३७ छ। प्रहरीको नियमावलीमा महिला प्रहरीको सङ्ख्या २० प्रतिशत हुने भने पनि जम्मा साढे आठ प्रतिशत हो ।

६ हजार ८ सय ३७ महिला प्रहरीमा एआइजीमा आशा सिंह प्राविधिकतर्फ एक्लो थिइन्। मिरा चौधरी, किरण राणा, देउती गुरुङ उपल्लो तहमा छन्। 

दिप्ती कार्की, तारादेवी थापा, चिनीमाया तामाङ, जानुकादेवी खरेल, शैलेश्वरी बोहोरा, रुपा थापा, कमला नराल, शोभा पाण्डे, शान्ता वाइबा, सुजाता तुम्बाहाम्फेलगायतकाहरु अगाडि बढिरहेका छन्।

 नेपाल प्रहरीमा महिला नेतृत्व कहिले ?

२००७ सालअघि नेपाल प्रहरी सङ्गठित रूपमा थिएन। प्रजातन्त्र स्थापना भएसँगै विभिन्न भागमा छरिएर रहेका प्रहरी इकाईहरूलाई सङ्गठित रूपमा सन् १९५२ मा प्रहरी प्रधान कार्यालयको काठमाडौँमा स्थापना गरियो।

त्यति बेला प्रहरी प्रशासनको सम्पूर्ण जिम्मा प्रहरी महानिरीक्षकलाई लगाइएको थियो।

नेपाल प्रहरीको पहिलो महानिरीक्षक रूपमा  तोरण शमशेर जबरा नियुक्त भए।   सन् १९५२ मा प्रहरी सङ्गठन बने पनि सन् १९५५ विसं २०१२ मा प्रहरी संगठनलाई नेपाल पुलिस फोर्सको रूपमा वैधानिक स्वरूप प्रदान गरियो।

२००७ सालअघि महिलाहरू सुरक्षाकर्मीको रूपमा थिएनन्। प्रजातन्त्र स्थापना भएसँगै सुरक्षाकर्मी महिलाहरू भर्ना हुन पाएका हुन्।

सुरुमा चैतमाया डङ्गोल २००८ सालमा नै प्रहरी जवानबाट नेपाल प्रहरी प्रवेश गरेकी थिइन्। सुरुवातमा एक जनाबाट प्रवेश भएको महिला प्रहरीको सङ्ख्या अहिले साढे ५ हजार पुगिसकेको छ। 

९ चैत, २०७९, १८:२२:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।