विध्वंशकारीले चैत्य भत्काए, अनि एकाएक प्रकट भइन् शोभा भगवती

विध्वंशकारीले चैत्य भत्काए, अनि एकाएक प्रकट भइन् शोभा भगवती
तस्बिरहरू: इन्टरनेट

आज असोज शुक्ल द्वितीया अर्थात् दशैंको दोस्रो दिन।

नेपाली परम्पराअनुसार घटस्थापनादेखि महानवमीसम्म नौ दिन नवदुर्गाको पूजा अराधना गरिने परम्परा छ। दशौं दिन विजयादशमीमा देवी विसर्जन गरिने परम्परा रहेको छ।

घटस्थापनाको दिन शैलपुत्रीको पूजा अराधना गरियो। र आज दोस्रो दिन ब्रह्मचारिणी भगवतीको पूजा अराधना गरिँदैछ।

नवरात्रका नवदुर्गामध्ये आज हामी ब्रह्मचारिणीकै दर्शन गराउने छौँ।

ब्रह्मचारिणीलाई ब्रह्म विद्या शक्तिकी माताको रूपमा मानिन्छ। ब्रह्मचारिणी देवीलाई सख्खर चढाएर पूजा अराधना गरेमा तथा दान गरेमा कुनै पनि प्रकारको बन्धनबाट मुक्ति पाउन सकिने तथा हरेक प्रकारको अनिष्ट नाश हुने विश्वास गरिन्छ।

त्यति बेला राजा विक्रमकेशरकी रानी नवसागरलाई एक कुशल कालिगढले भगवतीको मूर्ति बनाएर चढाएछन्। रानीले त्यो मूर्ति विष्णुमती र भद्रमतीको दोभानमा स्थापना गर्न लगाइछिन्।

शास्त्रहरूमा उल्लेख भएअनुसार उनको विधिपूर्वक पूजा आराधना गरेमा ब्रह्मतत्वको ज्ञान प्राप्त हुने धार्मिक विश्वास छ । ब्रह्मचर्य जस्तो परम् पदमा पुग्न सकिने विश्वास छ।

ब्रह्मचारिणीको हातमा कमल, अक्षमाला र कमण्डलु बनाइनुपर्छ भन्ने विधान छ। ब्रह्मचारिणीको पूजा अराधना गर्न देशभरका शक्तिपीठहरूमा भक्तजनहरूको भीड हुने गर्दछ।

ब्रह्मचारिणीको दर्शनपछि अब लागौँ आजको शक्तिपीठ दर्शन गर्न। आज हामी तपाईंहरूलाई शोभा भगवतीको दर्शन गराउनेछौँ।

शोभा भगवतीको कथा कलियुगले करिब एक हजार वर्ष पार गरेपछि सुरु हुन्छ।

त्यति बेला राजा विक्रमकेशरकी रानी नवसागरलाई एक कुशल कालिगढले भगवतीको मूर्ति बनाएर चढाएछन्। रानीले त्यो मूर्ति विष्णुमती र भद्रमतीको दोभानमा स्थापना गर्न लगाइछिन्।

पछि राजा शंकरदेवले ६६४ सालमा जीर्णोद्धार गरेर पुनः मूर्ति स्थापना गरेछन्। र यो नै हालको शोभा भगवतीको मन्दिर हो भन्ने विश्वास छ।

अब अर्को किंवदन्ती। 

गर्जु बज्रवाद नाम गरेका एक गुरु थिए। तिनका शिष्यहरू साह्रै चकचके थिए। शिष्यबाट हैरान भएर उनी भचाखुसी (निर्मल तीर्थ) नजिकै कर्णदीपमा ध्यान गर्न बसेछन्।

भनाइ त के पनि छ भने- पलाञ्चोक भगवतीको दिव्य मूर्ति दाहिने हातले बनाएपछि त्यस्तै मूर्ति नबनोस् भनेर ती मूर्तिकारको दाहिने हात नै काटिएको थियो। तर पनि मूर्तिकारले देब्रे हातको मद्दतले नक्साल भगवतीको मूर्ति बनाएका थिए। 

उनी ध्यानमै हुँदा त्यहाँ बालुवाको विशाल चैत्य बन्न पुगेछ। तर, विध्वंशकारीहरूले चैत्य भत्काइदिएछन्। त्यो भत्किएको चैत्यबाट एकाएक शोभा भगवती प्रकट भइछन्। उनले गर्जुलाई भनिछन्- 'यस्तो चैत्य भत्काइनुहुन्न'।

अनि चैत्यको पुनर्निर्माण गरिएछ। शोभा भगवतीको मन्दिरसँगै रहेको चैत्य सोही बेलाको भएको विश्वास गरिन्छ।

कसरी बनाइयो शोभा भगवतीको मूर्ति?
साढे दुई फिट उचाइको शोभा भगवतीको मूर्ति तान्त्रिक वास्तुशास्त्रका आधारमा बनाइएको हो। तन्त्रशास्त्रमा यो मन्दिरलाई ‘वगला’ भन्ने गरेको पाइन्छ।

शोभा भगवतीको स्थापना मिति यकिनका साथ भन्न सकिँदैन। तर यसमा भएको मूर्तिकारको कुशल कलाकारिता भने प्रष्टैसँग देखिन्छ। 

उसो त पलाञ्चोक भगवती, नक्साल भगवती र शोभा भगवतीको प्रतिमा एकै शिल्पकारले बनाएको भन्ने किंवदन्ती पनि रहेको छ। एकै मूर्तिकारले बनाएका कारण पनि यी तीन भगवतीलाई तीन दिदीबहिनी भनिन्छ। 

भनाइ त के पनि छ भने- पलाञ्चोक भगवतीको मूर्ति दाहिने हातले बनाएपछि त्यस्तै मूर्ति नबनोस् भनेर ती मूर्तिकारको दाहिने हात नै काटिएको थियो। तर उनले देब्रे हातबाट नक्साल भगवतीको मूर्ति बनाए। तर त्यसपछि उनको देब्रे हात पनि काटियो। र उनले आफ्नो गोडाले कुँदेर शोभा भगवतीको मूर्ति बनाए भन्ने श्रुतिपरम्परा छ।

बौद्ध पुजारीले गर्दै आएका छन् रेखदेख
शोभा भगवतीको नित्य पूजा मखनबहालका एक बज्राचार्य परिवारले गर्दै आएका छन्। ती पुजारी बौद्धधर्मी हुन्।

वर्षैपिछे नवरात्रिको अवसरमा निर्मल तीर्थ भचाखुसीमा नवरात्रि मेला लाग्छ। दशैंको अवसरमा सबै दिन भक्तजनहरू पूजापाठका लागि शोभा भगवती दर्शन गर्न आउँछन्।

हरेक वर्ष मङसिर कृष्णपक्षको ‘बालाचतुर्दशी’को दिन ६ वटा देवदेवीका जात्रामा शोभा भगवतीको मूर्ति पनि रथमा राखी विधिपूर्वक जागा गरी नगर परिक्रमा गराइन्छ।

निकै प्रसिद्ध यस शोभा भगवती मन्दिरमा मनोकामना पूरा गर्न विभिन्न पूजा र बलि चढाउन आउनेहरूको घुइँचो लाग्ने गर्दछ।

दुःख र दरिद्रपनबाट मुक्ति पाउन, युद्धमा विजय हासिल गर्न, शत्रुको संहार गर्न, कामकाजमा सफलता पाउन, पदोन्नति हुन तथा साहसिक कार्यका लागि शोभा भगवतीको आराधना गर्नुपर्ने जनविश्वास छ।

(स्रोत: मन्दिरबारे जानकार राजु नेपाल र प्राध्यापक दिनेश पन्तसँगको कुराकानी। प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित 'चाडपर्वको घर नेपाल', पदम श्रेष्ठद्वारा लिखित 'नेपाल मण्डल सम्पदा' र घटराज भट्टराईद्वारा लिखित 'नेपालका धार्मिक स्थलहरू')

११ असोज, २०७९, ०९:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।