अस्ट्रेलिया च्याम्पियन

अस्ट्रेलिया च्याम्पियन

एजेन्सी : घरेलु टोली भारतलाई २१ रनले पराजित गर्दै अस्ट्रेलियाले तीन खेलको एकदिवसीय शृंखला २-१ ले जितेको छ।

बुधबार बेलुकी सम्पन्न श्रृंखलाको अन्तिम खेलमा चेन्नईस्थित एमए चिन्दाबरम स्टेडियममा टस जितेर ब्याटिङ थालेको अस्ट्रेलियाले ४९ ओभरमा सबै विकेट गुमाएर दुई सय ६९ रन बनाएको थियो।

दुई सय ७० रनको लक्ष्य पछ्याएको भारतले ४९.१ ओभरमा सबै विकेट गुमाएर दुई सय ४८ मात्रै बनाउन सक्यो।

भारतका विराट कोहलीले सर्वाधिक ५४ रन बनाउँदा कप्तान रोहित शर्मा र सुबनम गिलले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेका थिए। तर पछि लगातार विकेट झर्दा भारतले श्रृंखलाबाट हात धुनुपर्यो।

अस्ट्रेलियाका आडम जाम्पाले सर्वाधिक चार विकेट लिँदा अस्टोन एगरले दुई तथा मार्कस स्टोइनिस र सिन एबोटले एक–एक विकेट लिए।

पहिलो इनिङमा भारतीय बलिङसामू संघर्षरत अस्ट्रेलियाका लागि मिचेल मार्सले सर्वाधिक ४७ रनको इनिङ खेलेका थिए। त्यसबाहेक विकेटरकिपर–ब्याटर एलेक्स क्यारेले ३८, हेडले ३३ तथा मार्नुस लाबुस्चेनले २८ रनको योगदान गरे।

भारतका लागि कुलदीप यादवले र हार्दिक पाण्डे तीन-तीन विकेट लिए।

यसअघि भएको पहिलो खेलमा भारतले अस्ट्रेलियालाई पाँच विकेटले हराएको थियो भने दोस्रो खेलमा अष्ट्रेलियाले भारतमाथि १० विकेटको शानदार जित निकालेको थियो।

९ चैत, २०७९, ०७:१७:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।