उकेरा टप फाइभः सांसदहरूकाे जुहारीदेखि एमआरआई मेसिन खरिद प्रक्रियामा भएकाे चलखेलसम्म

उकेरा टप फाइभः सांसदहरूकाे जुहारीदेखि एमआरआई मेसिन खरिद प्रक्रियामा भएकाे चलखेलसम्म

काठमाडाैंः बुधबार संसद्मा हिन्दु राष्ट्रकाे प्रचार गर्न पाइन्छ र पाइँदैन भन्ने विषयमा सत्तारुढ गठबन्धन एमाले, माओवादी र राप्रपाका सांसदबीच राम्रै जुहारी चल्याे।

उता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा दिन नमिल्ने उल्लेख गर्दै आज परेकाे रिट सर्वाेच्चले दर्ता गर्नै मानेन।

त्यसैगरी आजै उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाले सुरु गरेको टुकुचा खोला उत्खनन गर्ने काम गैरकानुनी भएकाे निर्णय गर्दै यसमा राेक लगाएकाे छ।

उकेराका आजका टप फाइभ

बलात्कार आरोपी लामिछानेले सफाइ पाए र? निलम्बन फुकुवाको आधार के?

उकेराले नेपाल क्रिकेट संघ (क्यान)ले किन र के आधारमा सन्दीप लामिछानेमाथि लगाएको निलम्बन फुकुवा गर्यो भन्ने बिहानकाे समाचारबाट दिनकाे सुरुवात गरेकाे थियाे। मंगलबार पोखरामा बसेको क्यान कार्यसमितिको बैठकले सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेकाे थियाे।

उनी माथि १७ वर्षीया नाबालिग किशोरी बलात्कारको आरोप लागेकाे छ। क्यानले लामिछानेविरुद्ध बलात्कार आरोपमा किटानी जाहेरी परे लगत्तै निलम्बनको निर्णय गरेको थियाे।

पुर्पक्षका लागि थुनामा राख्नु नपर्ने भन्दै उच्च अदालतले दिएकाे आदेश अनुसार २० लाख धरौटीमा सन्दीप थुनामुक्त भएपछि क्यानले पनि निलम्बन फुकुवा गरेकाे हाे। तर बलात्करकाे मुख्य मुद्दामा लामिछाने अहिले पनि आरोपी नै हुन्, जसकाे फैसला भएकाे छैन।

भरतपुर अस्पतालको ३२ करोडको एमआरआई खरिदमा सप्लायर्सको स्वार्थमा स्पेसिफिकेशन बदलेकै बदल्यै

‘थ्री टेस्ला एमआरआई मेसिन’ खरिदका लागि भरतपुर अस्पतालमा देखिएकाे विवाद कायमै छ। करिब ३२ करोड ४० लाख मूल्य बराबरको मेसिन खरिद प्रक्रियामा मिलेमतो देखिएपछि विवाद सुरु भएकाे थियाे। 

मेसिन खरिदका लागि टेण्डर पार्ने दाउमा सप्लायर्स कम्पनीहरूले खरिदका लागि एमआरआईको प्राविधिक स्पेसिफिकेशन बारम्बार बदलिरहेकाे अर्काे समाचार बुधबार प्रकाशित भयाे।

सूर्य कर्पोरेशन विवाद: पोस्टरमा तस्बिर छ, सम्बन्धित व्यक्तिलाई न निम्तो न जानकारी

ठगीमा संलग्न देखिएको सूर्य कर्पोरेसन प्रालिकाे अर्काे बदमासी बुधबार नै बाहिरिएकाे छ। दुबईमा हुने भनिएको नेपाल सिनेमा फेस्टका लागि सम्बन्धित व्यक्तिकाे अनुमति नै नलिइ पोस्टरमा उनीहरूकाे तस्बिर प्रयाेग गरेकाे खुलेकाे छ।

हाल विभिन्न चलचित्रकर्मीहरूले कर्पोरेसनले आयोजना गर्न लागेको फेस्टमाथि नै प्रश्न उठाइरहेका छन्।

हिन्दु राष्ट्रकाे विषयमा संसद्मा चल्याे जुहारी, राप्रपाका महामन्त्रीले भने- ‘हामीलाई हेप्ने काम नहाेस्’

आज संसद्मा पनि राम्रै सवाल-जवाफ थियाे। प्रतिनिधिसभा बैठकमा बोल्दै एमालेका सांसद रघुजी पन्त र माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले संसद्मा हिन्दु राष्ट्र र राजतन्त्रको प्रचार गर्नु संविधानको व्यवस्था विपरीत भएकाे धारणा राखेका थिए।

यसपछि राप्रपाका नेताहरूले धर्म निरपेक्षता र गणतन्त्रविरुद्ध बोल्न संविधानले नराेक्ने भन्दै याे विषयमा बोल्न पाउनुपर्ने माग राखेका थिए।

रक्सीको मादमा पैदलयात्री किचेर मार्ने पृथ्वी मल्लको मुद्दाको पेशी २४ गते, पूर्ण सफाईको माग गर्दै आफैँले पनि हाले पुनरावेदन

मदिराको नशामा सवारी चलाएर पैदलयात्रीलाई किचेर मार्ने पृथ्वी मल्लले उल्टै आफ्नै सफाइकाे माग गर्दै उच्च अदालत पाटनमा पुनरावेदन पत्र पेश गरेकाे खुलेकाे छ। उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्रप्रसाद कट्टेलका अनुसार यस मुद्दामा अर्को पेशी यही माघ २४ गतेलाई तोकिएको छ।

१८ माघ, २०७९, २१:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।