निफको खल्लो उद्घाटन, मञ्चबाटै प्रधानमन्त्रीविरुद्ध आक्रोश पोखियो

निफको खल्लो उद्घाटन, मञ्चबाटै प्रधानमन्त्रीविरुद्ध आक्रोश पोखियो

काठमाडौं : आजबाट नेपाल इन्टरनेसल फिल्म फेस्टिभल (निफ)को छैटौं संस्करण सुरू भयो।

कार्यक्रमको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने बताए पनि भोलि हुने उप-निर्वाचनको कारण देखाउँदै उनी कार्यक्रममा उपस्थित भएनन्। सरकारको प्रतिनिधित्व गर्ने संघ चलचित्र विकास बोर्ड मात्रै कार्यक्रममा उपस्थित भयो।

कार्यक्रममा प्रधानमन्त्री र सञ्चार मन्त्री दुवैले निम्ता स्वीकार गरेर अन्तिम समयमा कार्यक्रममा नआएसँगै फेस्टिबल सञ्चालक केपी पाठक आक्रोशित देखिए। उनले प्रधानमन्त्रीले कला संस्कृति र फिल्म भन्दा उपराष्ट्रपतिको निर्वाचन बढि महत्व दिएको आक्राेश पोखे।

विभिन्न देशका प्रतिनिधि सहभागी भएको फेस्टिभलमा देशको प्रतिनिधित्व गतिलो ठाउँबाट नभएको उनको गुनासो थियो। निमन्त्रणा दिएको व्यक्ति उपस्थित नहुने मात्रै हैन, महोत्सवको ओपनिङ फिल्म ‘चरी’ले पनि उपस्थित दर्शकको मन खुशी पार्न सकेन।

सुन्धाराको सिभिल मलमा तामझामसँग सुरू भएको महोत्सवको ओपनिङ फिल्मका रूपमा केरिन शर्माले निर्देशन गरेको चरी नामको फिल्म प्रदर्शन भएको थियो।

एक जोडी प्रेमी-प्रेमिकाले विदेश उड्न गरेका अपराध र हनी ट्यापिङजस्तो गम्भीर र संवेदनशील विषय फिल्ममा देखाइएको थियो। तर, फिल्मको संवाद लेखन, खिचाइ, इडिटिङ सबै झुर थियो। यसलाई फिल्म हेर्ने दर्शकले पहिलो गाँसमै ढुङ्गा लागेको बताएका छन्।

६ गतेसम्म हुने महोत्सवमा नेपालसहित ३५ देशका ९५ वटा फिल्म प्रदर्शन गरिनेछ। ती फिल्म संसारका ५५ देशबाट प्राप्त ५ सय बढि फिल्मबाट छानिएको हो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा फिल्म, डकुमेन्ट्री तथा एनिमेटेड फिल्महरूको ७ विधामा १४ पुरस्कार वितरण गरिनेछ।

अन्तर्राष्ट्रिय प्रतिष्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशीसहित गौतम बुद्ध अवार्ड, प्रदान गरिनेछ भने इन्टरनेशनल फेडरेसन अफ फिल्म सोसाइटिजका जुरीको तर्फबाट डन क्विजोट अवार्ड पनि प्रदान गरिनेछ।

सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलर राशीको माउन्ट एभरेष्ट अर्वाड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ५ सय डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट सर्ट फिल्मलाई ५ सय डलरको बाग्मती अवार्ड प्रदान गरिनेछ।

नेपाली प्रतिष्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख, उत्कृष्ट सर्ट फिल्मलाई नगद ५० हजार  र सर्टमध्येबाट उत्कृष्ट फिल्म निर्देशकलाई ट्रफी प्रदान गरिनेछ।

फिचर फिल्म तर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाँकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिने छ। यस पटकबाट निफका प्रतिस्पर्धी फिल्म सिनेमा हलमा प्रदर्शन गरिनेछ।

देशको ठूलो मल्टिप्लेक्स च्यानल क्यूएफएक्स सिनेमाको छाया सेन्टर सिभिल मल, लविम मल र भक्तपुर हलमा प्रदर्शन हुनेछ। निफमा विविध कार्यशाला, अन्तर्क्रिया र छलफल कार्यक्रमसमेत सञ्चालन हुनेछन्।

२ चैत, २०७९, २१:१८:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।