कभर स्टोरी

गगनको संसद् यात्रा : घट्दो लोकप्रियता, बढ्दो जिम्मेवारी


काठमाडौं : २०७० को निर्वाचनमा पहिलो पटक प्रत्यक्ष निर्वाचनमा होमिएका गगनकुमार थापा विजयी हुँदा प्रतिस्पर्धीसँग उनको मतान्तर थियो १३ हजार २ सय ८८। त्यो बेला दलहरू एक्ला एक्लै प्रतिस्पर्धामा थिए। अहिले जस्तो पाँच टाउको एकातिर अनि तीन टाउको अर्कोतिर जोडिएको थिएन।

उनीसँग प्रतिस्पर्धामा थिए एमालेका निर्मल कुइँकेल। आफूले जितेको ठाउँमा गगनलाई टिकट दिएको भन्दै काङ्ग्रेसकी निवर्तमान सांसद सुप्रभा घिमिरे विद्रोही उम्मेदवार बनिन्।

विद्यादेवी भण्डारीलाई हराएर सांसद बनेकी घिमिरेको केही जोड चलेन। उनले सय हाराहारी मत ल्याइन्। पशुपति क्षेत्रका स्थानीय अनि काठमाडौँ-४ मा परिचित कुइँकेलको मत पनि थापाको लोकप्रियतामा बग्यो। थापा २२ हजार ३ सय ३२ मत ल्याएर विजयी हुँदा कुइँकेलले ९ हजार ३१ मत पाए।

उनी पहिलो पटक प्रत्यक्ष निर्वाचनमा होमिएको नौ वर्षपछि मङ्सिर ४ मा भएको निर्वाचनमा उनी कांग्रेसका मात्र उम्मेदवार थिएनन्। माओवादी केन्द्र, एकीकृत समाजवादीसहित अन्य चार दलको पनि साझा उम्मेदवार थिए।

निर्वाचनको परिणाममा अप्रत्याशित नतिजा ल्याइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार ब्याक भएर उनलाई साथ दिएकाले उनलाई काङ्ग्रेससहित ६ दलको साथ थियो भन्दा फरक पर्दैन।

काठमाडौँ-४ मा मतदाता बढेर  ६९ हजार ७ सय ५२ पुग्यो। निर्वाचन आयोगका अनुसार त्यसमध्ये ४५ हजार ५ सय ३ मत खसेको थियो। त्यसमा थापाले २१ हजार ३ सय २ मत पाएर विजयी भए। उनको प्रतिद्वन्द्वी राजन भट्टराईले १३ हजार ८ सय ५५ मत पाए। मतान्तर ७ हजार ४ सय ४७।

बुढानीलकण्ठले बदलेको समीकरण

यस अगाडिका निर्वाचनको मत शैली हेर्ने हो भने बुढानीलकण्ठ नगरपालिकाबाट आउने मतले उनलाई भरथेग मात्रै गर्थ्यो। उनी प्रतिस्पर्धीभन्दा पछाडि नै हुन्थे। जब काठमाडौं महानगरपालिका क्षेत्रका वडाको मत गन्न सुरु हुन्थ्यो उनी प्रतिस्पर्धीलाई बिस्तारै पछि पार्दै विजयी हुन्थे। यसमा सधैँ निर्णायक हुन्थ्यो महानगरको वडा नम्बर ७ अनि ३०।

यस पटक पनि यी दुवै वडाका मतदाताले गगनलाई साथ दिए। वडा ७ मा उनले २ हजार २ सय ४० मतले लिड गर्दा ३० मा १४ सय ६० ले लिड गरे। दुवै मत निर्णायक त भएनन् तर जितको मार्जिन बढाउन सहयोगी बने। कारण बुढानीलकण्ठ नगरपालिका क्षेत्रको बदलिएको मत।

स्थानीय तहको निर्वाचनमा कांग्रेस कमजोर देखिएको यस क्षेत्रबाट गगनले राम्रो मत मात्र ल्याएनन् सबै वडामा लिड नै गरे। कुनै वडामा पनि राजनले उनलाई पछि पार्नै सकेनन्।

स्थानीय तहको निर्वाचनमा महानगरका ४ वडामध्ये काग्रेसले ३ वटा र एमालेले एउटामा जितेका थिए। यी ४ वडामा कांग्रेसले ७ हजार ८३ र गठबन्धनको मत जोड्दा ८ हजार ६ सय ४७ पाएको थियो। एमालेले ५ हजार ९२ मत पाएको थियो।

प्रतिनिधि सभामा निर्वाचनमा महानगरको चार वडाबाट गगनले नौ हजार तीन सय नौ मत पाउँदा भट्टराइले ४ हजार पाँच सय ६९ मत पाए।

स्थानीय तहको निर्वाचनमा बुढानीलकण्ठ नगरपालिकाका ८ वटा वडै एमालेले जितेको थियो। ८ वडाका वडाध्यक्षहरूले ११ हजार ४ सय पाँच मत पाएका थिए। गठबन्धनले १० हजार ३ सय ७४ मत पाए।

प्रतिनिधि सभामा गगनले यी क्षेत्रबाट ११ हजार नौ सय ८४ मत ल्याए। उता राजनले ९ हजार २ सय ६८ मात्र मत पाए। यसले एमालेले आफ्नो मताधार भएको क्षेत्रको मत जोगाउन त सकेन नै गगनको प्रभाव क्षेत्रमा पनि पुग्नै सकेन।

अब स्थानीय तहमा काठमाडौं ४ को क्षेत्रमा आएको कुल मत हेर्ने हो भने एमालेले १६ हजार ४ सय ९७ मत पाएको थियो। तर प्रतिनिधि सभामा उसले जम्मा १३ हजार  ८ सय ३७ मत पायो। उसले २ हजार ६ सय ६० मत गुमायो।

सत्ता गठबन्धनले १२ वडाबाट १८ हजार ४ सय २३ मत पाएको थियो। प्रतिनिधि सभामा २ हजार ८ सय ७० मत बढाएर जित निश्चित गर्‍यो।

तर खस्किँदै छ गगनको साख

तेस्रो पटक पनि प्रतिनिधि सभा सदस्य बन्दा गगन थापाको स्थानीय साख बढ्नुपर्ने हो। तर घट्दो देखाउँछ मतको तथ्यले। हरेक निर्वाचनमा उनी जित्न त जित्छन् तर पुरानो लोकप्रियताको रेकर्ड ब्रेक गर्न सक्दैनन्।

माथि २०७० र २०७९ को मतको शैलीबारे उल्लेख गरेको थिए। अब २०७४ को नतिजा हेरौँ।

२०७४ मा एमाले र माओवादीको संयुक्त उम्मेदवार बनेका राजन भट्टराईसँगको प्रतिस्पर्धामा थापा २१ हजार ५ सय ५८ मत पाएर विजयी भए। भट्टराईले १८ हजार १ सय ४० मत पाए। मतान्तर ३ हजार ४ सय १८।

यो निर्वाचनमा थापाले पाएको मत कांग्रेसको एकल मत हैन। यसमा माओवादी केन्द्र अनि एकीकृत समाजवादीसहितको मत जोडिएको छ नै।

सधैँ कांग्रेसका उम्मेदवार पछि पर्ने बुढानीलकण्ठ क्षेत्रमा प्रारम्भदेखि नै थापाले लिड गर्नुको कारण कांग्रेसको मात्र मत हैन, माओवादी अनि एकीकृत समाजवादीको मत जोडिनु कारण हो।

काठमाडौँ-४ मा थोरैमा पनि यी दुवै दलको ८ हजार मत रहेको मानिन्छ। त्यसको आधा मत मात्रै थापाले पाएको आकलन गर्ने हो भने पनि थापाले जुन मतान्तरले भट्टराईलाई पराजित गरे त्यो २०७० को भन्दा कमजोर त हो नै २०७४ को भन्दा पनि कम हो।

निर्वाचनमा एक मतबाट आउने परिणामको पनि अर्थ हुन्छ नै संसद्मा प्रतिनिधित्वको सवालमा। तर मतान्तरको मज्जै बेग्लै हुन्छ जसले मतदातामाझ उम्मेदवारको लोकप्रियताको मापन पनि हुन्छ।

मतको ट्रेन्डलाई लोकप्रियताको मुख्य मापन स्वीकार गर्ने हो भने 'गणतन्त्रका पोस्टर बोई'को रूपमा नेपाली राजनीतिमा धक्कै दिने नेताको रूपमा प्रवेश गरेका गगनको लोकप्रियता बढेको देखिँदैन, हरेक निर्वाचनमा उनको लोकप्रियता खस्कँदो छ।

पहिला केन्द्रीय राजनीतिमा उनको उपस्थितिको चर्चा गरौँ।

प्रतिपक्षमा रहँदा गगन कांग्रेसबाट एक्ला प्रतिपक्षको रूपमा सक्रिय भए। नेकपा नेतृत्वको सरकारको कामको आलोचना र संसद्मा तर्कगत खण्डनले उनी राष्ट्रिय राजनीतिमा छाइरहे। त्यसको सकारात्मक प्रभाव आफ्नो क्षेत्रमा पर्ने नै भयो।

तर एमसिसी विवादमा गगनले संसद्मा गरेको भाषणले अन्य क्षेत्रसँगै आफ्नै निर्वाचन क्षेत्रमा समेत नकारात्मक असर पारेको थियो। 'एमसिसी पास हुँदा नेपालमा अमेरिकी सेना आए चार पाटा मुडेर थानकोट कटाउनु' भन्ने उनको भनाई उनका प्रशंसकले समेत रुचाएको देखिएन।

'एमसिसी पास हुँदैमा अमेरिकी सेना आउँदैन भनेको भए भइहाल्थ्यो किन चार पाटा मुड्नु भन्दै जङगिनुपर्‍थ्यो' भन्ने मतदाता प्रशस्तै देखिएका थिए काठमाडौँ-४ मा।

यसो हेर्दा सामान्य त हो भन्ने लागे पनि यस्ता कुराले मतदाताको मनमा चस्स गराएर उम्मेदवारप्रति वितृष्णा मज्जाले बढाउने रैछ। अझ 'अमेरिकी एजेन्ट' को हल्लाले त्यसमा मलजल राम्रै गरेको थियो।

उनी अहिले पार्टीको सङ्गठनको नेता हुन्। महामन्त्रीका रूपमा उनले आफ्नो क्षेत्रमा पार्टीगत संरचनामा निभाएका गतिविधि अनि उनले गरेका निर्णयले पार्टी सङ्गठनभित्र उनी अलोकप्रिय बन्दै गइरहेको देखिन्छ।

पार्टीको १४ औँ महाधिवेशन अगाडि इकाइदेखि नगर र जिल्लासम्मको निर्वाचनमा उनले साथ दिएका उम्मेदवार र उनले गरेको हस्तक्षेपले हिजो' वाह गगनदाई' भन्नेहरू यस पटक निर्वाचनमा त्यति खुलेको देखिएन।

केन्द्रीय राजनीतिमा युवा पुस्ताको वकालत गर्ने गगन स्थानीय तहको निर्वाचनमा बुढा पुस्ताको पक्षमा देखिए।

वडा तहदेखि महानगर तहसम्म उनले जे जस्ता उम्मेदवारलाई साथ दिए त्यसले' गगनले युवा नेतृत्व भन्ने आफ्ना लागि मात्रै रहेछ' भन्ने सन्देश दियो स्थानीय सङ्गठनमा।

स्थानीय मतदातासँग बढ्दो दुरी 

सांसद हुनु भनेको नीति- नियम बनाउने जिम्मेवारी दिनु हो भन्ने चेत ग्रामीण भेगमा मात्रै हैन सहरी क्षेत्रमा पनि बलियोसँग फैलिएको छैन। धाराको टुटी फेर्नदेखि सडकको प्वाल टाल्नसम्म सांसदै चाहिन्छ भन्ने मानसिकता सहरी क्षेत्रमा पनि उस्तै छ।

गगन स्थानीय विकासमा भन्दा केन्द्रीय राजनीतिमै बढी केन्द्रित छन्। यसले स्थानीय मतदातामा 'गगनले वास्तै गर्दैन' भन्ने सन्देश फैलाइरहेको छ। उनको सबैभन्दा ठुलो भोट बैङ्क वडा नम्बर ७ को चुच्चेपाटी, मैजुबहाल, गौरीघाट चाबहिल क्षेत्र हो भन्ने यस पटक पनि पुष्टि भयो।

यो वडामा खसेको ९ हजार तीन सय ६१ मतमध्ये गगनले  ४ हजार पाँच सय ४४ मत पाउँदा भट्टराइले २ हजार ३ सय ४ मत पाए। गगनले २ हजार २ सय ४० मतले लिड गरे यो वडामा मात्र। तर स्थानीय तहको निर्वाचनमा वडाध्यक्षको उम्मेदवार चयनदेखि पार्टीको आन्तरिक राजनीतिमा यही क्षेत्रमा गगनप्रति ठुलो असन्तुष्टि देखिन्छ।

गगनले आफ्नो २० वर्षीय संसद् यात्रामा सबैभन्दा कम चासो दिएको क्षेत्र समेत यही हो। उनका योजनादेखि उनको सक्रियता अधिकांश समय वडा ३० र बुढानीलकण्ठ क्षेत्रमा केन्द्रित हुन्छ। वडा सातमा उनले गरेको देखिने काम सहरी स्वास्थ्य क्लिनिक मित्रपार्कबाट मैजुबहालमा सार्नु हो। तर त्यो हुनु र नहुनुको कुनै अर्थ छैन स्थानीयलाई।

बुढानीलकण्ठ क्षेत्रमा पार्टीगत सङ्गठन कमजोर छ नै। संसदीय राजनीतिमा आउन चाहने प्रतिस्पर्धी अनि पार्टीको संस्थापन पक्षको पकडले पनि उनको शाखामा असर पारिरहेको छ।

लामो समयसम्म कपन क्षेत्रको बाटो नबनी नाकाबन्दी समान अवस्था हुनु अनि हरेक बर्खामा कपन डुब्दाको अपजस सांसद भएकाले उनकै थाप्लोमा आउनु स्वाभाविक हो।

युवा मतदाताले अब गगन 'चिन्दैनन्'

उनी यस क्षेत्रबाट सांसद बनेको सङ्ख्या चार भइसक्यो। काठमाडौँ ४ का मतदाताले तीन पटक मत हालिसके। एकै उम्मेदवारलाई कति मत हाल्नु भन्ने भाव यहाँका मतदातामा पनि पर्नु स्वाभाविकै हो।

राजनीतिमा सक्रिय नेताहरूको उमेर हेर्ने हो भने गगनलाई अझै युवा उम्मेदवार भन्दा फरक नपर्ला। तर यस पटक थपिएका मेरा भतिज-भतिजी पुस्ताका लागी उनी त्यति परिचित नेता रहेनन्।

उनी युवा प्रौढतातिर अगाडि बढिरहेका र प्रौढ पुस्ताका मतदातामाझ त परिचित छन्। तर भतिज-भतिजी पुस्तामा गगनभन्दा बालेनहरुको क्रेज बढ्दो छ। उनीहरूको रोजाई गगन हैन बालेनहरु हुन थालेका छन्।

विचौलिया र स्वार्थ समूह

स्वास्थ्यमन्त्रीको रुपमा उनले जे काम गरे त्यसैले हो सरकारमा गगनको नेतृत्वको आशा बढाएको। तर मन्त्रीभएसँगै उनको नाम केही विचौलियाको मुखमा झुन्डियो। उनी पूर्वमन्त्री भए तर विचौलिया पूर्व भएनन्। 

'स्वास्थ्य ठेक्का मिलाइदिन्छु', 'गगन दाई प्रधानमन्त्री भएपछि तपाइका सबै काम मै गरिदिन्छु भन्ने' आवाज यदाकदा चर्का सुनिन्छन् अहिले पनि केही रेष्टुरेन्टमा। ती साच्चिकै उनी निकट हुन् या उनको नाम भजाईरहेका हुन् उनी नै जानुन्। 

स्वास्थ्यमन्त्रीहुँदा वीर अस्पतालले ४० करोड बराबरको टोमोग्राफ मेसिन किन्यो जुन उनी प्रधानमन्त्रीको दौडमा आइसक्दा पनि नेपाल आएको छैन। खरिदमा मन्त्रालय जोडिएको थिएन। तर स्वास्थ्यमन्त्रीका रुपमा उनी पक्कै जानकार थिए नै होला त्यत्रो मेसिन किन्दा।

खरिदमा जोडिएका ब्यक्तीलाई कांग्रेसले अहिले युनिफाइड अस्पतालको निमित्त प्रमुखको जिम्मेवारी तोकेको छ। उनी अहिले पनि क्याविनमा बसेर भनिरहेको सुनिन्छ' गगन त आउन् न।' अब उनीसँगको सम्बन्ध के हो यो पनि गगनै जानुन्।

यति लामो राजनीतिक यात्रामा उनले अन्य दलको प्रधानमन्त्री अनी मन्त्रीहरुको साख कसरी गिर्यो भन्ने मात्र हैन आफ्नै पार्टीका मन्त्री अनी प्रधानमन्त्रीको साख गिर्नुमा रेष्टुरेन्ट अनी अफिस क्याबिनमा विचौलियाले निर्धक्क 'अँ फलाना त आउन् न मैरै मान्छे हुन्' भनिनु पनि प्रमुख कारण हो भन्ने पक्कै बुझेका नै होलान्। 

भावी प्रधानमन्त्री सम्भव छ ?

गगन नेपालका भावी प्रधानमन्त्री पक्कै हुन् यदि यो बिचमा उनमा राजनीतिक विचलन नआए। तर राजनीतिक परिदृष्टले उनी २०७९ का हैन २०८४ का प्रधानमन्त्री देखाइरहेको छ।

यस पटक उनी संसदीय दलको नेता हुन कांग्रेस संसदीय दलमा पक्कै प्रतिस्पर्धा गर्लान् साखकै लागी भए पनि। तर चमत्कार बाहेकको अवस्थामा पार्टीभित्रको संसदीय अङ्क गणित उनको पक्षमा आउन गाह्रो देखिन्छ।

जसरी पार्टीको १३ औँ महाधिवेशनमा महामन्त्रीमा जित्न अङ्क गणित उनको पक्षमा थिएन अहिले प्रधानमन्त्रीका लागि पनि छैन।

१३ औँ महाधिवेशनमा कृष्णप्रसाद सिटौलाको क्याम्पबाट महामन्त्री उम्मेदवार बन्दै गर्दा उनी आफ्नो हारबारे जानकार थिए र हारे पनि। तर १४ औँ महाधिवेशनका लागि महामन्त्रीका बलिया दाबेदार त्यही महाधिवेशनमै बने। स्थान सुरक्षित गरे।

१४ औँ महाधिवेशनमा उनी जुन समूहमा रहे पनि स्वतः महामन्त्रीका बलिया दाबेदार हुने थिए। सिटौला समूह छाडेर संस्थापक इतर शेखर कोइरालाको समूहमा गए। अनि १३ औँ महाधिवेशनमा सुरक्षित गरेको पदमा पुगे १४ औँ मा।

प्रधानमन्त्रीका लागि कांग्रेस संसदीय दलको नेताका लागि उनी उम्मेदवार बने भने यो जितका लागि हैन २०८४ को संसदीय दलबाट निर्विकल्प नेता बन्ने स्थान सुरक्षित गर्न भन्ने देखिन्छ नै।

उनले १३ औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बनेर जसरी १४ औँका लागि स्थान सुरक्षित गरे २०७९ मा संसदीय दलको नेताको उम्मेदवार बनेर २०८४ का लागि स्थान सुरक्षित गर्न सक्छन्।

मिसन २०८४ का चुनौती

प्रधानमन्त्री हुन नि सर्त योग्यता भनेको सांसद हुनु नै हो। कुनै चमत्कार भएर यसैपालि उनी प्रधानमन्त्री बन्न नसके २०८४ मा प्रधानमन्त्रीको उम्मेदवार बन्न पहिला काठमाडौँ-४ बाट सांसद निर्वाचित हुनपर्‍यो। उनको शैली अहिलेकै कायम हुने हो भने यति सहज देखिँदैन उनको निर्वाचित चौथो संसद् यात्रा।

उनको पहिलो चुनौती युवा मतदातामाझ पहिचान बनाउनु नै हो। उनी अहिलेका १८-२० का नयाँ मतदातामाझ नै 'प्रकाशमान सिंह' बनिसकेका छन्। २०८४ मा मतदाता थपिने मेरो छोरी पुस्ता हुन्।

अहिलेकै कार्यशैलीमा अगाडि बढ्ने हो भने छोरी पुस्तामाझ उनको पहिचान 'शेरबहादुर' हुने पक्का छ। डडेलधुराको युवा पुस्तामाझ उनी कतिको परिचित रहेछन् भन्ने त सागर ढकालले ल्याएको मतले नै देखाइहाल्यो।

युवा मैत्री शैली र छवि निर्माण नगर्ने हो भने २०८४ मा उनका लागि' नयाँ सागर ढकाल'को चुनौती चिर्न कठिन हुनसक्छ।

पार्टीको आन्तरिक संरचनामा गगनको छवि नयाँ 'गिरिजाप्रसाद' बन्दै गएको देखिन्छ। कामको मूल्याङ्कनका आधारमा जिम्मेवारी भन्दा पनि आफू निकटतालाई प्राथमिकता दिने अनि नयाँ पुस्तालाई अगाडि नै बढ्न नदिने स्वभाव रहेको कांग्रेस वृत्तमा टिप्पणी सुनिन्छ।

२० वर्ष संसदीय राजनीतिमा सक्रिय हुँदा आफूपछि काठमाडौँ-४ को नेतृत्व गर्न सक्ने नेतृत्व स्थापित गर्न चासो नदेखाउनुले उनीप्रति पार्टीभित्र हुने टिप्पणी केवल टिप्पणी मात्रै हैन भन्ने देखाउँछ नै।

सहरी मतदाता कुलो र धाराका लागि सांसदकोमा धाउँदैनन्। यसो मत माग्न आएजस्तै टोलमा आएर 'आराम हो'  भनिदिउन् भन्ने त चाहन्छन् नै। कहिलेकाहीँ फोन गर्दा उठाइदिउन् र गुनासो सुनिदिउन् भन्ने लाग्छ नै। मतदाता हुन्। मतदान गरेर पठाएको प्रतिनिधिसँग यतिको आस राख्नु नाजायज पनि हैन।

अब टेलिभिजनको पर्दामा मात्र देखिने गगन भएर २०८४ सम्मै काठमाडौँ-४ मा आफ्नो प्रभाव कायम राखिराख्न सम्भव छैन गगनलाई। उनी काठमाडौं ४ मा पनि देखिने गगन बन्न आवश्यक छ।

स्वास्थ्यमन्त्रीहुँदा उनले गरेका सकारात्मक कामले 'प्रधानमन्त्री बने गगनले राम्रै गर्छन् की' भन्ने काठमाडौँ-४ मात्र हैन यो क्षेत्र बाहिरका मतदातामा पनि आस छ। ती आशावादीहरूलाई निराश नबनाउने हो भने अब उही पुरानै गगन भएर मात्र सम्भव छैन। गगन थापाको भर्सन-२ अनिवार्य छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

रविको अर्को 'अपराध'को खुलासा : अमेरिकी पासपोर्ट हुँदाहुँदै झुक्याएर निकाले नेपाली पासपोर्ट

उनले निवेदनमा खुलाएको विवरणले उनीसँग सन् २०१८ मे १७ अर्थात् विक्रम संवत् २०७५ जेठ ३ सम्म अमेरिकी राहदानी नै रहेको पुष्टि हुन्छ। उकेराले प्राप्त गरेको....

चितवन- २ मा उपनिर्वाचन कि रविलाई सफाई ?

निर्वाचन कानूनअनुसार कुनै उम्मेदवारको उम्मेदवारीबारे कानूनी प्रश्न उठे मतपरिणाम घोषणा अगाडि भए निर्वाचन आयोगले निर्णय गर्नसक्छ। परिणाम आइसकेपछि भने यो सिधा संवैधानिक इजलासमा जान्छ। रविले....

आरोप असत्य हो भने ब्युँतिएको नागरिकता किन सार्वजनिक गर्दैनन् रवी!, किन फैलाउँदैछन् भ्रम ?

निर्वाचन कार्यालयमा उनले २०५० सालमा जिल्ला प्रशासन कार्यालयबाट निकालेको नागरिकताको प्रमाण पत्र पेस गरेका छन्। नेपालको नागरिकता सम्बन्धी कानुन अनुसार उनले अमेरिकी नागरिकता लिए लगत्तै....

नागरिकता ब्युँताउने प्रक्रिया पुरा नगर्दा रवीको कानुनी हैसियत 'अनागरिक'

नियमावली अनुसार उनले खारेज भइसकेको नागरिकता ब्युँताउन सम्बन्धित सरकारी कार्यालयमा निवेदन दिएर नयाँ नागरिकता निकाल्न अपनाउनुपर्ने कानुनी प्रक्रिया पुरा गरेपछि मात्रै उनको खारेज भएको नागरिकता....

UKERAA EXCLUSIVE : अवैध* भनिएको रवीको नागरिकता यही हो, प्रशासनको कार्यालयमा फायल नै गायब

उकेरालाई प्राप्त रवीको नागरिकताको नम्बर १८..२ देखिन्छ जुन २०५० सालमा तत्कालीन काठमाडौं नगरपालिका वडा नम्बर ६ को ठेगानामा काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट जारी भएको थियो।....