'ब्रह्मास्त्र' बन्यो वर्षकै सबैभन्दा बढी कमाउने बलिउड फिल्म, तर अझै घाटामै

'ब्रह्मास्त्र' बन्यो वर्षकै सबैभन्दा बढी कमाउने बलिउड फिल्म, तर अझै घाटामै

एजेन्सी: बलिउडका लागि यो वर्ष 'फलामको चिउरा' जस्तै भयो। ठूला बजेट र ठूला स्टारकास्टले भरिएको फिल्म एकपछि अर्को गर्दै फ्लप भए।

यो वर्ष बलिउडमा 'कश्मीर फाइल्स' र 'भुलभुलैया २' मात्र लगानी उठाएर हिट फिल्मको सूचीमा परे।

यद्यपि हालसम्म ९ वटा महिना सकिँदा 'ब्रह्मास्त्र' वर्षकै सर्वाधिक कमाउने बलिउड फिल्म बन्यो। १५औं दिनसम्ममा ब्रह्मास्त्रले भारतमा मात्र २४१ करोड भारु कमाइसकेको छ। एक-दुई दिनमै फिल्मले २५० करोड कमाउने अनुमान लगाइएको छ।

तर यो फिल्म वर्षकै सर्वाधिक कमाएर पनि हालसम्म हिट हुन सकेको छैन। किनकि फिल्मको बजेट ४१० करोड भारु हो। विश्वभरको कमाइ जोड्ने हो भने चाहिँ फिल्मले ३८५ करोड भारु कमाएको छ। अझै पनि बजेटभन्दा कम नै हो कमाइ। अब स्याटेलाइट राइट्स र ओटीटी राइट्स नबेची फिल्मले लगानी उठाने सम्भावना न्यून छ।

यस्तै यो वर्ष भुलभुलैया २ ले पनि २६६ करोड भारु कमायो। कश्मीर फाइल्सले चाहिँ यस वर्ष सर्वाधिक नाफा कमाउने फिल्मको सूचीमा आफूलाई १ नम्बरमा उभ्यायो। किनकि फिल्मको बजेट केवल १२ करोड भारु हो। र यसले विश्वभरमा ३४० करोड भारु कमायो।

९ असोज, २०७९, १०:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।