युएईका कप्तानको त्यो एक मात्र ओभर, जसले खेलको रुपरेखै उल्ट्याइदियो

युएईका कप्तानको त्यो एक मात्र ओभर, जसले खेलको रुपरेखै उल्ट्याइदियो

काठमाडौं : आईसीसी विश्वकप छनोटमा प्रवेश गर्न बिहीबार नेपालले यूएईलाई हराउनै पर्ने खेलमा नेपालले ३११ रनको विशाल लक्ष्य पायो।

काठमाडौंको मौसम खराब रहँदा पूरै खेल हुने सम्भावना कम थियो। विशाल लक्ष्य पछ्याएको नेपालले सुरुमै लगातार तीन विकेट गुमायो।

तर, नेपाली ब्याटरले त्यो दबाब नलिई आवश्यक रनरेटमै रन बनाउँदै गए। तर, खेल जब अन्त्यतिर पुग्यो, कीर्तिपुरको आकाशमाथि बादल मडारिन थाल्यो।

नेपालले ४१ ओभरको समाप्तीमा ६ विकेट गुमाएर २३५ रन बनायो। जितका लागि अझै ९ ओभरमा ७६ रन आवश्यक थियो। पानी छिटाइसकेको थियो। यतिबेला खेल रोकिँदा नेपाल पराजित हुने निश्चित थियो।

यूएईका कप्तान मुहम्मद वसिमले मैदानमा ढिला गरिरहे। उनी वर्षा कुरिरहेका थिए। ४२औं ओभरमा आफैँ बलिङ गर्न आए वसीम। बलिङ गर्न आउँदा पनि उनले समय लिए।

वसीमले ४२औं ओभर बलिङ गर्दा स्ट्राइकमा गुल्सन झा थिए। उनी त्यतिबेला ३६ बलम २५ रन बनाएर खेले। वसीमको पहिलो बलमा झाले रन बनाउन सकेनन्।

दोस्रो बलमा दुई रन लिए। तेस्रोमा छक्का प्रहार गरे। त्यसपछि लगातार तीन चौका हाने। वसिमले खेलमा एक मात्र ओभर बलिङ गरेका थिए।
 
झाले वसिमको एकै ओभरमा २० रन जोडे। ४२ ओभरको खेल सकिँदा नेपालले ६ विकेटमा २५५ रन बनायो। यसै ओभरले नेपाललाई डीएल मेथडमा नेपालललाई अगाडि ल्यायो।

खेल ४४ ओभरमा समाप्त हुँदा नेपाल ९ रनले अगाडि भयो। एकतिर युएईका खेलाडीले बलिङमा ढिला गरिरहेकै थिए भने अर्कातिर मैदानमा अँध्यारो हुन थाल्यो। दुई रेफ्रि आपसमा सल्लाह गरे र खेल सकिएको संकेत गर्दै विकेटको बेल झारिदिए।

रेफ्रिले बेल झारिदएसँगै नेपालले ऐतिहासिक जितका साथ जिम्बाबेमा हुने विश्वकप छनोटमा स्थान पक्का गर्यो।

२ चैत, २०७९, १९:४१:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।