सुप्रिम सहकारीले बचतकर्ताको रकम फिर्ता दिन सकेन, सहकारी दर्ता अधिकारीको कार्यालय भन्छ- लिखित उजुरी आएको छैन

सुप्रिम सहकारीले बचतकर्ताको रकम फिर्ता दिन सकेन, सहकारी दर्ता अधिकारीको कार्यालय भन्छ- लिखित उजुरी आएको छैन

बुटवल: बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड समस्याग्रस्त भएको ३ महिना बढी भयो। बचतकर्ताहरू आफूले जम्मा गरेको रकम लिन दिनहुँ सहकारी पुग्ने गर्छन्, तर अझै पाएका छैनन्।

गत कात्तिकदेखि सङ्कटमा परेको सुप्रिम सहकारीले बचतकर्ताको सानो रकमको चेक साट्न पनि सकिरहेको छैन। अहिले पनि दैनिक ५० भन्दा बढी शेयर सदस्य रकम झिक्न सहकारीमा पुग्ने गरे पनि रकम झिक्न पाएका छैनन्।

‘पहिले ब्याज बढी दिने भनेर रकम जम्मा गरियो। १८ लाखसम्मको कारोबार समेत सहकारीमा भयो। तर सहकारी सङ्कटमा पुगेपछि रकम पाउन अप्ठयारो भएको छ। पटक पटक गरी केही रकम लिए पनि सबै रकम अझै पाएको छैन्’, योगीकुटीका एक बचतकर्ताले नाम नभन्ने सर्तमा भने।

उनका अनुसार उनको ३ लाखको चेक सटही हुन सकेको छैन। सहकारीमा पुग्दा भोलि भोलि भन्दै फर्काउने गरेको ती सदस्यले बताए।

रुपन्देही कार्यक्षेत्र बनाएका केही सहकारी आर्थिक सङ्कटमा परेपछि अहिले बचतकर्ता समस्यामा परेका छन्। ऋण प्रवाहमा भएको लापरबाहीले सहकारी सङ्कटमा पुग्दा बचतकर्ता दिनहुँ जम्मा गरेको रकम लिन सहकारीमा धाउनुपर्ने बाध्यता छ।

बचतकर्ताको रकम फिर्ता दिन नसकेपछि सहकारीले अहिले ऋणीहरूको धमाधम लिलामीको सूचना निकालेको छ। लिलामी गरेरै भए पनि बचतकर्ताको रकम फिर्ता गर्ने योजना बनाएको सहकारीले अहिले लगानी गरेको ऋण लगानी उठाउन ऋणीलाई बारम्बार ताकेता गरिरहेको सहकारीले बताएको छ।

सहकारीका अध्यक्ष ओम गुरुङ पहिलेको तुलनामा सहकारी अहिले समस्याग्रस्त नभएको तर्क गर्छन्। ‘अहिले बजारमा हामीले ताकेता गरेर दैनिक जसो ८/१० लाख रुपैयाँसम्म बचतकर्तालाई दिन थालेका छौँ। केही समयमै सहकारी सही ट्र्याकमै आउँछ’, उनले भने।

अध्यक्षका गुरुङका अनुसार अहिले पनि उठाउनुपर्ने ऋणबापतको रकम बजारमा ८० करोड छ। 

‘तिहारपछिको समयमा उठ्नुपर्ने रकम एक अर्ब १० करोड थियो। अहिले घटेको छ। यो पनि हामीले छिटो उठाउने गरी लागेका छौँ। कालोसूचीमा राखेका ऋणीहरूले पनि छिटै रकम बुझाउने भन्नुभएको छ। त्यसैले सहकारीले सबैको पैसा समयमै फिर्ता दिनेछ। यसमा ढुक्क भए हुन्छ’,  उनले भने।

यो सहकारीका संस्थापक अध्यक्ष जीवी राई हुन्। उनी हर्वो नेचर नामक नेटवर्किङ शैलीको व्यवसायमा संलग्न थिए। अहिले उनी सहकारीको संरक्षक छन्। यस सहकारीमा उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनको पनि लगानी छ।

रुपन्देही कार्यक्षेत्र बनाएका केही सहकारी आर्थिक सङ्कटमा परेपछि अहिले बचतकर्ता समस्यामा परेका छन्। ऋण प्रवाहमा भएको लापरबाहीले सहकारी सङ्कटमा पुग्दा बचतकर्ता दिनहुँ जम्मा गरेको रकम लिन सहकारीमा धाउनुपर्ने बाध्यता छ।

पैसा दिने तालिका बनेपनि पाएका छैनन बचतकर्ताले पैसा
सुप्रिम सहकारीले बचतकर्ताको रकम फिर्ता गर्न तालिका नै बनाएको छ। तालिकाअनुसार बचत रकम झिक्न पुगेका बचतकर्ताले पनि पैसा सहकारीबाट झिक्न पाएका छैनन्। 

सहकारीले पुस १७ गते सूचना प्रकाशित गर्दै रकम दिने बारसहितको सूचना प्रकाशित गरेको छ। सूचनाअनुसार पाँच लाखसम्म जम्मा गरेका ५० जनासम्म बचतकर्तालाई आइतबार पाँच हजारका दरले रकम दिइने छ।

पाँच लाखदेखि १५ लाखसम्म जम्मा गरेका २६ जनासम्म बचतकर्तालाई सात हजार पाँच सयका दरले सोमबार रकम दिइने छ। 

यस्तै १५ देखि ५० लाखसम्म बचत गर्ने २० जनासम्म बचतकर्तालाई १० हजारका दरले बुधबार रकम दिइने छ।

५० लाखमाथि बचत गर्ने १० जनासम्मलाई २० हजारका दरले बिहीबार रकम दिने सूचनामा उल्लेख छ। 

तर, यो सूचनाअनुसार रकम नपाएको बचतकर्ताको गुनासो छ।

नियमनकारी निकाय भन्छ- लिखित उजुरी परेको छैन
रुपन्देही, कपिलवस्तुमा ५० जनाभन्दा बढी सङ्कलक लगाएर रकम सङ्कलन गर्ने सुप्रिम सहकारीले बिनाधितो ऋण लगानी गर्दा समस्यामा परेको हो।

प्रदेशको सहकारी दर्ता अधिकारीको कार्यालय दाङका रजिष्ट्रार भीमप्रसाद तिवारीले अहिलेसम्म सहकारीबाट पीडित बनेको भन्दै कसैको पनि उजुरी नआएको बताए। मौखिम रूपमा सुप्रिम, आगन्तुक सहकारीका गुनासा आए पनि लिखित गुनासो नआएको उनको भनाइ छ।

सहकारीको नियमन प्रदेश र स्थानीय सरकारले गर्छन्। तर सहकारीको पछिल्लो अवस्थाका विषयमा यी दुवै निकाय बेखबर छन्। यी निकाय मौन हुँदा यस्ता सहकारीको आत्मबल झन् बढिरहेको छ।

फितलो नियमनको फाइदा उठाउँदै सहकारीका ठूला लगानीकर्ताबाट साधारण सदस्यको बचत अपचलन भएको छ। सहकारीको बचत आफ्ना सदस्यबाहेक अन्यमा ऋण प्रवाह हुँदैन। तर, सहकारीले पछिल्ला समय ग्रामिण क्षेत्रमा शाखा खोली रकम सङ्कलन गर्ने र शहरी क्षेत्रका गैरसदस्यलाई लगानी गर्ने गरेका छन्।

जिल्लाबाहिर समेत कारोबार गर्ने यो सहकारीलाई नियमन गर्ने प्रदेश माताहतको सहकारी मन्त्रालय हो। तर, नियमनकारी निकाय प्रदेशको सहकारी दर्ता अधिकारीको कार्यालयले भने सहकारीबारे अहिलेसम्म लिखित उजुरी नआएको भन्दै गैरजिम्मेवार जवाफ दिइरहेको छ।

यो पनि,

मिटरब्याजी उपराष्ट्रपति पुत्र दिपेशको सहकारीले बचतकर्ताकाे पैसा फिर्ता गर्न सकेन

चेक बाेकेर दुई महिनादेखि सहकारीकाे चक्कर काट्दै बचतकर्ता, सञ्चालक सम्पर्कविहीन

प्रदेशको सहकारी दर्ता अधिकारीको कार्यालय दाङका रजिष्ट्रार भीमप्रसाद तिवारीले अहिलेसम्म सहकारीबाट पीडित बनेको भन्दै कसैको पनि उजुरी नआएको बताए। मौखिक रूपमा सुप्रिम, आगन्तुक सहकारीका गुनासा आए पनि लिखित गुनासो नआएको उनको भनाइ छ।

उनले सबैतिर एकै पटक आर्थिक सङ्कट पर्दा त्यसमा सहकारी समेत परेको बताए।

‘लिखित रूपमा केही आएको छैन। तर पनि हाम्रो ध्यान गएको छ। हामीले यस्तै समस्याग्रस्त सहकारी रहेका बर्दियाका केही सहकारीमा अनुगमन गरेका छौँ। हामीले बुटवलमा पनि अनुगमन गर्ने योजना बनाएका छौँ’ रजिष्ट्रार तिवारीले भने।

२० माघ, २०७९, ०९:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।