भक्तपुरका रत्न : पुर्खाको सीप तिखारेर वर्षमा पाँच करोडको माटोका भाँडा बेच्छन्, त्यो पनि विदेशमा

भक्तपुरका रत्न : पुर्खाको सीप तिखारेर वर्षमा पाँच करोडको माटोका भाँडा बेच्छन्, त्यो पनि विदेशमा

भक्तपुरमा मौलिक माटोको भाँडाभन्दा अलि भिन्न देखिन्छन् रत्न प्रसाद प्रजापतिको भाँडा। उनले बनाउने भाँडा फुस्रा हैनन् चम्किरहेको हुन्छन्। उनका उत्पादनको ९० प्रतिशत निर्यातै हुन्छ।

तालिमबाट नेपाल फर्किँदा रत्नले ज्ञान र सीपसँगै एउटा १४ ‘इन्च’ को टिभी पनि बोकेर आए। टिभीको चलन खासै नभएको समयमा टोलभरमा उनको घरमा मात्र टिभी।

भाँडा मात्रै चम्किएन उनको। त्यही चम्किएको भाँडोले उनको परिवारको फुस्रो जीवनलाई पनि चिल्लो बनाइदियो। यसको श्रेय आफ्नो पुस्तौनी पेशालाई आधुनिकीकरण गर्ने उनकै जोशलाई जान्छ।

OOO

उनी सानै हुँदा उनको बुवा र हजुरबुवाले पनि माटोको काम गरेर जीवन बिताए। उनीहरूले परम्परा धाने। पुर्खाले जस्तो भाँडा बनाउँथे त्यस्तै भाँडा बनाएर स्थानीय बजारमा बेचेर जीवन चलाए।

रत्नका अनुसार प्रजापतिहरूले बुद्धकालदेखि नै माटोको भाँडा बनाउन थालेका हुन्। माटोको भाँडाकुडा बनाउनेहरूलाई प्रजापति भन्ने गरिन्छ। यज्ञ गर्न माटोको भाडा राख्नुपर्ने भएकोले प्रजापतिको आविष्कार भएको मान्यता रहेछ। यज्ञका लागि माटोको भाँडो बनाउन थालेका प्रजापतिहरूको यो पुस्तैनी पेशा नै भयो।

तर त्यसलाई केहीले आधुनिक बनाउन सके। केही उही पुरानै पारामा भाँडा बनाउन सक्रिय छन्। उनले सहजै पुर्खाको पेशालाई आधुनिक बनाएका हैनन्। त्यसको दु:खको पनि लामै कथा रहेछ।

सन् १९८४ मा जर्मनीको ‘जीटीजेट’ प्रोजेक्टबाट केही विदेशी भक्तपुरमा सेरामिक (त्यस्तो वस्तु जुन न धातु हो, न शुद्द माटो)को भाँडा बनाउने तालिम दिन आए।

प्रोजेक्टमा केही प्रजापतिहरू पनि सामेल भए। जसमध्ये एक जना रत्न पनि हुन्। उनले करिब तीन महिना जति तालिम लिए।

त्यस बेला उनले भर्खरै एसएलसी पास गरेका थिए। त्यो भन्दा बढि उनले पढ्न सकेनन् पनि। अनि माटोको भाडा सम्बन्धी नै काम गर्न थाले। काम गर्दा-गर्दै केही वर्षपछि उनी सेरामिक बनाउने तालिम लिन थाइल्याण्ड गए।

यसमा लगानी पनि धेरै गर्नुपर्छ। मेरो जग्गा जमिन गरेर जोड्यो भने आठ-दश करोड लगानी पुग्यो होला।

‘सुरु-सुरुमा सेरामिक भनेको के हो भनेर हामीलाई पनि थाहा थिएन। त्यहाँको ठूलो-ठूलो कारखानामा हेर्न गयौं। अनि तालिम पनि लियौं,’ सम्झिँदै उनले सुनाए।

तालिमबाट नेपाल फर्किँदा रत्नले ज्ञान र सीपसँगै एउटा १४ ‘इन्च’ को टिभी पनि बोकेर आए। टिभीको चलन खासै नभएको समयमा टोलभरमा उनको घरमा मात्र टिभी। सबै गाउँले उनको घरमा टिभी हेर्न आउथेँ। टिभी हेर्न आएकाहरूको भीडले घरै हल्लिन्थ्यो रे।

‘हाम्रो माटोको घर थियो। त्यति धेरै मान्छे आउँदा घर नै हल्लिन्थ्यो’ उनले हाँस्दै सुनाए, ‘अनि मलाई यसरी सधैँ टिभी देखायो भने त मेरो घर ढल्छ भन्ने भयो।’

थाइल्याण्डबाट फर्केको महिनौं बितिसक्दा पनि उनले आफ्नै केही नयाँ काम गर्न सकिरहेका थिएनन्। उनले टिभी १४ हजारमा बेचिदिए। अनि आफ्नै व्यवसाय सुरू गरे।

त्यतिखेर सेरामिक भाँडा प्रचलनमा आइसकेको थियो। उनले परम्परागत ज्ञानमा तालिमको ज्ञान मिसाएर सामान्य हैन, सेरामिकका भाँडा बनाउन थाले। सफल पनि भए।

‘नेपालमा पनि अहिले यसको मार्केट धेरै छ। नेपालको सबै ठूलो-ठूलो होटेलहरूले किन्छन्। विदेशीहरूमा पनि यहाँको सामानको आकर्षण बढिरहेको छ,’ उनले दङ्ग पर्दै सुनाए।

सेरामिकले चम्कायो जीवन
सेरामिक भनेको माटोको भाडामा एक किसिमको ग्लेज लगाउनु हो। त्यसमा खाना खाँदा हाइजेनिक हुने विश्वास छ। यसको कलर पनि खुइलिदैन। खिया पनि लाग्दैन।

यो बनाउन चाहिने केही माटो अनि केमिकल भने नेपालमा पाइँदैन। विदेशबाटै ल्याउने गर्छन् उनी।

विदेशबाट आउने सेरामिकको भाँडाको तुलनामा उनकोमा उत्पादन हुने अलि महंगो छ। त्यसको कारण केमिकल्स र माटो हो।

‘नेपालको लागि त यो उद्योग एकदमै आवश्यक हो। हाम्रोमा यसको उत्पादन धेरै छैन। सरकारले यसलाई प्रोत्साहन दियो भने त सार्है राम्रो छ,’ उनले भने, ‘यसमा लगानी पनि धेरै गर्नुपर्छ। मेरो जग्गा जमिन गरेर जोड्यो भने आठ-दश करोड लगानी पुग्यो होला।’

जहाँ पायो त्यहीँको माटो हुन्न। माटोको पनि खानी हुन्छ। खानी पाउन गाह्रो छ अहिले। पहिला भक्तपुरमा माटोको खानी टन्न थियो। अहिले त खानीमाथि बिल्डिङ बने।

उनी यसका लागि मेसिनभन्दा पनि जग्गाका कारण लगानी बढि हुने गरेको बताउँछन्। ठाउँ ठूलो चाहिने भएकाले लगानी महंगो हुने गरेको उनको अनुभव छ।

उनी अहिले यो पेशामा वन म्यान आर्मी समान रहेछन्। मेसिन बनाउने, सामग्री बनाउने, त्यसमा डिजाइन दिने, मार्केट बनाउने सबै काममा उनी नै खटिन्छन्।

उनले सुनाए, ‘विदेशमा धेरै सजिलो छ। हरेक कुरा रेडिमेट पाउँछ। यहाँ त आफ्नो सीप र क्षमता मात्र भएर पनि हुँदैन। लगानी पनि हुनपर्छ।’

सेरामिकमा डाक्टर सरहको अनुभव
रत्नको बाल्यकाल कमल विनायक नजिकैको सुर्यमति टोलमा बित्यो। त्यहाँको घर भूकम्पले भत्कियो। दाजुभाइबीच त्यति राम्रो सम्बन्ध भएन अनि घर त्यत्तिकै रह्यो।

भूकम्पपछि उनी राधेराधे, सिर्जनानगरमा आफ्नै घरमा बसिरहेका छन्। उनको उद्योग पनि यतै छ। उनलाई थाहा भएसम्म उनी माटोमै खेलेर हुर्किए। उनको बुवाबाजेले पानी राख्ने गाग्री, मकै भुट्ने हाँडी अनि जाँड बनाउने ठूलो-ठूलो घ्याम्पो लगायतका सामान बनाउँथे।

स्कुलको पढाइमा एसएलसी पास गरे पनि सेरामिकमा उनले डिप्लोमा गरेका छन्। अनुभवका हिसाबले उनीसँग यसमा पीएचडी बराबरको ज्ञान छ रे। थाइल्याण्डमा तालिम लिँदा त  केमेस्ट्रीनै पढ्नुपर्यो रे उनले।

‘माटोको बारेमा सबै पढ्नुपर्छ। कुन माटोमा कुन केमिकल हाल्ने भनेर कम्पोजिसन मिलाउनु पर्ने हुन्छ,’ उनले सुनाए।

उनका अनुसार सबै भन्दा राम्रो सेतोमाटो हो। त्यो महँगो पनि हुन्छ। सेतोमाटो किलोकै पचास रूपैयाँ पर्छ। त्यसमा सिलिकाहरू र जिङ्क धेरै हुन्छ अनि आइरन कम हुन्छ।

‘सेतो माटोलाई चाइनिज माटो पनि भन्छन्। उनीहरूले पत्ता लगाएको भएर उनीहरूकै नाम राखेको रे’, उनले हाँस्दै सुनाए।

आफ्नै पैसाले आफ्नै सीपमा पाँच-छ महिना लगाएर करेन्टले माटो पोल्ने प्रविधि बनाउन सफल भएँ। त्यसपछि लोडसेडिङ पो भयो।

अहिले रत्नले तीन-चार प्रकारको माटो प्रयोग गरिरहेका छन्। जसमा लोकल माटो मात्रै दुई थरीका छन्। एउटा ‘ब्राउन क्ले’ अनि अर्को ‘ब्ल्याक क्ले’। त्यस बाहेकको माटो भने भारतबाट ल्याउँछन्।

उनले भारतबाट ‘चाइना क्ले’ र ‘बल क्ले’ ल्याउने गरेका छन्। विदेशबाट ल्याएको माटोहरूलाई धेरै तापमा पकाउँदा पनि केहि नहुने उनी बताउँछन्।

विदेशबाट माटो ल्याए पनि उनी त्यसमा स्थानीय माटो पनि मिसाउँछन्। केही दशक अघिसम्म नेपाली माटो सित्तैमा पाइन्थ्यो। अहिले भने किनेरै प्रयोग गर्छन्।

‘जहाँ पायो त्यहीँको माटो हुन्न। माटोको पनि खानी हुन्छ। खानी पाउन गाह्रो छ अहिले। पहिला भक्तपुरमा माटोको खानी टन्न थियो। अहिले त खानीमाथि बिल्डिङ बने। माटोको मूल्य पनि बढ्दै गयो,’ उनले भने।

लोकल माटोलाई अहिले किलोको बीस रूपैयाँ दिएर किन्छन् उनी।

माटो पकाउन इलेक्ट्रिक चुल्हो आफैँ बनाए
सरकार वा स्थानीय सरकारले आफ्नो मौलिक उद्योगलाई सघाउन कुनै योजना ल्याएको छैन। तर, मध्यपुर थिमी नगरपालिकाले भने माटोको भाँडा पकाउन केही रकम सहयोग गर्न थालेको रहेछ। नगरपालिकाले अहिले भाँडा पकाउने दाउराको चुल्हो बनाइदिएको छ।

तर, त्यसबाट धुँवा आयो भनेर छिमेकीहरूले गुनासो गरेकाले उनले इलेक्ट्रिक चुल्होको माग गरे। उनले अन्य प्रजापतिहरूका लागि इलेक्ट्रिक चुल्हो मागे पनि आफ्ना लागि भने आफैँले बनाएका छन्। त्यो चुल्हो बनाउन उनले थाइल्याण्डमै सिकेका रहेछन्।

‘पहिला त मट्टीतेलकोमा पनि काम गर्यौं। एकचोटी त मट्टीतेल अभाव भयो। अनि उद्योग बन्द हुने अवस्था आएपछि थाइल्याण्डमा लिएको चुल्हो बनाउने तालिम सम्झिएँ। एउटा सानो बनाएर परीक्षण गरेको काम गर्यो। अनि ठूलो बनाएँ। धेरै ठूलो बनाउदा मिटरले थामेन,’ उनले भने, ‘अनि आफ्नै पैसाले आफ्नै सीपमा पाँच-छ महिना लगाएर करेन्टले पोल्ने प्रविधि बनाउन सफल भएँ। त्यसपछि लोडसेडिङ पो भयो।’

महिनामा करिब डेढ सय जना विदेशीलाई उनले तालिम दिइरहेका छन्। राम्रोसँग सिक्न चाहनेहरूको लागि उनले दुई महिनाको कोर्सनै बनाएका छन्।

अहिले उनको उद्योगमा आफैँले बनाएको माटो पकाउने चार-पाँच वटा इलेक्ट्रिक चुल्हो छ। त्यो बिग्रियो भने उनी आफैँ बनाउन तम्सिहाल्छन्।

अहिले उनी आफ्नो उद्योगमा ‘सेरा नेपाल’ नाममा सेरामिक सामान बनाउँछन् अनि तालिम पनि दिन्छन्। तालिम दिन थालेको धेरै भएछ। पहिला धेरै जना नआउने गरेकोमा कोरोनाकालपछि भने तालिम लिने बढेका छन्।

स्वदेशी मात्रै हैन विदेशी पनि तालिम लिन्छन् उनीसँग। अहिलेसम्म उनले अमेरिका, जापान, हङकङ, युके लगायतका लगभग दश वटा देशका पर्यटकहरूलाई आफ्नो सीप, कला सिकाइसकेका छन्।

महिनामा करिब डेढ सय जना विदेशीलाई उनले तालिम दिइरहेका छन्। राम्रोसँग सिक्न चाहनेहरूको लागि उनले दुई महिनाको कोर्सनै बनाएका छन्।

कोर्स नलिने रमाइलोको लागि यसो हेर्नेहरूको लागि तीन-चार दिनको समयमा कप, प्लेटजस्ता सजिलो सामान बनाउन सिकाउँछन्।

राजदूतहरू पनि आकर्षित
धेरै जसो ‘क्ले थेरापी’ गर्नेहरू आउँछन् उनकोमा। हातको सीपसँगै काम गर्दा दिमाग पनि फ्रेश हुन्छ। त्यै भएर काउन्सिलरहरू पनि उनकोमा आउने गर्छन्।

विभिन्न देशका दूतावासका राजदूतहरू पनि आउँछन् उनकोमा। करिब आधा दर्जन देशका राजदूत आइसके पनि।

‘दुई वर्षअघि मात्र अस्ट्रेलियन एम्बेसडरको श्रीमान् र श्रीमती आएका थिए। त्यो भन्दा अगाडि अमेरिकन, जर्मन, इटालियन अनि टर्कीको राजदूतहरू आएका थिए,’ उनले भने।

कोभिडपछि नेपाली ग्राहक पनि बढेका रहेछन्। उनले यही पेशाबाट परिवारसहित १० कर्मचारी धानिरहेका छन्।

कोही रहरले आउने रहेछन्। कोही भने डिप्रेस्ड भएर पनि आउने रहेछन्। अब त विदेशबाट नेपाल आउँदा उनकोमा जाने समय मिलाएर आउने गरेका रहेछन् विदेशीहरू। अनि फर्कदा आफ्नै हातले बनाएको माटोको भाँडा उपहार लिएर जाने चलन शुरू भइसकेको छ।

रत्न ५७ वर्षका भए। पहिला त छोराछोरीहरूले इच्छा देखाएका रहेनछन्। तर, अहिले श्रीमती र छोराछोरीले पनि काममा साथ दिइरहेका छन्।

राम्रो व्यापार हुँदा उनी महिनामै चार लाखसम्मको बिक्री गर्छन्। वर्षको चार-पाँच करोडको सामान विदेशमा निर्यात गर्छन्।

उनले बनाएको सामान ९० प्रतिशत निर्यात नै हुन्छ रे। कोभिडपछि नेपाली ग्राहक पनि बढेका रहेछन्। उनले यही पेशाबाट परिवारसहित १० कर्मचारी धानिरहेका छन्।

पुस्तैनी पेशा भएकाले तालिम लिन नपाएको भए पनि नी यही पेशामा लाग्ने थिए। तर, सन्तान लाग्थे या लाग्दैनथे। पक्का थिएन। उनको कारखाना विदेशीको भ्रमण थलो हुन्थ्यो या हुन्थेन पक्का छैन।

तर, सेरामिक बनाउन सिक्दा उनको जीवन बदलियो नै। उनले नेपाली भाँडालाई अन्तर्राष्ट्रिय बजारमा समेत पुर्याइरहेका छन्।

२९ फागुन, २०७९, १९:३१:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।