पूर्वी सुर्खेतका साढे आठ हजार महिलाले पाए निःशुल्क स्वास्थ्य सेवा

पूर्वी सुर्खेतका साढे आठ हजार महिलाले पाए निःशुल्क स्वास्थ्य सेवा

सुर्खेत : पूर्वी सुर्खेतको तीन पालिकाका आठ हजार  ५१० जना महिलाहरूले निःशुल्क स्वास्थ्य सेवा पाएका छन्।

लेकवेशी नगरपालिका, गुर्भाकोट नगरपालिका र भेरीगंगा नगरपालिकाका महिलाहरूले निःशुल्क महिला स्वास्थ्य शिविर तथा महिला  स्वास्थ्य जनचेतना मूलक क्यान्सर ‘स्क्रिनिङ’ मा महिलाहरुले निःशुल्क स्वास्थ्य सेवा पाएका हुन्।

प्रतिनिधि सभा सदस्य तथा पूर्व गृह मन्त्री पूर्णबहादुर खड्काको पहल, नेपाल एपीएफ अस्पतालको आयोजना र लायन्स क्लब अफ काठमाण्डौं तथा मेडी क्वेष्ट ल्याबरोटरी क्लिनिक प्रालीको सह आयोजनामा फागुन ७ गतेदेखि गुर्भाकोटबाट सुरु भएको शिविर आइतबार भेरीगंगामा सम्पन्न गरिएको छ।

शिविरमा गुर्भाकोटमा दुई हजार ८३४ जना , लेकवेशीमा दुई हजार २११ र भेरीगंगामा तीन हजार ४६५ जना महिलाहरूले पाठेघर र स्तनको क्यान्सरको निःशुल्क परीक्षण गरेका छन्।  

पहिलो चरणमा उपस्थित महिलाहरूलाई पाठेघर खस्ने, पाठेघरको क्यान्सर र स्तन क्यान्सर सम्बन्धी जनचेतना मूलक कार्यक्रमको आयोजना गरी शिविर सञ्चालन गरिएको ससस्त्र प्रहरी बल अस्पताल काठमाण्डौंकी पाठेघर क्यान्सर विशेषज्ञ प्रहरी उपरीक्षक  डाक्टर  सौजन्य कर्माचार्यले बताइन्।

उनका अनुसार यस्तो जनचेतनामूलक कक्षामा  ८९०६ जना उपस्थित भएका थिए। 

‘हामीले पहिलो चरणमा जुन स्थानीय तहमा शिविर सञ्चालन हुने हो सोही स्थानीय तहका स्वास्थ्यकर्मीलाई तालिम दिएर महिला दिदीबहिनीहरुलाई जनचेतना मूलक कार्यक्रम गरेर चेकजाँच गर्यौ,’ डा. कर्माचार्यले भनिन्, ‘करिब ९० प्रतिशत महिलाहरू स्वःस्फूर्त रुपमा पाठेघर तथा स्तनको क्यान्सर जाँच गर्न तयार भए।’

महिनावारी गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनिको संक्रमण, आङ खस्ने समस्याका महिलाहरूले चेकजाँच गरिएको उनले बताइन्।

‘जाँच गर्न आएका तीनै पालिकाका तीन हजार महिलामा पाठेघर र यौन सम्बन्धी संक्रमण देखियो,  जसमध्ये ५० प्रतिशत महिलाहरुमा आङ खस्ने समस्या देखिएको छ,’ उनी भन्छिन्, ‘१२ जनामा क्यान्सरको शंका गरिएकोले उनीहरूलाई सुशील कोइराला अस्पतालमा रेफर गरेका छौं। दुई जनालाई क्यान्सर देखियो र चार जनामा स्तनको क्यान्सर देखा पर्यो। उहाँहरूलाई सम्बन्धित अस्पतालमा निःशुल्क उपचारसहित रेफर गरेका छौं भने सामान्य समस्या भएकालाई प्रदेश अस्पताल सुर्खेतमा पठाएका छौं।’

आफ्नो जीवनकालमा नजाँचेका ८० प्रतिशत महिलाहरूका समस्या उक्त क्षेत्रमा फेला परेको र बालविवाहले महिलाहरूमा समस्या देखिएको उनको भनाई छ।

शिविरमा गुर्भाकोले ६७ जना, लेकवेशीले २५ जना र भेरीगंगाले २७ जना स्वास्थ्यकर्मी खटाएको थियो।

२१ फागुन, २०७९, २१:०३:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।