पोखरामा मुख्य सडक पार्किङमा लगाउने ठेक्का रद्द, १ करोड ९० लाख वक्यौता बाँकी

पोखरामा मुख्य सडक पार्किङमा लगाउने ठेक्का रद्द, १ करोड ९० लाख वक्यौता बाँकी

पोखरा : पोखरा महानगरपालिकाले मुख्य सडकमा सवारी पार्किङको शुल्क उठाउन दिएको ठेक्का तोडेको छ।

यसअघि महानगरले ठेकेदार कम्पनी फेवा सावित्री कम्पनीसँग दुई वर्षका लागि ३ करोड १६ लाख ६० हजार रुपैयाँमा सम्झौता गरेको थियो। सम्झौताअनुसार ठेकेदार कम्पनीले रकम नबुझाएपछि ठेक्का तोडिएको महानगरका प्रवक्ता मोतिलाल तिम्सिनाले बताए।

पूर्व मेयर मानबहादुर जिसीको कार्यकालमा दुई वर्षका लागि फेवा सावित्री जेभीसँग सडक पार्किङको शुल्क उठाउने सम्झौता गरिएको थियो। यसअघि भएको ठेक्का सम्झौता गत मंसिर २७ गते सकिएको थियो।

तर, मेयर जिसीले आफ्नो कार्यकाल सकिएर बाहिरिँदै गर्दा सुटुक्क चार महिना म्याद थपेका थिए। म्याद थप गर्दासमेत कम्पनीले वक्यौता रकम नबुझाएपछि शुक्रबार बसेको कार्यपालिका बैठकले ठेक्का तोड्ने निर्णय गरेको हो।

तिम्सिनाका अनुसार फेवा जेभीले महानगरलाई तीन किस्ताको १ करोड ९० लाख रूपैयाँ तिर्न बाँकी छ। महानगरले ठेकेदार कम्पनीले राखेको धरौटीबाट बाँकी रकममार्फत असुल गर्नेसमेत जनाएको छ ।

महानगरले कोर एरियाको सडकमा पार्किङ निषेध गर्ने निर्णयसमेत गरेको छ। निजी भवनको अन्डरग्राउण्ड र निजी जग्गाालाई पार्किङ प्रायोजनमा उपयोग गरिने महानगरले जनाएको छ।

अन्डरग्राउन्ड पार्किङ र निजी पार्किङका बारेमा मापदण्ड तोकेर शुल्क निर्धारण गर्न महानगरपालिकाको यातायात व्यवस्थापन समितिलाई जिम्मेवारी दिएको छ।

त्यस्तै, अस्थायी फोहर मैला व्यवस्थापनका लागि पोखराको लामेआहालमा ल्याण्डफिल साइट व्यवस्था गर्ने निर्णय भएको प्रवक्ता तिम्सिनाले बताए। साइटको व्यवस्थापन गर्न महानगरका प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मेवारी दिएको छ।

महानगरलाई फोहर प्रशोधन गर्न पोखरा ३३ देव्रेवर झाँक्री खोला उपयुक्त भएको अध्ययन समितिले सिफारिस गरेकाले अध्यायन पछि निर्णय गर्ने महानगरले जनाएको छ।

८ पुस, २०७९, १९:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।