वीर अस्पताल पुगेका स्वास्थ्यमन्त्रीले सोधे- ‘ल्याबका सामान किन छिटो बिग्रन्छ?’

वीर अस्पताल पुगेका स्वास्थ्यमन्त्रीले सोधे- ‘ल्याबका सामान किन छिटो बिग्रन्छ?’

काठमाडौं : स्वास्थ्य सामाग्री खरिदमा बदनाम वीर अस्पताल पुगे नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरी। बिहीबार उनी अस्पतालको क्याथ ल्याबको उद्घाटन गर्न गएका थिए।

ल्याबको उद्घाटनपछि उनले भने' हाम्रो ल्याबमा भएका उपकरणहरू छिटो बिग्रिने गरेको सुन्छु। सरकारी अस्पतालमा समयमा ल्याबहरूबाट सेवा नपाउने गरेको सुन्छु किन ?'

वीरको एमआरआई मेसिनदेखि महत्त्वपूर्ण स्वास्थ्य उपकरणहरू अधिकांश छोटो समयमा बिग्रने गरेका छन्। खरिदमा हुने अनियमितता र मिलेमतोमा न्यून गुणस्तरको सामान किनेर प्राय विवादमा आइरहने वीरले ४० करोड खर्च गरेर किनेको टोमोग्राफी मेसिन अहिलेसम्म आएको छैन।

सरकारी अस्पतालमा ल्याबमा हुने उपकरणहरू चाँडै बिग्रिने र स्वास्थ्य उपचारका लागि आएकाहरू बाहिर उपचार गर्न जानुपर्ने बाध्यता रहेको भन्दै उनले यस्तो अवस्था हटाउन निर्देशन समेत दिएका थिए।

उनले भने, ‘जनशक्तिको अभाव भन्ने कुरा छ, त्यसका लागि कति बजेट आवश्यक हो ? त्यसमा प्रयास गर्न हामी लाग्नेछौँ । स्वास्थ्य क्षेत्रलाई छुट्टाइएको बजेट न्यून छ, यसले स्वास्थ्य क्षेत्रमा निर्धारण गरेका लक्ष्य पूरा हुन सक्दैनन् ।’

कार्यक्रममा पुगेका मन्त्री गिरीले सीमान्तकृत र गरिब जनतासम्म स्वास्थ्य सेवा पुग्न नसकेको स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न नीतिगत समस्या भए समाधान गर्न सरकार तयार रहेको बताएका थिए।

उपचार नपाएर मर्नुपर्ने बाध्यतालाई हटाउन सक्नुपर्ने भन्दै उनले स्वास्थ्य सेवाको पहुँच विस्तार गरेर गुणस्तरीय सेवा प्रवाहका लागि  आवश्यक नीतिगत सुधार गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए।

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. तोषिमा कार्कीले सिटी स्क्यान, एमआरआईको अभाव भएको र क्याथ ल्याबमा पनि

केही मेसिनहरूको समस्या रहेको सुनेको भन्दै यसबारे अध्ययन गरेर जे गर्नुपर्ने हो त्यसका लागि मन्त्रालय तयार रहेको बताएकी थिइन्।

कार्कीले लोकसेवाको परीक्षा चाँडो गराएर आवश्यक स्थायी दरबन्दी बढाउने बताएकी थिइन्।

५ माघ, २०७९, २०:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।