नगर प्रहरीलाई बालेनको निर्देशन– ‘अबको पाँच वर्ष अनुशासनमा रहेर र अनुशासनमा ल्याएर काम गर्नुस्’

नगर प्रहरीलाई बालेनको निर्देशन– ‘अबको पाँच वर्ष अनुशासनमा रहेर र अनुशासनमा ल्याएर काम गर्नुस्’

काठमाडौंः काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले नगर प्रहरीलाई आफ्नो कार्यकाल अनुशासनमा रहेर र अनुशासनमा ल्याएर काम गर्न निर्देशन दिएका छन्।

सोमबार महानगरपालिकाको कार्यालयमा नगर प्रहरीलाई निर्देशन दिँदै मेयर शाहले भने, ‘अबको पाँच वर्ष हाम्रो कार्यकालमा एकदमै अनुशासनमा रहेर तथा सेवाग्राही र व्यापारीलाई अनुशासनमा ल्याएर काम गर्न आग्रह गर्दछु।’

यसअघि भएका कमीकमजोरीलाई सच्याएर, आचरणमा सुधार ल्याएर इमान्दारीपूर्वक काम गर्न निर्देशन दिए।

‘पहिलाका कामहरूलाई बिर्सिएर, कमजोरीहरूलाई सुधारेर इमान्दारीपूर्वक काम गर्नुस्,’ उनले भने, ‘अनेस्टी इ बेस्ट पोलिसी भन्ने कुरामा मात्र याद राख्दा जीन्दगीमा धेरै कुरामा अघि बढिन्छ।’

गलत तरिकाले रकम आयआर्जन नगर्न भन्दै उनले पापको ख्याल गर्न आग्रह गरे।

‘गलत काम गरेर कमाएको पैसाले कहिले पनि सुःख हुँदैन,’ उनले थपे, ‘पाप धुरीबाट कराउँछ भन्ने कुरालाई मनन गर्नुहोला, खराब आचरण थियो भने सुधार ल्याउनुहोला।’

मेयर शाहले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरी समान भएको भन्दै आफूलाई सुधार्न आग्रह गर्नुभयो। समान हुनका लागि आफूमा भएको कमी कमजोरीलाई सुधारेर अघि बढ्न निर्देशन दिए।

‘हाम्रो फिटनेसमा, तरिकामा, तालिम पुगेको छैन कि’, उनले भने, ‘तालिमहरू नपुगेको अवस्थामा हामीले त्यसको पनि व्यवस्था गर्नेछौं।’

२७ भदौ, २०७९, १९:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।