पोखरामा कार्टुनिष्ट ‘वात्स्यायन’को भव्य नागरिक अभिनन्दन (चार तस्बिर)

पोखरामा कार्टुनिष्ट ‘वात्स्यायन’को भव्य नागरिक अभिनन्दन (चार तस्बिर)

पोखरा : कार्टुनिष्ट दुर्गा बराल ‘वात्स्यायन’ लाई पोखरामा नागरिक अभिनन्दनसहित रथारोहण गरिएको छ।

शनिबार पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा बराल ८० वर्ष पूरा भएको अवसरमा उनको रथारोहणसहित अभिनन्दन गरिएको हो। 

कलाकार बरालको निवास पोखरा, नदीपुरबाट सुरु भएको रथारोहण कन्या क्याम्पस, बालमन्दिर, पृथ्वीनारायण क्याम्पस, ट्याक्सीचोक, बागबजार हुँदै विन्ध्यवासिनी मन्दिरसम्म पुगेर अभिनन्दन कार्यक्रममा परिणत भएको थियो।

पोखरामा जन्मिएर कलाकारिता क्षेत्रमा उनले पुर्याएको योगदान अतुलनीय रहेकाले सम्मानस्वरुप अभिनन्दन गरिएको हो।

रथारोहणमा पोखरेलीहरुको उल्लेख्य उपस्थिति थियो। वरिष्ठ साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठसँगै वरिष्ठ गायिका हरिदेवी कोइराला लगायतका कलाकार रथारोहणमा सहभागी भएका थिए।

कलाकार वात्स्यायन कार्टुन सिर्जनामा अग्रणी मानिन्छन्। वि.सं. १९९९ चैत ५ मा आर्बामा जन्मिएका बरालले जगदम्बा श्री, प्रबल गोरखा दक्षिणबाहु चौथो, राष्ट्रिय प्रतिभा पुरस्कार, अरनिको राष्ट्रिय ललितकला प्रज्ञा सम्मान, शिरोमणि पुरस्कार, हाँस्ने पुरस्कार, वासुदेव लुइँटेल लगायतका दर्जनौ पुरस्कार प्राप्त गरेका छन्।

बरालले ‘वात्स्यायन’का नाममा व्यङ्ग्यचित्रका माध्यमबाट नेपाली समाज र राजनीतिका विकृति, विसंगति केलाउँदै यस विधामा आफूलाई उच्च स्थानमा उभ्याउन सफल भएका छन्।

वात्स्यायनको कलायात्रा

बरालले ५० वर्ष पहिले नयाँ सन्देश साप्ताहिक मार्फत कार्टुन प्रकाशन गर्न सुरु गरेका थिए। पछिल्लो समय भने उनले कान्तिपुर दैनिकमा कार्टुन बनाउँदै आएका छन्। 

वि.सं २०१८ सालमा एसएलसी उत्तीर्ण भएपछि उच्च शिक्षाका लागि पृथ्वीनारायण कलेजमा भर्ना भएका उनी कलेजमा भएको चित्रकला प्रतियोगिता प्रथम भएका थिए। 

२०२० सालमा उनी काठमाडौंको घरेलु शिल्पकला भण्डारमा डिजाइनिङको तालिम लिएका थिए।

​​​​​​​

उनले त्यहाँ ३ महिना तालिममा सहभागी भएको बेला राजा महेन्द्रले मुलुकी ऐन ल्याएर छुवाछुत मेटाएको खुसियालीमा निकालिएको र्यालीमा प्रदर्शन गर्नका लागि राजाको पूर्णकदको चित्र कोरेर चित्रकलामा आफूलाई स्थापित गर्दै गर्दा नै प्रशंसा पाएका थिए।​​​​​​​

बरालले काठमाडौंमा तालिम लिइरहेका बेला कार्टुनहरू समेत बनाउन सुरु गरेका थिए।

२०२२ सालमा नेपाल ललितकला संस्था ’नाफा’ले पहिलो पटक आयोजना गरेको राष्ट्रिय कला प्रतियोगितामा बराल प्रथम भएका थिए।

उनले कोरेको ‘क्षणिक मृत्यु’ शीर्षकको थकित किसान पल्टिएको चित्र पूर्व राजा ज्ञानेन्द्रले ५ सय रुपैयाँमा किनेका थिए।

४ चैत, २०७९, १८:२९:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।