वर्षभर नै हाे पर्यटनको सिजन, बुझाउन नसकेपछि छ महिना हाइ काडेर बस्छन् व्यवसायी

वर्षभर नै हाे पर्यटनको सिजन, बुझाउन नसकेपछि छ महिना हाइ काडेर बस्छन् व्यवसायी

काठमाडौं : विश्वभर चर्चामा रहेका युवा युट्युबर तथा भ्लगर डेल फिलिप नेपाल आए। पोखराका विभिन्न गाउँहरू डुल्नेदेखि नेपाली पर्यटनमा उनका भिडियोहरूले महत्त्वपूर्ण भूमिका खेल्नेछन्। उनी पोखराका होम स्टेदेखि साहसिक खेलहरूमा रमाइका भिडियोहरू विश्वभरका मानिसहरू माझ पुगेका छन्।

फिलिप नेपाल आए, काठमाडौंको सबैभन्दा महंगो मानिएको द्वारीका होटलमा पनि गए। तर, त्यहाँ गएर मःम अर्डर गरे। मःमको स्वाद कस्तो छ भन्नेबारे रिभ्यु दिए र हिँडे। फिलिपको द्वारीका होटल भ्रमणबारे भिडियो युट्युबमा हेरेका नेपाल पर्यटन बोर्डका सिनियर म्यानेजर सुनिल शर्मालाई भने मन परेन।

उनले उकेरासँग आक्रोशित हुँदै भने, ‘द्वारीका होटलमा जाने अनि मःम अर्डर गर्ने? मःम खान जाने हो द्वारीका होटलमा? त्यहाँ गएपछि त नेवारी आर्किटेक हेर्ने हो, नेवारी कल्चरमा रमाउने हो, नेवारी फुड ट्राइ गर्ने हो नि। मःम खान त द्वारीका पुग्नै पर्दैन।’

द्वारीका होटल पुगेर मःम अर्डर गर्ने फिलिपहरूको गल्ती नभएको शर्माको भनाइ छ। पर्यटन व्यवसायी प्रचार गर्न चुक्दा डेलले द्वारीका होटलमा गएर मःम अर्डर गरेको उनको बुझाइ छ।

उनले भने, ‘नेपाल किन आउने भन्ने नै पर्यटन व्यवसायीले पर्यटकलाई बुझाउन सकेनन्, त्यसैले हामी रुमल्लिरहेका छौं।’

पर्यटन बोर्डको काम अन्तर्राष्ट्रिय स्तरमा नेपाली पर्यटनको प्रचारप्रसार गर्ने हो। तर, बोर्डकै कर्मचारी यसरी भड्कनु जायज भएन नि भन्ने जिज्ञासामा सुनिलले एक पक्षले मात्रै काम गरेर नहुने बताए। उनका अनुसार, संस्कृति तथा पर्यटन मन्त्रालय, पर्यटन विभाग हुँदै पर्यटन व्यवसायीहरूको विभिन्न छाता संगठनसम्मका मानिसहरू लागिपरेर काम गर्नुपर्छ।

अन्तर्राष्ट्रिय पर्यटक नेपाल किन आउने त भन्ने प्रश्नमा सिनियर म्यानेजर सुनिलले भने, ‘यहाँको कल्चर, मानिसहरूको लाइफस्टाइल हेर्न आउने हुन्। यहाँको जस्तो हावापानी, भौगोलिक अवस्था त अन्त पनि छ।’

कस्तो छ त नेपालीहरूको लाइफस्टाइल भन्ने प्रश्नमा उल्टै उनैले प्रश्नहरू थप्दै गए। तपाई खाना कसरी खानुहुन्छ? डाइनिङ टेबलमा बसेर खाँदा शरिरको पाचन प्रणालीमा के कस्तो असर गर्छ? जस्ता कुराहरूमा उनि अल्झिए।

पलेटीँ मारेर बस्नेदेखि जनै फेरेर खाना खानेसम्मको कुरा गर्दा सुनिल आफैँ नेपाली लाइफस्टाइलको परिवर्तित झलकबाट बञ्चित भएजस्तो देखियो।

नेपाली जीवनशैली देखाउन विदेशीलाई लक्षित गरेर सञ्चालन गरिएको होमस्टेमा विहानको खाजा खाजा पाउरोटी र दिउँसोको खाजा चाउचाउ दिइन्छ।

उनका अनुसार, हाम्रा पुराना जीवनशैली वैज्ञानिक छ। हाम्रा कला संस्कृति अपरम्पार छ। तर, ति पुराना जीवनशैली कत्तिको परिवर्तन भइसके, कला संस्कृति कसरी लोप हुँदैछन् भन्ने जिज्ञासा भने उनले मेट्न सकेनन्।

बुझाउनुपर्ने नै बुझ्दैनन् नेपाली कला संस्कृति
पर्यटनका विद्यार्थी समेत रहेका पाटन संग्रलयका प्रमुख सुरेश लाखे देशमा कला, संस्कृति बुझेका पर्यटन व्यवसायी अन्यन्तै कम भएको बताउँछन्। जसकारण पर्यटक नेपाल के हेर्न आउँछन् भन्ने नै प्रष्ट्याउन सक्दैनन्।

नेपालमा बाह्रै महिना विभिन्न चाडबाड र महोत्सवहरू हुन्छ। कला संस्कृतिको धनी देशमा समेत पर्यटन व्यवसायीले कुरा बुझाउन नसक्दा सिजन र अफसिजन भनेर ६ महिना काम गर्ने, ६ महिना बसेर खाने गर्नुपरेको छ। यो बुझाउन नसक्दाको परिणाम अहिले देखा परिरहेको उनको भनाइ छ।

सुरेशका अनुसार, नेपाल बाह्रै महिनाका लागि सांस्कृतिक पर्यटनका लागि सिजन हुनुपर्ने देश हो।

‘हिमाल, पहाड र तराई तीन भुगोलमा फरक–फरक कला संस्कृति छन्, फरक भूगोलमा फरक समयमा यस्ता चाडबाड र महोसत्व मानिन्छ,’ उनले भने, ‘हरेक भुगोललाई ४–४ महिनामा बाँडेर हेर्ने हो भने बाह्रै महिना नेपालमा चाडबाड र मेला महोत्सव हुन्छ।’
यो कुरा पर्यटन व्यवसायीले पर्यटकलाई बुझाउन नसकेको सुरेशको भनाइ छ।

उनले भने, ‘हामी केहि कुराको पनि कदर नै गर्दैनौं, हामीले टेकेको ढुङ्गामा कत्ति धेरै इतिहास लुकेको होला, कला लुकेको होला भन्नेबारे कहिल्यै सोच्दैनौं।’

नेपालको इतिहास र संस्कृति पढ्ने पर्यटन व्यवसायिको कमीले यस्ता समस्या आएको उनको भनाइ छ।‘

‘अरु देशले संस्कृतिमाथि धावा बाेल्दासमेत वास्तै छैन’
एकताका नेपालमा बनेजस्तै सिद्धार्थ गौतम बुद्ध जन्मेको ठाउँ भारतले बनाएर प्रचारप्रसार भएको हल्ला चल्यो। भारतले ‘गौतम बुद्ध भारतको हो’ भन्दा ‘गौतम बुद्ध वाज बर्न इन नेपाल’ भन्ने क्याम्पियन नै चल्यो।

तर, यो बाहेक नेपालक धेरै संस्कृति, कला अन्य देशले चोर्यो होला भन्नेबारे कमैलाई थाहा छ। नेपालमा बनेका मुर्तिकलादेखि वर्षौं पुराना कलाकृति विदेशका म्युजियममा सजिएको कुरातिर कमै ध्यान होला।

पाटन म्युजियमका सुरेश लाखेका भने, ‘मैले सुनेअनुसार दार्जलिङमा नेपालमा जस्तै इन्द्रजात्रा मनाउन थालिएको छ। अन्य देशहरूमा नेपालको जस्तै रातो मच्छिन्द्रनाथ, सेतो मच्छिन्द्रनाथको रथ तान्ने काम सुरु भएको छ। यो नेपालको संस्कृति मात्रै हैन, धर्मसँग जोडिएको कुरा हो।’
‘यस्ता कार्य विदेशमा सुरु हुनु नराम्रो हैन,’ उनले थपे, ‘तर भविष्यमा यी संस्कार र संस्कृतिलाई नै आफ्नो भन्न थाले भने त नेपालीको पहिचान र अस्तित्व नै रहँदैन नि!’

संस्कृति र परम्पराको उद्गम केन्द्रको बारेमा प्रचारप्रसार गर्न लोभ गर्न नहुने उनी बताउँछन्। यसका लागि पर्यटन व्यवसायी एकजुट हुनुपर्ने उनको भनाइ छ।

पर्यटन व्यवसायी रमेश धमलाले पनि सुरेश लाखेको कुरामा सहमति जनाए।

‘अहिले नेपाली कला संस्कृति अन्य देशका मानिसले फलो गर्न थालेका छन् भने नेपालीले अन्य देशको जीवनशैली फलो गर्न थालेका छन्,’ उनले भने, ‘नेपालले कला, संस्कृति र जीवनशैलीमा देखाउन खोजेको के हो भन्नेबारे पर्यटकलाई प्रष्ट्याउन जरुरी छ।’

नेपाली जीवनशैली सम्झाउन होमस्टे, तर पाक्छ चाउचाउ
नेपालमा अहिले फेसन जस्तै बनेको छ, होमस्टे। देशका पर्यटकीय स्थलहरूमा प्रायः होमस्टे सञ्चालनमा छन्। नेपाली जीवनशैली देखाउन विदेशीलाई लक्षित गरेर सञ्चालन गरिएको होमस्टेमा विहानको खाजा खाजा पाउरोटी र दिउँसोको खाजा चाउचाउ दिइन्छ।

सरकारले समेत अनुदान दिएर होमस्टेमा लगानी गरे पनि स्थानीयलाई उचित तालिम दिन नसक्दा होमस्टेको लगानी बालुवामा पानी भएका छन्। उनीहरूलाई नेपाली संस्कृति र विदेशीहरूको सत्कार कसरी गर्ने भन्ने बुझाउन सकिएको छैन।

पर्यटन व्यवसायी धमलाका अनुसार, विदेशी पर्यटकका लागि उचित सरसफाइको अभावले होमस्टे रोजाइमा पर्न नसकेको हो। 

‘नेपाली जीवनशैली देखाउनका लागि होमस्टेको कन्सेप्ट राम्रो छ, तर विदेशीहरू र नेपालीको खानपान, बसोबास लगायतका कुनै पनि बानी मिल्दैन,’ उनले थपे, ‘सानो लापरबाहीले उनीहरूको स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले व्यवसायीहरू पर्यटकलाई होमस्टे लान मान्दैनन्।’

२४ असोज, २०७९, ०७:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।