नागराजले वाचा हार्न नसक्दा टेवहालमा स्थापना भएकी संकटा, पुजारीले हेर्दैनन् मूर्ति

नागराजले वाचा हार्न नसक्दा टेवहालमा स्थापना भएकी संकटा, पुजारीले हेर्दैनन् मूर्ति

आज असोज शुक्ल तृतीया अर्थात् दशैंको तेस्रो दिन।

नेपाली परम्पराअनुसार घटस्थापनादेखि महानवमीसम्म नौ दिन नवदुर्गाको पूजा अराधना गरिने परम्परा छ। दशौं दिन विजयादशमीमा देवी विसर्जन गरिने परम्परा रहेको छ।

घटस्थापनाको दिन शैलपुत्रीको पूजा अराधना गरियो भने दोस्रो दिन ब्रह्मचारिणी भगवतीको पूजा अराधना गरियो र आज तेस्रो दिन चन्द्रघण्टाको पूजा गरिँदैछ।

नवरात्रको तेस्रो दिन तपाईंहरूलाई हामी शक्तिपीठहरूमध्ये संकटाको दर्शन गराउँछौं।

संकटाको कुरा गर्दा कलिगत संवत् ३८२० तिर फर्किनुपर्ने हुन्छ। विक्रम संवतअनुसार झण्डै १२ औं शताब्दी।

त्यसबेला कान्तिपुरका राजा गुणकामदेवले देशभरको रक्षाका लागि एक तन्त्रसम्मत मूर्ति बनाउन लगाए। मूर्ति बनाउनुअघि उनले धेरै तान्त्रिकहरूसँग छलफल गरेका थिए।

छलफलपछि तन्त्रविज्ञ गुभाजुले मूर्ति बनाउने जिम्मा पाए। छलफलअनुसारै गुभाजुले मूर्ति बनाए। त्यसपछि काठमाडौं उपत्यकाको दक्षिण भेगमा रहेको कटवालदहमा गएर निकै दुःख गरेर कामरूपीठको आह्वान गरी मूर्तिलाई कलशमा प्रवेह गराउने काम भयो।

कलशमा राखेर काठमाडौंको टेवहालमा ल्याएर उक्त तान्त्रिक मूर्तिलाई स्थापना गरियो। यो कुरा देवमाला वंशावलीमा उल्लेख गरिएको छ।

संकटाको सन्दर्भमा अर्को किंवदन्ती यस्तो छः
नागराज कर्कोटककी श्रीमतीलाई आँखाको रोगले च्यापेछ। नेत्र रोगका कारण नागराज कर्कोटककी श्रीमतीलाई निकै दुःख भएछ। जति औषधिमुलो गर्दा पनि निको भएनछ। 

यो देखेर नागराज निकै विक्षिप्त भएछन्। उनलाई रातमा निन्द्रा पर्न छाडेछ। एकपटक रातमा निन्द्रा नपरेर बाहिर घुम्न निस्केछन्।

अध्यारो रातमा पनि एक ज्यापु खेत खनिरहेको देखेछन्। अरुलाई पीर सुनाउँदा मन हल्का होला भन्ने ठानेर नागराजले ती ज्यापुलाई आफ्नी श्रीमतीको नेत्र रोगका बारेमा सुनाएछन्। कुरो सुन्ने बित्तिकै ज्यापुले चिन्ता गर्नुपर्दैन तिम्री श्रीमतीलाई म ठीक पारिदिन्छु भनेछन्।

ज्यापुले पनि भनेजस्तै नागिनीलाई निको पार्यो। नागराज प्रशन्न भए। उनले ज्यापुलाई ‘के माग्छौ माग’ भनेछन्। ज्यापुले पनि नागकै इष्टदेवी संकटालाई मागेछन्। बाचा हार्न नसकेर नागले विधिपूर्वक संकटालाई टेवहालमा स्थापना गरेछन्।

पुजारीले पनि हेर्न नमिल्ने
संकटा नजिकै दक्षिणमा एउटा इनार छ। सम्पूर्ण तिर्थालुहरू त्यही जलले देवीको पूजा गर्छन्। त्यहाँ नाभीसम्मको सुन्दर मूर्ति पनि छ। त्यो भन्दा मुनि पुजारीले हेर्न हुँदैन भन्ने मान्यता छ।

संकटा मन्दिरमा प्रत्येक शनिबार विशेष पूजा हुन्छ। भिडभाड ज्यादै हुन्छ। नवरात्रीमा पनि विशेष पूजाआजा गर्ने चलन छ।

संकटा मन्दिरमा पूजाआजा गर्दा संकट टरेर जाने धार्मिक मान्यता रहेको छ।

१२ असोज, २०७९, ०८:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।