चितवनमा जापनिज इन्सेफ्लाइटिस सङ्क्रमित एक वृद्धाको मृत्यु, ठेगाना स्पष्ट नलेख्दा बिरामी खोज्न सास्ती

चितवनमा जापनिज इन्सेफ्लाइटिस सङ्क्रमित एक वृद्धाको मृत्यु, ठेगाना स्पष्ट नलेख्दा बिरामी खोज्न सास्ती

काठमाडौं: जापनिज इन्सेफ्लाइटिसका कारण चितवनमा एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–१ चैनपुरकी ६० वर्षीया वृद्धा छिन्।

उपचार गरेर घर फर्किएपछि उनको मृत्यु भएको हो। स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईँका अनुसार हालसम्म जिल्लामा जापनिज इन्सेफ्लाइटिस पुष्टि भएका नौ जनामध्ये एक जनाको मृत्यु भएको हो।

मृतक भदौ ६ गते टाउको दुख्ने र ज्वरो आउने समस्या लिएर उपचारका लागि भरतपुर आएकी थिइन्।

चितवनमा हालसम्म २२ जना शङ्कास्पदको नमूना परीक्षणका क्रममा नौ जनामा सङ्क्रमण पुष्टि भएको छ। कार्यालय प्रमुख चापागाईँका अनुसार पुष्टि भएकामध्ये माडीकै अर्का एक ७५ वर्षीया महिला सम्पर्कमा नआएकाले उनको खोजी भइरहेको छ।

यस्तै राप्तीकी ३५ वर्षीया महिला उपचारपछि घर फर्किएकी छिन्। उनको स्मरण शक्ति कमजोर देखिएको छ।

कालिका नगरपालिकाका एक जना ३२ वर्षीय पुरुष अस्पतालबाट निको भएर घर फर्किएका छन्। उनको अवस्था सामान्य रहेको प्रमुख चापागाईँले जानकारी दिए।

रत्ननगरका २९ वर्षका एक महिलाको भरतपुर अस्पतालको सघन उपचारकक्षमा उपचार भइरहेको छ। उनलाई भेन्टिलेटरमा राखिएको छ। भरतपुर महानगरभित्रका चार जनामध्ये वडा नं २२ का ५२ वर्षीय पुरुषमा अस्वाभाविक गतिविधि र बिर्सने समस्या रहेको छ।

सोही वडाका ५२ वर्षीया एक महिला, वडा नं १९ का ७० वर्षका पुरुष र वडा नं २० का ६४ वर्षका पुरुषमा जापनिज इन्सेफ्लाइटिसको पुष्टि भए पनि ती बिरामीलाई सम्पर्कमा ल्याउन नसकिएकाले उनीहरूको  खोजी भइरहेको छ। रगतका नमूना सङ्कलन गर्दा ठेगाना प्रष्ट नलेखिएकाले बिरामीको खोजीमा कठिनाइ भएको हो।

कार्यालयका अनुसार परीक्षण गरिएका भरतपुर महानगरपालिकाका १२ जनामध्ये चार, माडीमा पाँच जनामध्ये दुई, राप्तीमा दुईजनामध्ये एक, कालिकामा एक, रत्ननगरमा दुई जनामध्ये एकमा सङ्क्रमण देखिएको हो।

जिल्लामा यो रोगले महामारीको रूप लिएको सम्भवतः यो पहिलो भएको कार्यालय प्रमुख चापागाईँले बताए।

यो रोग अप्रिल/मे देखि सेप्टेम्बर/अक्टुबरसम्म देखिने गर्दछ। भरतपुर अस्पतालका प्रवक्ता फिजिसयन डा गोविन्द कँडेलले सुङ्गुर प्रजाति र हाँसलाई टोकेको लामखुट्टेले मानिसलाई टोकेमा यो रोग सर्ने बताए। मानिसबाट मानिसमा यो रोग सर्दैन।

अहिले जिल्लामा ग्रामीण क्षेत्रमा यो रोग बढी देखिएको छ। यो रोग लागेका बिरामीमा उच्च ज्वरो आउने, टाउको दुख्ने, बान्ता आउने, बेसुरको हुने, कहिलेकाहीँ बेहोस हुने, छारे रोगको झैँ शरीरमा कम्पन आउने उनले जानकारी दिए। 

३० भदौ, २०७९, १३:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।