विदेश जान दिन र धरौटी घटाउन माग राख्दै सन्दीप सर्वोच्च गए

विदेश जान दिन र धरौटी घटाउन माग राख्दै सन्दीप सर्वोच्च गए

काठमाडौं : धरौटीमा छाड्न उच्च अदालत पाटनले राखेको केही सर्त हटाउन माग गर्दै क्रिकेटर सन्दीप लामिछानेले सर्वोच्च अदालतमा निवेदन दिएका छन्। उनले उच्चको आदेशमा विदेश जान लगाएको रोक हटाउन माग राख्दै बिहीबार सर्वोच्चमा निवेदन दिएका हुन्।

निवेदनमा उच्चको फैसला आंशिक रूपमा खारेज गर्न माग गरिएको छ। निवेदनमा विदेश जान लगाएको रोक फुकुवा हुनुपर्ने र २० लाख धरौटी रकम घटाउन माग गरिएको छ। रिटमा मुद्दाको फैसला हुनु अगाडि नै गोपनीयता उल्लङ्घन गरेर अपराधिका चित्रित गरिएको भन्दै त्यस्ता गतिविधि रोक्न समेत माग गरिएको छ।

नाबालिग बलात्कारको अभियोगमा काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिए पनि उच्चले त्यसलाई उल्टाउँदै सर्तसहित धरौटीमा छाड्ने फैसला गरेपछि उनी कारागारमुक्त भएका थिए।

बलात्कार जस्तो गम्भीर अपराधमा धरौटी निकाल्ने उच्चको फैसलाको आलोचना भएको थियो। त्यसमा क्रिकेट एसोसिएसन अफ नेपालले उनलाई राष्ट्रिय टोलीमा समावेश गराएर लिग खेलाएपछि थप आलोचना भएको थियो।

धरौटी निकाल्ने उच्चको फैसलाविरुद्ध सरकारीपक्ष समेत सर्वोच्च अदालत गएको थियो। सो निवेदनको पेशी शुक्रवार तोकिएको छ।

११ फागुन, २०७९, १९:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।