बिहीबारको खेल हेरेँ, असाध्यै राम्रो : राष्ट्रपति पौडेल

बिहीबारको खेल हेरेँ, असाध्यै राम्रो : राष्ट्रपति पौडेल

काठमाडाैं : राष्ट्रपति रामचन्द्र पौडेलले खेलाडीको मनोबल बढाउन सरकारले ध्यान दिनुपर्ने बताएका छन्।

विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएकामा नेपाली खेलाडीलाई बधाई तथा शुभकामना दिन राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा उनले देशको सान राख्न खेलकुद क्षेत्रमा पूर्वाधार बढाउनुपर्ने बताए।

राष्ट्रपति पौडेलले नेपाली क्रिकेट टोलीले देशको इज्जत र गौरव बढाएको बताउँदै नेपालमा खेलकुद क्षेत्रमा पूर्वाधारको कमी रहेको परिस्थितिमा पनि क्रिकेट टोलीले ऐतिहासिक सफलता प्राप्त गरेकामा खुसी व्यक्त गरे।

‘मैले नेपालले खेलेको बिहीबारको खेल हेरेँ। असाध्यै राम्रो खेल थियो। दर्शकहरू पनि प्रफुल्ल हुनुहुन्थ्यो,’ उनले भने, ‘यस्तो ठूलो सफलता प्राप्त गर्नुभएको छ, यो ठूलो कुरा हो। खेललाई राज्यले उपेक्षित क्षेत्रमा राख्नुहुँदैन।’

यसअघि आजै बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विजेता खेलाडीलाई सरकारी निवास बालुवाटारमा बोलाएर सम्मान गर्दै विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीलाई जनही तीन लाखबाट रूपैयाँसहित पुरस्कृत गर्ने घोषणा गरेका थिए।
 

३ चैत, २०७९, २०:१७:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।