१३ वर्षमा विवाह भएकी पुजारी मोहन मैया : ३० वर्षअघि श्रीमान् बिते, ६ वर्षअघि छोरा

१३ वर्षमा विवाह भएकी पुजारी मोहन मैया : ३० वर्षअघि श्रीमान् बिते, ६ वर्षअघि छोरा

ललितपुर महानगरपालिकाको मंगलबजारस्थित दरबार संग्रहालय जान पर्यटकले टिकट काट्ने ठाउँकै अगाडि छ, च्यासें देगः। हेर्दाखेरि ठ्याक्कै पाटनको कृष्ण मन्दिरजस्तै तर, अलि सानो आकारको। पछिल्लो समय यसलाई ‘सानो कृष्ण मन्दिर’ भनेर चिनिन्छ।

दुई वर्षदेखि त्यहि च्यासें देगः मा विभिन्न पूजा तथा सरसफाइमा सक्रिय छिन् पुजारी मोहन मैया झा। विहान झिसमिसे मै मन्दिर आउनु, सरसफाइ गरेर पूजा सुरू गर्नु, दर्शनार्थीहरूलाई आशिर्वादसँगै प्रसाद दिनु अनि केहि बेरपछि मन्दिर बन्द गरेर घर फर्कनु उनको दैनिकी हो।

कृष्ण जन्मअष्टमी बाहेक विहान मात्र खुल्ने च्यासें देगः मा हरेक दिन नित्य पूजा हुन्छ। कृष्ण, रुक्मणि, सत्यभावा लगायतको मुर्तिलाई मोहन मैया सफा गरिरहन्छिन्। उता पाटनको कृष्णमन्दिरको तुलनामा यहाँ थोरै दर्शनार्थी आउँछन्।

मन्दिरको आकार र शैलीमा खासै भिन्नता छैन अनि पूजाविधी पनि उस्तै हो। तर नयाँ दर्शनार्थीले त्यो मन्दिर कसको हो भन्ने भेउ पाउँदैनन्। स्थानीय र सो मन्दिरबारे जानकार हुन् नियमित दर्शनार्थी। 

च्यासें देगः मा उनी पुजारी भएको दुई वर्ष मात्र भयो। तर ‘पुजारी’ कै रूपमा उनले आफ्नो जीवनको १५ वर्ष बिताइसकिन् त्यही क्षेत्रमा। यसबाहेक उनले ललितपुरकै हरिशंकर, नरसिंह देगः अनि उमा महेश्वर गरेर चारवटा मन्दिर सम्हालिरहेकी छिन्। यहाँ यसअघि पुजारीका रूपमा गुरुदत्त मिश्र थिए। उनै मिश्रले मोहन मैयालाई मन्दिरको सबै जिम्मा दिए।

‘भेटीले पूजा गर्नै पुग्दैन’
कोभिडपछि धेरै महंगी भएकाले पूजाको सामान किन्न पनि धौधौ भएको उनले सुनाइन्।

‘विहान–विहान मात्र हो नित्य पूजा गर्ने त्यै पनि महंगी बढेको छ। पचासको फूल पनि दिन मान्दैनन्। जौ, तिल, नैवेती, अबिर, केसरी, धुप, बत्ती त्यत्तिकै महँगो छ। पूजा चलाउनु गाह्रो भइसक्यो,’ उनले एकनासले सुनाइरहिन्, ‘गुठीले वार्षिक रुपमा असारमा दिन्छ। एकदमै थोरै छ। दाइ (गुरुदत्त मिश्र)ले ल्याउनु हुन्छ अनि उहाँले दिनुहुन्छ।’

पुजाका लागि गुठीले वार्षको २०/२५ हजार रूपैयाँ दिने गरेको उनले सुनाइन्। 

‘असाध्यै कम हो नि त्यति त ! पुजारीलाई एक छाक खान पुग्ने त दिनुपर्छ। त्यति पैसाले पूजा नै गर्न पुग्दैन। दिनको सयभन्दा बढि खर्च हुन्छ। पानी चाहियो। पानीको अभाव। गाह्रो छ,’ उनले भनिन्।

उनको पारिश्रमिक भने पनि पूजा खर्च भने पनि त्यही वार्षिक रूपमा पाउने पैसा मात्र हो।

पुजारी बाहेक उनले आफ्नो जीवनमा अन्य काम गरेकी छैनन्। यसअघि गृहिणीकै रूपमा उनले आफ्नो जीवन बिताइन्।

मधेसी मुलको ब्राह्मण भए पनि उनको बोली भने उनको ठ्याक्कै नेवारी लवजको छ। घरमा अहिले बुहारी र नातीसँग बसिरहेकी उनीे जीवनको ७६औं हिउँदमा हिडिरहेकी छिन्। श्रीमान् गुमाएको लामो समयपछि आफ्नो एउटा मात्र छोरा पनि गुमाउन परेको उनले बाँकी समय नातीको स्याहार गरेरै बिताइन्।

‘श्रीमान् अनी छोरा नभएपछि त्यै नाती हेर्यो। उसलाई स्कुल पुरर्याउन गयो। स्याहार गर्यो। अहिले त नाती पनि बीबीए पढ्दैछ,’ भावुक भएकी उनले जबरजस्ती हाँस्न खोज्दै सुनाइन्।

अरु बेला भन्दा धेरै भिडभाड हुने कृष्ण अष्टमीको दिन नै हो। त्यो दिन उनलाई रमाइलो लाग्छ रे। त्यसबेला कुनै–कुनै भक्तजनहरूले मुर्तिको पोशाक पनि फेरिदिने गर्दारैछन्। कृष्ण अष्टमीको दिनमा भेटी पनि पाँच सय/हजार हुने गरेको उनले सुनाइन्।

‘पोहोर त बेलुकाको ११ बजेसम्म खोलेँ कृष्ण अष्टमीमा। अरु बेला त बिहान साढे सात बजे आउँछु अनि पौने ९ बजेसम्म बसेर गइहाल्छु। अरु समयमा कहिलेकाहिँ त दर्शनार्थी पनि आउँदैनन्,’ उनले सुनाइन्। 

१३ वर्षमै विवाह
उनको माइती काठमाडौंको मरुमा रहेछ। मरुमा नेवार टोलमा बसेकी उनी १३ वर्षमै विवाह गरेर पाटन आइन्। यहाँ पनि नेवार टोलमै बसिन्।

‘बाहुनहरूको चाँडै विवाह हुन्छ। बच्चैदेखि छिमेकीहरू नेवार नै भयो। मरुमा भनुँ या पाटनमा भनुँ। अलिअलि नेवारी बोल्न जानेन भने पाखे भन्छ,’ उनले हाँस्दै सुनाइन्।

घरकि जेठी छोरी। बुबा न्यायाधीश। तै पनि उनले पढ्न पाइनन्। विवाहअघि भाइबहिनी हेर्ने जिम्मा अनि विवाहपछि त झन् पढ्ने मेसै मिलेन।

१३ वर्षको उमेरमा विवाह हुँदा उनलाई विवाह भनेको के हो भन्ने समेत थाहा थिएन रे। उनको पाटनकै झासँग मागी विवाह भयो। श्रीमानको अनुहार पनि एकै चोटी पाटनमा आएपछि मात्र देखिन् उनले।

‘पाटनमा अहिले पनि पाँच/छ घर झा छन्। विवाह भनेको पनि थाहा थिएन त्यो बेलामा। धुमधामसँग भएको थियो हुन त! खेलौना जस्तै लाग्छ अहिले। त्यो बेलामा त रमाइलो पनि भयो,’ उनले सम्झिइन्।

बेला–बेला बोलाउँदा जानेबाहेक सानै भएको कारण केहि वर्ष त उनी माइतमै बसिन्।

‘सासु थिइनन। खाना बनाउन आउनुपर्थ्यो। फुपूसासु होइसिन्थ्यो। फुपुसासु बित्नु भएपछि सधैँको लागि यता आएँ,’ उनले सुनाइन्।

श्रीमान र छोरा गुमाइन्
‘ससुरा, श्रीमान जाति थिए। श्रीमान्को आर्मीमा जागिर, हेडक्वाटरमै थिए। एकदम माया गर्नुहुन्थ्यो। सन्तान एउटा छोरा थ्यो। त्यो पनि बित्यो। छोरा २२ वर्षको उमेरमा जन्माएको,’ भावुक हुँदै उनले सुनाइन्।

त्यस बेलादेखि नै उनी गृहणीकै रूपमा छिन्। काठमाडौंको व्यापारिक केन्द्र मरु बसेका उनलाई पाटन गाउँ जस्तै लागेको थियो रे।

‘अहिले पो यहाँ एउटै भयो। पहिले त एकदमै गाउँ जस्तो लाग्थ्यो,’ उनले सम्झिँदै भनिन्।

विवाह पछि पढौं भन्ने कुरा पनि भएको थियो रे तर उनले समय मिलाउनै सकिनन्। उनको बुहारी भारत बनारसकी हुन्।

‘छोरालाई देखाउँदा–देखाउँदा मन पराएन। त्यहाँको आफन्तले देखाएपछि उ चाहिँ मन परायो। बिहे गर्यो। ६ वर्ष सँगै बस्यो। त्यसपछि बित्यो। नाती एउटा जन्म्यो,’ बुढेसकालमा छोरा गुमाउन परेको पीडा अहिले पनि उनको आँखामा झल्किन्छ।

पहिले देखि ब्रोंकाइटिसको लक्षण देखिएको उनको छोरा लडेर टाउकोमा चोट लागेको रहेछ।

‘११ महिना उपचार गरे पनि बचाउन सकिएन। के भएको भन्ने नै थाहा पाएन। सिटिस्क्यानमा केहि देखिएन। पछि नसामा समस्या छ भन्यो। उभियो कि लड्ने,’ उनले आत्तिँदै सुनाइन्, ‘सानोमा पनि केहि भएको थिएन। विहे गरेको पनि ढिला। २८ वर्षमा। राम्रो थ्यो छोरा सलमान खान जस्तै। आँखा पनि ठूलो–ठूलो।’

उनका श्रीमान् बितेको ३० वर्ष भयो भने छोरा बितेको चाहिँ ६ वर्ष।

१५ वर्षदेखि पुजारी 
यसअघि कार्तिक नाच हुने पाटनकै चारनारायण मन्दिरमा पुजारी थिइन् उनी। यहाँभन्दा त्यहाँ धेरै पूजा हुने र आम्दानी पनि धेरै हुने उनी बताउँछिन्। आम्दानी राम्रो भएपछि सबैले दाबी गर्न आएपछि उनले छाडेर हिँडिन्।

त्यसपछि घरमै बसिन् उनी। च्यासें देगः को अघिल्लो पुजारी मिश्र बृद्ध भए। नियमित काम गर्न गार्हो भयो। अनी पुजा गर्ने मान्छे कोहि नभएपछि मोहन मैयालाई मन्दिरको जिम्मा दिए।

‘जोपायो उसलाई जिम्मा दिन भएन। देउताको गरगहनाहरू पनि छ। अनि आफन्त पनि भएकोले मलाई गर्देउ न भन्नुभयो। त्यत्तिकै बसिरहनु भन्दा गरौं भनेर गरे,’ उनले भनिन्।

१२ वर्षसम्म चारनारायणमा पूजा गरेबापत उनले कमाएको भनेको केहि भेटि अनि सम्मान नै हो।

सामान्यतया काठमाडौं र पहाडी क्षेत्रमा मधेशी मुलका मानिसलाई हेर्ने नजर अलि नराम्रो भए पनि आफूले भने अहिलेसम्म मधेसी मुलको र एकल महिला भएर पनि दुर्व्यवहार भोग्नु नपरेको उनले सुनाइन्।

‘मान्छेहरूको व्यवहार एकदम राम्रो छ। बजै भनेर सबैले आशिर्बाद लिन्छ। देउता समान व्यवहार गर्छ। भगवानलाई सरसफाइ र झिलिमिली राखेर बस्ने त हो म। सबै खुशी,’ उनले भनिन्।

भक्तजनहरूले चढाएको फलफूल पनि उनले सबै भक्तजनहरूलाई नै प्रसाद स्वरूप बाँढिदिन्छिन्।

थोरै भए पनि पुजा खर्च दिने भएकाले उनी त्यहाँ खुसी भएर बसिरहेकी छन्। प्रेसर र थाइरोयडले छोइसकेको उनलाई मन्दिर आउँदा आनन्द लाग्छ रे।

२ माघ, २०७९, १५:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।