छिन्नभिन्न विवेकशीलसामु दुई विकल्प: उज्जवलका उत्तराधिकारीसहित अघि बढ्ने, नत्र- सम्झिने पानी छम्किने

छिन्नभिन्न विवेकशीलसामु दुई विकल्प: उज्जवलका उत्तराधिकारीसहित अघि बढ्ने, नत्र- सम्झिने पानी छम्किने

गत स्थानीय तह निर्वाचनमा बालेन्द्र शाह (बालेन) र हर्क सामपाङको विजयपछि संसदीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारको क्रेज ह्वात्तै बढ्यो। तर, संसदीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारको परीक्षण असफल भयो।

असफल प्रयोग गर्नेमध्ये एक थिइन्- रञ्जु दर्शना। उनीसहित विवेकशील साझा पार्टीका केही नेता स्वतन्त्र हुँदै अहिले पुनः सोही पार्टीमा फर्किएका छन्।

'साझा पार्टी'को नाममा संसदीय निर्वाचनमा होमिएका मिलन पाण्डे पनि मार्ग बदल्दै विवेकशील साझामै फर्किएका छन्।

यता पुकार बम भने कानूनतः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतले 'प्रक्रिया पुर्याएर नागरिकता सक्रिय गराउन' दिएको आदेशको विपक्षमा भाइरल हुन जे पनि गर्न तयार तारा बरालसँगै विरोध गर्न नयाँ बानेश्वर पुग्ने हैसियतमा झरे।

उता राष्ट्रिय स्वतन्त्र पार्टीको चिह्नबाट प्रतिनिधि सभा सदस्य बन्न सफल विराजभक्त श्रेष्ठ विवेकशील अभियानका संस्थापक उज्ज्वल थापाको आत्मालाई सोध्न थालेका छन्, 'दाइ, अब के गरौँ?'

मतदाताको मनमा परिवर्तनको चस्का रोप्न सफल भए पनि 'म नै बलियो' भन्ने भ्रममा रुमल्लिए विवेकशील-साझाका नेताहरू। वैकल्पिक राजनीति अनि स्वतन्त्रको क्रेज दुवैलाई क्यास गर्न सफल भए रवि लामिछाने। अनि बल्ल आँखा खुल्यो मिलन-रञ्जुको।

यही विवेकशील र साझाका नेताहरूको बदलिएको मनको माहोलबीच पहिलो पटक पार्टीले लोकतान्त्रिक पद्धतिबाट नेतृत्त्व चयन गर्दैछ, पहिलो महाधिवेशनबाट।

नेपाली मतदातामाझ वैकल्पिक राजनीतिको चस्का प्रवेश गराउने काम विवेकशील नेपाली दलले गरेकोमा दुईमत छैन। मिलनकै शब्दमा भन्दा 'फूल रोपेर पनि आन्दोलन हुनसक्छ' भन्ने नयाँ ट्रेण्ड विवेकशीलकै देन हो।

विवेकशीलले बनाएको माहोल 'क्यास' गर्न रवीन्द्र मिश्रको नेतृत्त्वमा साझा पार्टीको जन्म हुनु, विवेकशील मिसिनु, छुट्टिनु अनि मिलन-रञ्जु समूह मात्र पुनः मिसिनुले वैकल्पिक राजनीतिक धार बलियो हैन ध्वस्त भयो। त्यसमा मिश्रको मार्ग परिवर्तनले त पहिरो नै गयो।

मतदाताको मनमा परिवर्तनको चस्का रोप्न सफल भए पनि 'म नै बलियो' भन्ने भ्रममा रुमल्लिए विवेकशील-साझाका नेताहरू। वैकल्पिक राजनीति अनि स्वतन्त्रको क्रेज दुवैलाई क्यास गर्न सफल भए रवि लामिछाने। अनि बल्ल आँखा खुल्यो मिलन-रञ्जुको।

साझा छिन्नभिन्न छ। सँगै विवेकशील पनि। दुवै अभियानलाई एकत्रित गरेर अगाडि बढ्ने मनैदेखिको चाह हो भने छुटेका साझाका असल मन अनि उज्जवलका उत्तराधिकारी कर्मासहितको विवेकशील साझाले मात्र पपुलिस्ट उग्रताको बलमा गुमेको सुसंस्कृत वैकल्पिक राजनीतिको पक्षमा रहेको जनमत फर्काउन सम्भव छ।

यी दुवै नेतासहित शुक्रबारबाट सुरु भएको प्रथम महाधिवेशन विवेकशील साझाका लागि सुखद् आरम्भ हुनसक्छ। तर यसमा अझै कर्मा तामाङहरू छुटेका छन् जो उज्जवल थापाको लिगेसीका सच्चा अनुयायी हुन्।

प्रथम महाधिवेशनको मञ्चमा उज्जवल थापाको तस्बिरले स्थान पाए पनि अहिलेको विवेकशील साझामा उनको सहमति थिएन। छैन। बहुमतको निर्णय स्वीकार गरे पनि मिलन-रञ्जुसँग उज्जवल साझामा आउन सहमत भएनन्।

विवेकशील अभियान ब्युँताउन सक्रिय हुँदाहुँदै उनको मृत्यु हुँदा उनको जीवनकालमै विवेकशील अभियानले संगठित आकार लिन सकेन। उनको मृत्युपछि नै सही, कर्माहरू नेपाल विवेकशील पार्टीमार्फत राजनीतिक रूपमा सक्रिय हुने प्रयासमा छन्।

साझा छिन्नभिन्न छ। सँगै विवेकशील पनि। दुवै अभियानलाई एकत्रित गरेर अगाडि बढ्ने मनैदेखिको चाह हो भने छुटेका साझाका असल मन अनि उज्जवलका उत्तराधिकारी कर्मासहितको विवेकशील साझाले मात्र पपुलिस्ट उग्रताको बलमा गुमेको सुसंस्कृत वैकल्पिक राजनीतिको पक्षमा रहेको जनमत फर्काउन सम्भव छ।

त्यसको प्रारम्भ अहिले जारी महाधिवेशनबाटै हुनसक्छ। नत्र- सम्झिने पानी छम्किने।

२८ माघ, २०७९, ०९:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।