काठमाडौं: नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेष्ट २०२२) को आज दोस्रो दिन। आज भारतीय रंगकर्मी शबाना आजमीको 'मास्टर क्लास' प्रत्यक्ष रूपमा लिन पाइनेछ।
उकेरा कला
पाँच राष्ट्रिय अवार्ड र विभिन्न अन्तर्राष्ट्रिय सम्मान पाएकी आजमीलाई भारत सरकारले १९९८ मा पद्मश्री र सन् २०१२ मा पद्म भूषणबाट सम्मानित गरेको छ।
आज साढे सात बजे मण्डला थिएटरमा उनले रंगकर्मीहरूलाई मास्टर क्लास दिनेछिन्। यो मास्टर क्लासलाई कवि विप्लव प्रतीकले होस्ट गर्नेछन्।
त्यसअघि शनिबार देशदेमोना रूपकम नाटकको दुई शो हुनेछ। १२ बजे र ४ बजे हुने नाटक भारतीय नाट्य टोलीले मञ्चन गर्नेछन्। त्यस्तै मिस्टर एण्ड मिसेस क्राफ्ट, अ स्टोरी अफ पेपर मास्क नाटकको पनि दुई शो छ। २ बजे र ६ बजे स्पेन, इटालीका कलाकारले यो नाटक मञ्चन गर्नेछन्।
सामाजिक रूपान्तरणका लागि रंगमञ्च, विविधताको उत्सव भन्ने नाराका साथ सम्पन्न महोत्सवमा नेपालसहित १३ देशका १८ नाटक मञ्चन हुनेछन्।
पहिलो दिन दुई नेपाली नाटक मञ्चन
नाट्य महोत्सवको पहिलो दिन दुई नेपाली नाटकहरू मञ्चन भए। नयनराज पाण्डेद्वारा लिखित 'सर्पदंश'मा रहेको कथा 'कस्तुरी'को नाट्य रूपान्तरण उद्घाटन नाटक रह्यो। झण्डै १०० मिनेटको नाटकलाई कलाकार दिया मास्केले निर्देशन गरेकी हुन्।
नाट्यकथा कस्तुरीलाई शवाना आजमीले सुरुदेखि अन्त्यसम्म हेरिन्। उनले नाटकको लाइटिङ खुबै मन परेको बताएकी थिइन्। नाटकको बीचमा उनी एक्लैले ताली समेत बजाइन्, भलै नेपालको रंगमञ्चमा ताली बजाउन बर्जित छ।
कथा कस्तुरीको नाटकमा कसरी नेताहरूले चुनाव जित्न हद पार गर्नसक्छन् भन्ने विषय उठान गरिएको छ। झण्डै एक महिना सिनामंगलमा रहेको नेपाल फिल्म कलेजको हलमा मञ्चन भएको यो नाटकको प्रस्तुति उत्कृष्ट थियो।
त्यस्तै दोस्रो नाटक स्वरूप 'बुद्ध र भिखारी' नामको लोककथामा आधारित नाटक देखाइयो। यो नाटक 'स्याडो' (छायाँ) नाटक हो। सानो पर्दामा लाइट पारेर देखाइएको नाटकको प्रस्तुतिलाई धेरैले मन पराएका थिए।
सधैँ सुनिरहेको लोक कथालाई रमाइलो पारामा छायाँ चित्र मार्फत भनिएको थियो।
२०७९ मंसिर १० गते ९:१३ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।