कृतघ्न रविले बुझ्नैपर्ने कुरा- कानून त मर्दैन चुत्थै देश भए पनि

कृतघ्न रविले बुझ्नैपर्ने कुरा- कानून त मर्दैन चुत्थै देश भए पनि

देशका ठूला–साना राजनीतिक दलले सञ्चार क्षेत्रलाई आफ्नो स्वार्थ पूरा गर्न हतियारको रूपमा प्रयोग गरिरहेका छन्। सञ्चारकर्मी विभिन्न स्वार्थ समूहको घेराबन्दीमा छन्। 

अवाञ्छित शक्ति समूह र अवैध आर्थिक प्रणालीका गुमस्ताहरूले सञ्चारकर्मीहरूको कलम समातेका छन्।

संवैधानिक व्यवस्थाअनुसार नेपालको सञ्चार क्षेत्र स्वतन्त्र छ। तर, जतिसुकै स्वतन्त्र भनिए पनि व्यवहारमा त्यो अवस्था छैन। विचौलियाहरूको कब्जामा छ।

यो दुर्भाग्यपूर्ण हो। त्यसैले त यतिबेला नेपाली सञ्चार क्षेत्र यति संवेदनशील अवस्थामा पुग्यो कि जस्तोसुकै तरङ्ग ल्याउन सानो ढुङ्गाको प्रहार नै पर्याप्त हुनथाल्यो।

यो तमाशा देख्दा लाग्यो- लामिछानेको पार्टीको उद्देश्य, घोषणापत्र, विधान सबै कुरा उनको निजी हो। निर्वाचनमा आएको १० लाख बढी मतको स्वामित्व सामूहिक होइन, उनको एकल हो।

एकैछिन राष्ट्रिय स्वतन्त्र पार्टीको चर्चा गरौँ। गएको निर्वाचनमा रास्वपाले आफूलाई संसदीय राजनीतिमा स्थापित गरेपछि राजनीतिमा अनेकन तरङ्ग आए।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को नेतृत्त्वमा बनेको गठबन्धन सरकारमा रास्वपाको भागीदारी अस्वाभाविक थिएन। तर, कीर्ते नागरिकताको प्रयोग र अपचलनमा रास्वपा अध्यक्षलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले दोषी ठहर्याएपछि रास्वपाको पूरै संरचना भताभुङ्ग भयो।

संसद्मा उसको मतको महत्त्व छ। तर, त्यसको व्यवस्थापन कसरी गर्ने पत्तो छैन।  यसै प्रसङ्गमा, रास्वपाका अध्यक्ष रवि लामिछानेले आयोजना गरेको पत्रकार सम्मेलन अनावश्यक अभिमान, क्रोध अनि आक्रोशमा सकियो। 

यो तमाशा देख्दा लाग्यो- लामिछानेको पार्टीको उद्देश्य, घोषणापत्र, विधान सबै कुरा उनको निजी हो। निर्वाचनमा आएको १० लाख बढी मतको स्वामित्व सामूहिक होइन, उनको एकल हो।

त्यसैले उनी मन्त्रीबाट हट्दा उनको पार्टीबाट सरकारमा रहेका अन्यले पनि राजीनामा दिनुपर्यो। राजीनामा किन? उत्तर दिनु परेन। 

उत्तर नआउनुको कारण उत्तरहीन हुनु नै थियो।

उनी कृतघ्न बने पनि नेपाली सञ्चार क्षेत्रलाई एक गुन भने लगाए- यसलाई सार्वजनिक रूपमा बहसमा ल्याइदिएर।

सरकार छाड्नुको कारण पार्टी सभापतिको नागरिकता निष्क्रिय ठहर भएपछि गुमेको गृह मन्त्रालय फिर्ता नपाउनु थियो। यो सैद्धान्तिक होइन व्यक्तिगत कारण थियो।

व्यक्तिगत कारणलाई सैद्धान्तिक लेप लगाउन सक्ने अवस्थै भएन। त्यसैले त सरकारबाट हट्ने तर समर्थन कायम राख्ने पार्टीको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा कारण खुलेन, कुन्ठा मात्र पोखियो मिडियामाथि।

रविका अन्ध समर्थकको आक्रमणको भयले राज्य संयन्त्रले स्वीकारेको कानूनतः दण्डित उनका गतिविधि सप्रमाण सार्वजनिक गरेर उनलाई निष्क्रिय नेपाली नागरिकबाट सक्रिय नेपाली नागरिक बन्ने चरणमा पुर्याउनुमा नेपाली सञ्चारमाध्यमले महत्त्वपूर्ण भूमिका खेले।

यो चरण पूरा हुँदा उनको मन्त्री अनि सांसद पद गयो। यी त अस्थायी न थिए। स्थायी त उनी वैध नेपाली नागरिक हुनु हो नि!

तर उनी अस्थायी सुखभोग गुमेकोमा बढी चिन्तित देखिए। जसले उनलाई निष्क्रियबाट सक्रिय नागरिक बन्न सघायो त्यही क्षेत्रविरुद्ध बुरुक्क उफ्रिए।

उनी कृतघ्न बने पनि नेपाली सञ्चार क्षेत्रलाई एक गुन भने लगाए- यसलाई सार्वजनिक रूपमा बहसमा ल्याइदिएर। सामाजिक सञ्जालदेखि चिया पसलसम्म नेपाली मिडिया अनि पत्रकारबारे बहस पुग्यो। 

बुद्धिजीवी र राजनीतिक तहमा खुम्चिएको सञ्चारकर्मी र सञ्चारकर्मको बहस भुईँतहमा पुग्यो। यो त सकारात्मक नै हो नि! यो रविले नेपाली मिडियालाई लगाएको गुन हो। उनी कृतघ्न भए भन्दैमा हामी किन कृतघ्न हुने!

नेपालको सञ्चार क्षेत्रमा समस्या छन्। छापा, रेडियो, टेलिभिजन हुँदै हामी डिजिटलमा प्रवेश गरिसक्दा पनि हाम्रा ती कमजोरी घटेका छैनन् थप विस्तार भएका छन्। सत्य यही हो। तर हामी फर्कनै नसक्ने, सुधारिनै नसक्ने अनि शून्य विन्दुबाटै सुरु गर्नुपर्ने चरणमा पुगिसकेका भने छैनौँ।

नेपाली सञ्चार क्षेत्रमा सातभन्दा बढी सञ्चारगृहमा बिताएको मेरो २२ वर्षको अनुभव पल्टाउँदा लामिछानेले नेपाली सञ्चार क्षेत्रका बारेमा जे-जस्ता दावीहरू गरे ती सबै सत्य होइनन् भन्न तथ्यको खात पेश गरिरहनु पर्दैन। अनि उनका कुरा सबै मिथ्या नै हुन् भन्ने तर्कका चाङ ठडाउन पनि आवश्यक छैन।

यदि सञ्चार क्षेत्रलाई चौथो अङ्ग स्वीकार गर्ने हो भने अन्य तीन अङ्गमा जसरी शुद्धीकरणको आवश्यकता छ यसमा पनि त्यस्तो शुद्धीकरण अनिवार्य छ। पछिल्लो समयमा त यसको आवश्यकता थप बढेको छ।

नेपालको सञ्चार क्षेत्रमा समस्या छन्। यो अस्विकार गर्नु रविले दोहोरो नागरिकता र राहदानी बनाउँदा पनि सामान्य हो भने जस्तै हुन्छ।

छापा, रेडियो, टेलिभिजन हुँदै हामी डिजिटलमा प्रवेश गरिसक्दा पनि हाम्रा ती कमजोरी घटेका छैनन् थप विस्तार भएका छन्। सत्य यही हो। तर हामी फर्कनै नसक्ने, सुधारिनै नसक्ने अनि शून्य विन्दुबाटै सुरु गर्नुपर्ने चरणमा पुगिसकेका भने छैनौँ। समस्या हामीभित्र छ। अनी समाधानबारे पनि हामी नै जानकार छौँ।

उनले सञ्चार क्षेत्रलाई विकृतिको एक मात्र कारक भन्ने भाष्य निर्माण गर्न सबै शक्ति खर्चिए। सञ्चार क्षेत्र र सञ्चारकर्मी तरङ्गित भए। क्रियाका प्रतिक्रिया आइरहे। तर, सञ्चार क्षेत्रले यसको जवाफ ओठे पाराले दिएर पुग्दैन। न त, यो जवाफले मात्र हामीभित्रको समस्याको समाधान नै हुन सक्छ।

हिजो आर्थिक रूपमा सबल भए पनि व्यवहारमा समस्या थियो नेपाली मिडियामा। केही व्यक्तिको पकडमा थियो सूचनाको शक्ति। प्रविधिको विकासले सूचनाको शक्तिको स्रोत फैलायो। 

हिजो केही सञ्चारगृहले चाहेमा गम्भीर विषयमा पनि समाजलाई गुमराहमा राख्न सम्भव थियो। अहिले त्यो सम्भव छैन। 

हामी सुध्रिन सबैभन्दा ठूलो शक्ति यही नै हो।

कोरोनाकालपछि व्यवहारसँगै आर्थिक रूपमा समेत चुनौतीको घेरामा परे नेपाली मिडिया अनि मिडियाकर्मी। 

यसैको फाइदा उठाउँदै अनधिकृत स्रोतको बलमा मिडियालाई नियन्त्रण गर्न चाहने स्रोतहरू बढे। ती कतै कर्पोरेट हाउसको आवरणमा देखिएका, कतै शुभेच्छुकको रूपमा।

लामिछानेले एकताका 'सीधा कुरा प्रधानमन्त्रीसँग' कार्यक्रम चलाएका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रधानमन्त्रीत्वकालमा। त्यति बेला एमाले र माओवादी एक थिए। अहिले माओवादी र एमाले गठबन्धनमार्फत एक भएका छन्।

रविले आफूलाई सञ्चारकर्मी भन्ने गरेका छैनन्। अहिले संसद्को चुनाव जितिसकेपछि त आफूलाई सञ्चारकर्मी किन भनून् र!

उनले सञ्चार क्षेत्रलाई विकृतिको एक मात्र कारक भन्ने भाष्य निर्माण गर्न सबै शक्ति खर्चिए। सञ्चार क्षेत्र र सञ्चारकर्मी तरङ्गित भए। क्रियाका प्रतिक्रिया आइरहे। तर, सञ्चार क्षेत्रले यसको जवाफ ओठे पाराले दिएर पुग्दैन। न त, यो जवाफले मात्र हामीभित्रको समस्याको समाधान नै हुन सक्छ।

रविको नाममा कतिपय सरकार र व्यवस्थासँग भड्किइरहेका छन्। रविले प्रयोग गरेको वा नगरेको राहदानीको गम्भीर कानूनी सवाल ज्यूँदै छ। 

राहदानीको यो प्रसङ्ग प्रहरीबाट अनुसन्धान भएर जिल्ला न्यायाधीवक्ताको कार्यालय हुँदै अदालती परीक्षणमा पुगिसकेको छैन।

जसले देशको माया गर्छ त्यसले त्यो देशको कानूनमाथि पक्कै खेलवाड गर्दैन। आमाको काखमा फर्किने व्यक्तिले आमाको काख पक्कै फोहोर गर्दैन।

नेपालको विद्यमान कानूनअनुसार राहदानी दुरुपयोग गम्भीर फौजदारी अपराध हो। 

उनी अमेरिकी नागरिक हुँदै नेपाली राहदानी समेत बनाएको थप प्रमाण जुटाउन मिहेनत गर्नुपर्ने अवस्था पनि छैन। अदालती लिखित जवाफ अनि उनकै पत्रकार सम्मेलनका अभिव्यक्ति काफी छन्। 

उनले दोहोरो राहदानी बनाएको स्वीकार्दै त्यो प्रयोग चाहिँ नगरेकाले दण्डनीय हुन नसक्ने तर्क गरिरहेका छन्।

अब विदेशी नागरिक नेपाल आएर नेपाली राहदानी बनाउनु तर प्रयोग नगर्नु कानूनतः दण्डनीय हो या होइन यो अदालती विषय भयो। यसको छिनोफानोको जिम्मा उसैले पाओस्।

नेपालको संविधानले राजनीतिक अधिकाररहितको दोहोरो नागरिकताको प्रावधान राखेको छ। तर कानून नबन्दा त्यसको प्रयोग हुन सकेको छैन। रविको सवालमा संविधानमा उल्लेख भएको दोहोरो नागरिकताको प्रसङ्ग पनि होइन। 

रविले कानूनी रूपमा नेपाली नागरिक नबनी राजनीतिक अधिकार प्रयोग गरे जुन संविधानले पनि स्वीकार गरेको छैन।

त्यसैले यसलाई विदेशमा रहेका लाखौँ गैरआवासीय नेपालीको समस्यासँग जोडेर तरङ्ग फैलाउन आवश्यक देखिन्न। 

सवाल दोहोरो नागरिकताको मात्रै हुँदै होइन। निष्क्रिय नागरिकता हो। सवाल सामाजिक पहिचानको होइन, राजनीतिक पहिचानको हो।

जसले देशको माया गर्छ त्यसले त्यो देशको कानूनमाथि पक्कै खेलवाड गर्दैन। आमाको काखमा फर्किने व्यक्तिले आमाको काख पक्कै फोहोर गर्दैन।

'तोप'ले नडग्मगाउने प्रेस शंकैशंकामा घेरिएका व्यक्तिले फ्याँकेको सानो ढुङ्गाले तरङ्गित हुने गरी कमजोर हुनुको कारण के हो केलाउने समय हो।

कानून त मर्दैन चुत्थै देश भए पनि।

०००
औँला उठ्यो। ठीकै छ। सुधार सम्भव छ। सुध्रन आवश्यक छ। 

अहिलेको अवस्थामा रविलाई व्यर्थको जवाफ दिनुभन्दा नागरिकता अनि राहदानी जस्तो गम्भीर कसूरका आरोपीले सराप्दा पनि पत्याउने सामाजिक मनोविज्ञान बलियो बन्नुमा हाम्रो भूमिकाको लेखाजोखा गर्ने समय हो।

'तोप'ले नडग्मगाउने प्रेस शंकैशंकामा घेरिएका व्यक्तिले फ्याँकेको सानो ढुङ्गाले तरङ्गित हुने गरी कमजोर हुनुको कारण के हो केलाउने समय हो।

२६ माघ, २०७९, ११:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।