हिन्दु राष्ट्रकाे विषयमा संसद्मा चल्याे जुहारी, राप्रपाका महामन्त्रीले भने- ‘हामीलाई हेप्ने काम नहाेस्’

हिन्दु राष्ट्रकाे विषयमा संसद्मा चल्याे जुहारी, राप्रपाका महामन्त्रीले भने- ‘हामीलाई हेप्ने काम नहाेस्’

काठमाडाैंः हिन्दु राष्ट्रकाे विषयमा सांसदमा सत्तारुढ गठबन्धन एमाले, माओवादी र राप्रपाका सांसदबीच नै जुहारी चलेकाे छ।

आज बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै एमालेका सांसद रघुजी पन्तले राप्रपाबाट मन्त्री बनेका नेताहरुले हिन्दु राष्ट्र र राजतन्त्रको प्रचार गर्नु ठिक नभएकाे बताए।

यसै विषयमा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले मन्त्रिपरिषद्का सदस्यहरुले संविधानको व्यवस्था विपरीत बोल्न नहुने धारणा राखेका थिए।

यसपछि राप्रपाका नेताहरूले भने संसद्मा हिन्दु राष्ट्र र राजतन्त्रका पक्षमा बाेल्न पाउनुपर्ने माग राखे।

राप्रपाका महामन्त्री डा. धवलशमशेर जबराले आफूहरुलाई जनताले हिन्दु राष्ट्र र राजासहितको प्रजातन्त्र स्थापित गर्नकै लागि जिताएकाे बताए। 

त्यसैले यस विषयमा आइन्दा संसद्मा आफूहरुलाई नहेप्न र नहाेच्याउन समेत उनले आग्रह गरे।

उनले भने ‘हामी नेपालमा फेरि हिन्दु राष्ट्र कायम गर्न आएका हाैं, हामी फेरि राजासहितको प्रजातन्त्र स्थापित गर्न आएका हाैं।’

उनले धर्म निरपेक्षता र गणतन्त्रविरुद्ध बोल्न संविधानले नराेक्ने भन्दै याे विषयमा बोल्न पाउनुपर्ने माग राखेका छन्।

यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाहीले पनि यस विषय प्रति आपत्ति जनाउँदै धर्म, गणतन्त्र र सङ्घीयताका सवालमा संसद्मा बोल्न पाउने व्यवस्था हुनुपर्ने माग गरेका हुन्।

१८ माघ, २०७९, १६:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।