यसकारण चुर्लुम्म डुब्दैछन् काठमाडौंका बस्तीहरू

यसकारण चुर्लुम्म डुब्दैछन् काठमाडौंका बस्तीहरू
कभर तस्बिर : कृष्पा श्रेष्ठ

काठमाडौं : काठमाडौं उपत्यकामा वर्षायामसँगै नयाँ संकट थपिइरहेको सहरी बाढी। खोला किनारका बस्तीहरू डुब्नु नौलो हैन काठमाडौंमा। तर, पछिल्लो समय भने खोला किनारबाट टाढा रहेका बस्तीहरू पनि सहरी बाढीले डुब्न थालेका छन्। 

करिब चालिस लाख जनसंख्या रहेको मानिने उपत्यकामा अव्यवस्थित सहरीकरण र अव्यवस्थित ढल व्यवस्थापनले सहरका कैयौं बस्तीहरू हरेक वर्ष बाढी र डुवानमा परिरहेका छन्। यसले करोडौंको भौतिक क्षति गराइरहेको छ।

बढ्दो सहरी बाढी र डुबानको समस्यालाई सम्बोधन गर्नुपर्ने निकाय चुपचाप देखिन्छन्। काठमाडौं उपत्यका विकास प्राधिकरण, सहरी विकास विभाग, उपत्यका खानेपानी प्राधिकरणको ढल व्यवस्थापन महाशाखा, स्थानीय मन्त्रालय, राष्ट्रिय विपद् प्राधिकरणबीच समन्वयनको अभाव प्रष्टै देखिन्छ। 

किन बढिरहेछ सहरी बाढीको समस्या अनि किन बस्तीहरू डुबिरहेका छन् भन्ने समस्याको वैज्ञानिक अनुसन्धानको अभावमा आगामी वर्षहरूमा अवस्था अझै भयावह हुने विभिन्न अध्ययन तथा अनुसन्धानले देखाएका छन्।

घटना १ :‘खोलामा पैसा बगेछ’
काभ्रेकी गीता ढकाल (४०) को परिवारले २०५८ सालमा कपन मिलन चोकमा जग्गा किन्यो। गाँउमा फैलदो माओवादी द्वन्द्वबाट जोगिन उनको परिवारले खेतीयोग्य फाँट, एकाध घरहरू भएको कपनको सस्तो जग्गा मन पराउनु स्वाभाविकै थियो। कपन क्षेत्रमा अन्धाधुन्द प्लटिङ र घरहरू बन्ने क्रम बढ्यो। 

पहिला समस्या थिएन। तर, अहिले उनले घर बनाएको क्षेत्र केही वर्षदेखि निरन्तर बाढी र डुवानको चपेटामा पर्दै आएको छ। गतवर्ष त्यही ठाँउमा बगेको भेलले १० वर्षे बालकको ज्यान लियो। 

‘वर्षा नहुँदा एकथोपा पानी नबग्ने यहाँ आधा घण्टा पानी पर्दा बाढी उर्लेर आउँछ’ ढकाल भन्छिन्, ‘धेरै पानी पर्यो भने घरै बगाउँला भन्ने पिर लाग्छ। बर्खामा हुने दुःख सम्झेर खोलामा पैसा बगाइएछ जस्तो लाग्छ हिजोआज।’ 

मिलन चोकदेखि उत्तरतर्फ गीताको घरछेउ पुग्दा बाढीले बाटो बगरजस्तो बनाएको देखियो।  बाढीले बिगारेको बाटोमाथिपट्टी गोकर्णको जंगल क्षेत्र पर्छ। त्यहाँ वर्षा हुँदा तलतिरको जगडोल, आनी गुम्बा, बंगुर फार्मदेखि बगेको पानी गुरुङ टोल, दुर्गा मन्दिर, फैका, फुलबारीहुँदै कपनको मिलन चोकसम्म आइपुग्छ। र साततले चोक हुँदै धोबीखोलामा मिसिन्छ। 

त्यहि भेगमा पानी पर्दा अर्कोतर्फ गोकर्णेश्वर, आरुबारी, फुलबारी, तिनचुली, आनन्दपुर, महाँकाल, बाँसझ्यांग, भुवाल डाँडादेखि बौद्ध स्तुपा, जोरपाटीकै पुरानो अरब बैंक, माकलबारी लगायतका क्षेत्रमा पनि उस्तै बाढी आउँछ। 

यो बेला खोला उर्लेर सडकमा बगेजस्तो देखिन्छ अनि ढलको मंगालहरूबाट मुलबाट पानी निस्किए जस्तै पानी उम्लिन्छ। 

जोरपाटी, पुरानो अरब बैंकमा २० वर्षदेखि पसल सञ्चालन गरिरहेकी चन्द्रेश्वरी श्रेष्ठ (४५) भन्छिन्, ‘वर्षा र ढलको पानी पाइपमा नअटेर बाटोमा आउँछ। बाटोबाटै खोला बग्न थालेपछि भेटेजति सबै बगाएर लैजान्छ। ढल र सडक बिगारिदिन्छ। बाढी रोकिएपछि पनि बगिरहने ढलको दुर्गन्ध र सडकको धुलोले बसिनसक्नु हुन्छ।’

यज्ञमती खोलामाथि बनेको कंक्रिट सडक र १० वर्षे बालकलाई बगाउने फलामे तारले घेरिएको क्षेत्र।

बाढीले आक्रान्त मिलन चोक
तीव्र बस्तीविकासले भरिएको मिलन चोक कपनको सबैभन्दा चहलपहल हुने ठाँउ हो। जब झरी सुरु हुन्छ मिलन चोक दह समान बन्छ। 

भुउपग्रह तस्बिरहेर्दा झन्डै दुई दशकअघिसम्म यज्ञमती र चखुँचाखोला बग्ने कपन क्षेत्र खुला फाँट थियो, पानी निकास हुने ठाउँ पनि प्रशस्त थियो। बस्ती विकास भइसकेको थिएन। सन् २०१० यताको भुउपग्रह तस्बिरअनुसार सो क्षेत्र बाटोसमेत स्पष्ट नदेखिनेगरी भएको बस्ती विकासले छपक्कै छोपेको छ।अहिले यहाँ यी दुई वटा खोला नै छैनन्, खोलामाथि कंक्रिट सडक छ। 

बारम्बार बाढी आउने बुढानीलकण्ठ नगरपालिका र काठमाडौ महानगरपालिकाको सिमा क्षेत्र, कपन मिलनचोक। बाढीपछिको मिलनचोक। 

काठमाडौंको न्युरोडदेखि झण्डै ७ किलोमिटर उत्तरपुर्व दुरीमा पर्ने मिलनचोक बुढानिलकण्ठ नगरपालिका-१० र काठमाडौं महानगरपालिका वडा ६ र ७ को सीमामा पर्छ। यो चोकमा दुईतिरबाट वर्षाको पानी एकसाथ मिसिन्छ।चार वर्षअघि खोला पुरेर राखिएको ह्यूमपाईपहरूमा वर्षेनी माटो र फोहोर थुप्रिन थाल्यो।

पानी निकास हुने ढल मर्मत र सफाइ भएन। बस्तीबाट बगेको पानी खोलामा जम्मा हुने र सोहोरिएर बग्न थालेपछि बस्तीमा ठूला बाढी आउन थाल्यो। 

वरपरका बस्तीको संगमस्थल बनेको मिलन चोकका बासिन्दा बारम्बारको बाढीका कारण हैरान छन्। भौगोलिक अवस्था हेरेर बस्ती विकास नगर्नु नै कपनको बाढीको मुख्य कारण भएको सहरी योजनाविद् डा. सञ्जय उप्रेती बताउँछन्। 

‘बढ्दो जनसंख्याको चापसँगै सहर बसाउने होडबाजी बढेको छ। हामीले भौगोलिक अवस्था हेरेर योजना बनाउन छोड्यौं’ उनी भन्छन्, ‘पहिलेका योजनावद्ध शहर विकास गरिएको हुन्थ्यो, बस्तीहरू उकास (टार वा जमिनको उठेको भाग)मा बनाइएका हुन्थे। खुला ठाँउ प्रशस्तै थिए, ढलान थिएन, प्राकृतिक निकासहरू थिए, आकाशे पानी पर्नासाथ जमिन रिचार्ज (पुनर्भरण) हुन पाउँथ्यो। तर, अचेल वर्षाको पानीको निकासै बन्द गरेर जमिनले भार थेग्नै नसक्नेगरी बस्ती बसाइएको छ। पछिल्लो समय चर्चामा आउने मिलन चोकको बाढी त्यसकै नतिजा हो।’

दुई दशकअघिसम्म खुला फाँट भएको कपन क्षेत्र अहिले पूर्ण रूपमा कंक्रिट संरचनाले ढाकिएको छ।यसमा प्रयोग गरिएका भूउपग्रहका तस्बिर गुगल अर्थ प्रोबाट लिइएको हो।

कपन र जोरपाटी क्षेत्रमा भएका घरसंख्याको यकिन विवरण नभए पनि काठमाडौं उपत्यका विकास प्राधिकरणको तथ्यांकअनुसार हाल काठमाडौंमा साढे ४ लाख, ललितपुरमा करिब दुई लाख र भक्तपुरमा करिब ७० हजार घर छन्। यसरी हेर्दा उपत्यकामा कुल घरहरूको संख्या ७ लाख पुगेको छ। जसमा अधिकांश कंक्रिटका घरहरू हुन्। 

भवन र अन्य कंक्रिट संरचनाले ढाँकिदै गएको काठमाडौंको भू-भाग। नक्साको टाइमलाइन सन् २००२ देखि २०११ सम्म। स्रोत : नेसनल ल्याण्ड कभर मोनिटरिङ, नेपाल सरकार।

तीव्र सहरीकरणसँगै जमिन ढाकिएकाले भारी वर्षा हुँदा पानीको बहावमा परिवर्तन आएकोले बाढीको जोखिम अझै उच्च भएको जलवायु विज्ञ श्रीकलम द्विवेदी बताउँछन्। 

‘अव्यवस्थित सहरीकरणले पानीको रनअफ (बहाब)मा पनि तीव्र परिवर्तन आएको छ’ उनी भन्छन्, ‘पहिले सोस्ने पानीभन्दा बग्ने पानीको मात्रा कम थियो। अहिले बग्ने पानीको अनुपात बढ्यो, सोस्ने पानी घट्यो। पानी पर्दाबित्तिकै त्यसले बाढीको रूप लिन थाल्यो।’ 

जोरपाटीको नारायणटार पुलको दाँयाबाया दुवैतिरको क्षेत्रमासन् २००३ माखाली फाँटहरू थिए भने सन् २०२२ सम्ममा यी ठाउँहरू पूर्ण रूपमा घर र कंक्रिटले भरिएको स्पष्ट देखिन्छ। यसमा प्रयोग गरिएका भू-उपग्रहका तस्बिर गुगल अर्थ प्रोबाट लिइएको हो।

सहरी बाढीको जोखिममा काठमाडौं
सहरीकरणसँगै काठमाडौं उपत्यका बाढी ग्रसित क्षेत्र बनेको र बाढीको उच्च जोखिममा रहेको वर्ल्ड बैंकले सन् १९८५ देखि २०२२ को सुरुसम्म संकलन गरेको विवरणले देखाएको छ। भविष्यमा सहरी बाढीको उच्च जोखिम रहेको र ठूलो जनधनको क्षति बेहोर्नुपर्नेसमेत विवरणमा देखिन्छ। 

जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी समूह (आइपीसीसी)ले २०२१ अगष्ट ९ मा सार्वजनिक गरेको नयाँ प्रतिवेदनले तात्दै गरेको पृथ्वीका कारण संसारभर बाढी र डढेलो उग्ररूपमा बढ्ने चेतावनी दिइसकेको छ।

सो प्रतिवेदनमार्फत वैज्ञानिकहरूले कुनै समय भारी वर्षाका कारण बाढी पहिरो र कुनै समय चरम खडेरीको सामना गर्नुपर्ने हुँदा मनसुनमा निर्भर दक्षिण एसियाको लागि चिन्ताको विषय हुनेसमेत बताएका छन्। विशेषगरी दक्षिण एसिया, पुर्वी एसिया र अफ्रिकामा मनसुनको मात्रा बढ्ने हुँदा ती क्षेत्रहरूले बाढीको सामना गर्नुपर्ने अनुमान छ। 

जलवायु परिवर्तनका कारण वर्षा प्रणालीमा परिवर्तन आएको छ। स्थानीय क्षेत्रमै बन्ने वायु प्रणाली र वर्षाको कारण अतिवृष्टि र खण्ड वृष्टिजस्ता घटनाहरू बढ्न थालेको जल तथा मौसम पुर्वानुमान महाशाखाको तथ्यांकले देखाउँछ। पछिल्लो समय नेपालमा छोटो समयमा भारी वर्षा हुँदा सहरी बाढी एवम् डुबान निम्त्याएको विभागकी वरिष्ठ मौसमविद् इन्दिरा कँडेल बताउँछिन्। 

‘दैनिक, मासिक र वार्षिक रूपमा वर्षाको स्वरूपमा परिवर्तन नदेखिए पनि पछिल्लो समय हामीले छोटो समयमा भारी वर्षा हुँदा बाढी र डुवानको समस्या भोगिरहेका छौं’ उनी भन्छिन्, ‘एक मिनेटमा २ मिलिमिटरका दरले आधा घण्टासम्म पानी परिरहे हामी भारी वर्षा भन्छौं, जुन बाढीको लागि पर्याप्त हुन्छ। यो वर्ष पानी परेन भने अर्को वर्ष पनि उस्तै हुन्छ भनेर ढुक्क बस्नुहुँदैन। पानी परेपछि स्थिति जे पनि हुन सक्छ।’

काठमाडौंमा आधा घण्टामा ३० मिलिमिटर बढि पानी पर्दा ह्वात्तै बाढी आउने र डुवान पर्ने देखिएको उनी बताउँछिन्। 

सन् २०१३ मा इन्जिनियरिङ अध्ययन (आइओई)की ईनु प्रधान सालिकेले गरेको 'सहरीकरण र जलवायुको असर : शहरी बाढी शीर्षकको शोध प्रतिवेदन'ले खाली जमिनको पानी सोस्ने क्षमता घट्दो दरमा रहेको निश्कर्ष निकालेको थियो। सोही अनुसन्धानले वर्षाका कारण सहरी क्षेत्रले भयावह बाढीको सामना गर्नुपर्ने देखाएको थियो। 

उपत्यकाको वर्तमान सहरी संरचना कायम रहेमा आगामी २५ वर्षको रिर्टन पिरियड (बाढीको फर्किने अवधि)मा ४० प्रतिशत बढि प्लुभियल फ्लड (वर्षाको पानीले निकास नपाउँदा निम्तिले सतही बाढी)को सामना गर्नुपर्ने सो सोध प्रतिवेदनमा उल्लेख छ।

जलवायु परिवर्तनले भइरहेको भारी वर्षा, शहरीकरणसँगै काठमाडौंवासीहरूले आगामी दिनमा बढ्दो बाढीको सामना गर्नुपर्ने शोधकर्ता प्रधान बताउँछिन्।

‘काठमाडौंमा खुला जमिन घटेकाले वर्षाको पानी कतै नअडिएर सिधै ढल मार्फत खोलानालामा जान्छ’ उनी भन्छिन्, ‘खोल्साखोल्सी, क्याचमेन्ट (जलगहण) क्षेत्रमा क्षणभरमै बाढी र गतिलो ड्रेनेज नहुँदा समथल ठाउँ जलमग्न हुन थालेका छन्। अहिले देखिएका स्थानमा भविष्यमा ठूला बाढी र डुबान घटना देखा पर्नेछन् भने अहिले नदेखिएका ठाउँमा पनि बाढी र डुबान देखिनेछ।’

गतिलो छैन ढलप्रणाली
अव्यवस्थित सहरीकरण मात्र नभई सहरभित्रको अव्यवस्थित ढल प्रणाली पनि बाढी र डुबानको अर्को कारक हो। बढ्दो बाढीको चपेटामा कपन क्षेत्रनभई काठमाडौं उपत्यकाको भित्री शहर पनि जोगिन सकेको छैन। पाटनक्षेत्र त्यसको उदाहरण हो।

उपत्यकाको पुरानो सहरमध्येको विश्व सम्पदासुचीमा सुचीकृत पाटन दरवार क्षेत्र र आसपासका क्षेत्रमा पानी पर्नासाथ बाढी र डुवान शुरु हुन्छ। मंगलबजार, पाटन दरबार क्षेत्र मात्रै होइन, सानेपा समेत बाढी र डुवानमा पर्छ। 

‘यो आजको होइन ५० वर्षदेखिको समस्या हो, केही वर्षयता ठूलो-ठूलो बाढी आउन थालेको छ’ पाटनका स्थानीय यज्ञरत्न शाक्य (७०) भन्छन्, ‘वर्षाको पानी बाढी बनेर घण्टौसम्म दुःख दिन्छ। भुकम्पपछि धेरै ठाउँमा बाटो भत्कियो, ढलफुट्यो। भत्किएको ठाउँमा हेरफेर गरिएन, मर्मत भएन।’

वरपरका बस्तीभन्दा उचाइमा रहेको पाटन र मंगलबजार क्षेत्रमा वर्षाको पानी खोला र नदिसम्म पुग्नै समय लाग्छ। ढल तथा नाली साँघुरो हुन्छ अनि त्यसमा जम्ने फोहोरले पानीको निकास नपाउँदा डुवान हुन्छ।

पाटनका स्थानीय यज्ञरत्न शाक्यका अनुसार, २०७२ सालको भूकम्प अघिसम्म पाटन बजारमा बाढी र डुबानको उग्र समस्या थिएन। भूकम्पले घरमात्रै भत्काएन, पानीको निकास हुने जमिनमुनि भएको नाली र ढल प्रणाली समेत खल्बल्यायो। 

‘जहिले बाढी र डुबान हुन्छ। भित्री गल्लीका पसलहरूमा पानी पस्छ’ उनी भन्छन्, ‘लाखौंको सामान नष्ट हुन्छ। बाँटो जति बनाएपनि बिग्रिन्छ। पानी सुकेपछि ढलको दुर्गन्ध आउँछ, धुलो उडेर सास्ती हुन्छ।’

शाक्यका अनुसार भूकम्पअघि लगनखेलको चारदोबाटोमा बाटो बनाइएको थियो। बाटो बनेको क्षेत्रमा ठूला ढल राखिएपनि अन्यत्र ढलहरू छैनन्, भएका पनि साना छन्। ढलको पाइपमा वर्षाको पानी नअटेर बाहिर निस्कन्छ। विभिन्न कुनाकाप्चाबाट निकास भएको पानी लगनखेल, कुमारीपाटी, मंगलबजार, पाटन दरबार, मानकाल, बंगलामुखीसम्मको सडक, गल्ली छिचोल्दै बाग्मतीसम्म पुग्न नपाउँदै बाढीको रूप लिन्छ। 

काठमाडौं उपत्यका विकास प्राधिकरणमा कार्यरत परामर्शदाता इन्जिनियर प्रेम श्रेष्ठ उपत्यकाका कतिपय ठाँउमा बाढी आउनुमा ढललाई कारक मान्छन्।

‘उपत्यकाभित्र रहेका अधिकांश ढलहरू आफैँमा जीर्ण छन्। साँघुरा छन्, मर्मत हुँदैनन्’ उनी भन्छन्, ‘सडकमा थुप्रिएको फोहोर वर्षाको पानीले बगाएर ढल जाम गरिदिन्छ। ढल सफाई हुँदैन। ढल सफा गर्दा पाइपभित्र हेल्मेट, फोहोरका बोरा, फलामका टुक्रा, विभिन्न किसिमका कंकालहरू पनि भेटिन्छन्। अनि ढलबाट पानी बग्दैन र बाढी बनेर बाहिर निस्कन्छ।’

ढलका कारण बारम्बार डुबान पर्ने मैतिदेवी मोडनजिक ढल विस्तार गरिँदै।

वर्षाको पानी निकासका लागि सडकको दायाँबायाँ नालीहरू बनाइन्छ। तर, कतिपय सडकहरूमा नाली नै देखिँदैन। भएका नालीहरू पनि साँघुरा र फोहोरले भरिएका छन्। केही दशकअघिको सहरीकरण र वर्षामा हुने बाढीको अनुमान अनुसार निर्मित नालीहरूले अचेलको भारी वर्षा थेग्न सक्दैनन्।

भएकाहरूको पनि नियमित मर्मत गरिएको छैन। होचो स्थानमा बनेको सडकमै पानी जम्मा हुन्छ। निकास नपाएर जम्ने पानीले सडकको आयुसमेत घटाउँछ।

करोडौंको क्षति
नेपालमा सहरी बाढीले के कति क्षति गर्यो भन्नेबारे कुनै अध्ययन भएको देखिँदैन। प्रहरीले तयार पार्ने विवरण र अनुमानलाई नै क्षति मान्ने गरिएको छ। गत साउन २५ गते काठमाडौं र भक्तपुर सिमाना भएर बग्ने मनोहरा खोलामा आएको बाढी बस्तीमा पस्यो। बाढीबाट ६५ लाख रुपैयाँभन्दा बढी क्षति भएको भक्तपुर परिसरले जनाएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयले उपलब्ध गराएको पछिल्लो पाँच वर्षको तथ्यांकअनुसार बाढी र डुबानका कारण ललितपुरमा १०, काठमाडौं र भक्तपुरमा ८ जनाले ज्यान गुमाएका छन्। 

काठमाडौंमा मात्र १ करोड ७२ लाख ८० हजार बराबरको भौतिक क्षति भएको छ भने भक्तपुरमा ७६ लाख ७८ हजार २ सय बराबरको भौतिक क्षति पुगेको छ। काठमाडौंमा आर्थिक वर्ष २०७५/७६ मा मात्र १ करोड ५७ लाख बराबरको भौतिक क्षति भएको थियो। 

डुवान र बाढीको क्षतिबारे जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उपलब्ध गराएको तथ्यांकअनुसार सन् १९७१ देखि २०१९ सम्म काठमाडौंमा ५७ पटक बाढीका घटना भएका थिए। जसमा ४२ जनाले ज्यान गुमाएका थिए भने १३ जना घाइते भएका थिए। झन्डै २ हजार मानिस प्रभावित बनेका थिए। क्षतिको यस्तो विवरण हामीले ‘क्राउड सोर्स’मार्फत पत्ता लगाएका क्षेत्रबाहेकको हो।

बाढी र डुबानबाट प्रत्यक्ष रूपमा हुने क्षति बाहेक अरु अप्रत्यक्ष क्षतिको कुनै हिसावकिताव छैन। तर, हालको अवस्था हेरि ढुक्क बस्दा भविष्यमा काठमाडौं सहरले ठूलो क्षति बेहोर्नुपर्ने जलवायु विज्ञ द्विवेदी बताउँछन्। 

‘काठमाडौंमा पहिले बाढीबाट मान्छे मर्ने, भौतिक क्षति भएको खासै सुनिएको थिएन। हामीले अहिले पनि ठूलोखालको बाढी भोग्नुपरेको छैन।अहिलेको अवस्थालाई हल्का रूपमा लिएका छौं’ उनी भन्छन्, ‘यदि सन् २०१३ मे २३ मा झैं २ घण्टामा ८६.६ मिलिमिटर पानी काठमाडौंमा फेरि पर्याे भने स्थिति के होला? भविष्यमा ठूलो बाढी आउने निश्चित छ। अव्यवस्थित बस्ती विकास र अहिलेको अवस्थाले हामीले भविष्यमा क्षतिको ठूलो सम्भावना देखिन्छ।’

आइओई आर्किटेक्चर विभागका सह-प्राध्यापकसमेत रहेका उप्रेती पनि जलवायु परिवर्तनको कारण भइरहेको वर्षाको असमान वितरण, वर्षाको आकार, अव्यवस्थित ढलले निम्तिने बाढीको ठूलो मूल्य काठमाडौं र अब बन्दै गरेका सहरले चुकाउनुपर्ने बताउँछन्।

‘विकसित मुलुकका सहरले पनि पूर्वतयारी अपनाउँदा अपनाउँदै बाढीको सामना गर्छन्। कम क्षति बेहोर्छन्,’ उनी भन्छन्, ‘हाम्रा सहरमा भने आफ्नै कारणले भविष्यमा ठूलो मूल्य चुकाउनुपर्ने जोखिम छ।’

छिमेकी मुलुक चीनले विगत २० वर्षमा सहरी बाढीका कारण ४४.५ बिलियन डलर बराबरको क्षति बेहोर्नुपरेको फोर्ब्सले उल्लेख गरेको छ। तीव्ररूपमा गरेको सहरी विकास र जलवायु मापदण्ड अनुसरण नगर्दा भोग्नुपरेको दुगर्तिको रूपमा चीनको सहरी बाढीलाई उदाहरण मानिन्छ। 

‘हामीलाई थाहा छैन’ 
ठूलो पानी परे उपत्यकाका सहरी क्षेत्रका अधिकांश ठाँउमा डुवान हुन्छ। अहिलेसम्म कुनैपनि सरकारी निकायले यस्ता समस्याको पहिचान गर्न खोजेको देखिएन। मुलुकमा विपद् व्यवस्थापन नियन्त्रणका लागि काम गर्ने राष्ट्रिय स्तरको विपद् व्यवस्थापन प्राधिकरण छ।

स्थानीय मन्त्रालय, शहरी विकास मन्त्रालय, उपत्यकामा मात्र केन्द्रित काठमाडौं उपत्यका विकास प्राधिकरणजस्ता निकाय छन्। यी निकायसँग अहिलेसम्म काठमाडौंमा डुवान भइरहने ठाउँहरू र त्यसको क्षतिको लेखाजोखा गरेको फेला परेन।

मुलुककै ठूलो संरचना भएको काठमाडौं महानगरपालिकासँग पनि वर्षेनी हुने बाढी र डुवानको कुनै विवरण छैन। कहाँ-कहाँ ढल बिग्रेका छन्, कुन क्षेत्रमा ढल मर्मत भयो र कुन ठाँउमा ढल छैन, समग्रमा उपत्यकाका ढलको अवस्थाके छ भन्नेबारे काठमाडौं उपत्यका खानेपानी लिमिटेड, ढल महाशाखासँग पनि कुनै तथ्यांक छैन। 

सरकारी निकायमा यथार्थ विवरण र तथ्यांक कतै नभेटिएपछि सिडिजेएनसँगको सहकार्यमा क्राउड सोर्स विधिमार्फत हामीले त्यस्ता घटनाका सामग्री अनलाइन तथा सामाजिक सञ्जालबाट खोज्यौं। खोजबाट संकलित सामग्रीको आधारमा तयार पारिएको तथ्यांकले देखाएअनुसार काठमाडौंका मुख्य सडक र स्थानमा मात्र तीन दर्जनबढी क्षेत्र बारम्बार डुबान र बाढीको चपेटामा छन्।

काठमाडौं, ललितपुर र भक्तपुरभित्रका सन् २०११ देखि २०२२ अगष्टसम्म भएका बाढी र डुबानका दृश्य इन्टरएक्टिभ नक्सामा। गोलो घेराको थोप्लोमा क्लिक गरी प्रभावित क्षेत्रको दृश्य हेर्नुहोस्।

यस खोज रिपोर्टमा झण्डै २०० वटा भिडियो तथा फोटोका सामग्रीलाई विश्लेषण गरी ५९ वटा बाढी र डुबान प्रभावित स्थानहरूको पहिचान गरिएको छ। नक्साङ्कन : तथ्यांक पत्रकारिता केन्द्र, नेपाल।  

यीमध्ये कपन, माकलबारी, नख्खु, बौद्ध, जोरपाटी, जमल, पुतलीसडक, चाबाहिल, विष्णुमति क्षेत्र, राधेराधे, मध्यपुर ठिमी, कालोपुल, पाटन, मंगलबजार क्षेत्र निरन्तर बाढी र डुवानमा पर्ने क्षेत्रहरू भएको फेला पारेको छ। 

कपन, माकलबारी, नख्खुजस्ता क्षेत्रमा केही वर्षयताको तीव्र बस्ती विकासका कारण डुवान र बाढी बढ्दो छ। प्राकृतिक निकासमा भएको अवरोधले राधेराधे, मनोहरा, बल्खु लगायत क्षेत्रमा पनि यस्तै समस्या छ। पाटन, मंगलबजार, जमल, पुतलीसडकजस्ता भित्री क्षेत्रमा कमजोर ढल प्रणालीको कारण डुबान बढ्दो छ। 

राजधानीको सहरी विकास र पूर्वाधारको क्षेत्रमा नीतिगत योजना बनाउने काठमाडौं उपत्यका विकास प्राधिकरणमा कार्यरत परामर्शदाता इन्जिनियर प्रेम श्रेष्ठ उपत्यकाका कतिपय ठाँउमा बाढी आउनुमा कमजोर ढल विकासलाई कारक मान्छन्। 

उनका अनुसार, काठमाडौंको सहरी विकाससँग सरोकार राख्ने सबैजसो निकायले धेरथोर ढलसम्बन्धी सबै काम गरेपनि उनीहरूबीच समन्वयको अभाव छ। कतिपय विषय एकअर्कालाई थाहा समेत हुँदैन। समस्या समाधानको योजनाबारे सोध्दा ढल महाशाखाले जवाफ दिन सक्दैन। 

विपद्विरुद्ध गलत तयारी
कपनमा बाढीले निम्त्याउने समस्या समाधानका निम्ति काठमाडौं उपत्यका विकास प्राधिकरणको सहयोगमा बुढानीलकण्ठ नगरपालिकाले यज्ञमती खोलामा बनेको सडकमुनिका ह्युमपाइप झिकेर बक्स कल्भर्ट निर्माण गरिरहेको छ। दुवैतिर निर्माणाधीन बक्स कल्भर्ट झण्डै साढे २ किलोमिटर लामो छ। हिउँदमा ह्युमपाइपमार्फत ढल बग्ने यज्ञमती खोलामा वर्षापछिको बहाव र पानीको मात्रा बढेपछि बाढी बाहिरतिर निस्कन्छ र बस्तीमा पुग्छ।

बाढी रोक्न सरकारले बनाइरहेको बक्स कल्भर्टले आसपासका भवन एवम् अन्य संरचनामा बाढी पस्ने जोखिम हुन्छ। 

खोलालाई दायाँबाया थुनेर बगाउनु आफैँमा गलत भएको र त्यसले भविष्यमा झनै ठूलो बाढी ल्याउने सिनियर स्ट्रक्चरल इन्जिनियर रवि शर्मा भण्डारी बताउँछन्।

‘खोला र नदीलाई कल्भर्टभित्रबाट थुनेर बगाउनु गैर कानुनी, प्रकृतिविरुद्ध र गलत इन्जिनियरिङ अभ्यास हो’ उनी भन्छन्, ‘बाढी र डुवान नियन्त्रण गर्न भन्दै यस्तो बनाइएको भएपनि यसले झनै भयावह समस्या ल्याउँछ। खोला छोपेर केहि गर्न पाइँदैन।’ 

सुनकोशी मरिन डाइभर्सन लगायत विभिन्न आयोजनाको डिजाइनमा संलग्न इञ्जिनियर भण्डारीका अनुसार, नियन्त्रित रूपमा पानी निकास गर्न सम्भव हुने ठाँउमा मात्रै यसरी संरचना बनाइन्छ। 

उनी भन्छन्,‘नियन्त्रित रूपमा प्रवाह गर्न नसकिने नदी र सानोतिनो खोला-खहरेको पानी बक्स कल्भर्टमा अट्दैन। तत्काल अटेपनि कुनै न कुनै समयमा विस्फोट हुन्छ र सतहमा क्षति पुर्यातउँछ। पानी नियन्त्रण गर्ने संयन्त्रविना बक्स कल्भर्ट निर्माण गर्न पाइँदैन।’ 

तर कपनमा खुला खोलालाई नियन्त्रित संरचना बनाएर थुनिएको देखिन्छ।
 

ह्युमपाइप चोकदेखि धोबीखोलासम्म निर्माणाधिन बक्स कल्भर्ट। यज्ञमती खोलामा पनि यस्तै किसिमको बक्स कल्भर्ट निर्माण भइरहेको छ।

उर्जा तथा जलस्रोत मन्त्रालयका इन्जिनियर सरोज कार्कीको विचारमा नदी वा खोलामा ह्युमपाइप वा बक्स कल्भर्ट राख्ने विभिन्न अभ्यास भएपनि हचुवामा खोला मिचेर संरचना निर्माण गर्नु गलत हो। 

‘पानी आफैँमा चलायमान भएकोले जसोतसो खोला या नदीमै पुग्ने हो। भारी बाढीपछि माथिल्लो भेगमा पानीको चाप कम तल्लो भेगमा बढी असर गर्छ’ उनी भन्छन्, ‘स्थानीय क्षेत्रको माग, त्यो क्षेत्रको भौगोलिक आकार र बाढीको अनुमानका आधारमा डिजाइन एवं निर्माण गर्न सकिन्छ। पानीको बहावले दायाँबायाँ क्षति नपुर्याओस् भनेर कल्भर्ट निर्माण गर्नुपर्छ। तर, खोला मिचेर होइन।’

सरकारले भूकम्प, बाढी, पहिरो र आगलागीलाई विपद्को रूपमा पहिचान गरेको छ। मुलुकमा संघीय प्रणाली लागू भएपछि हरेक स्थानीय तहले विपद् व्यवस्थापन सम्बन्धी योजना बनाई त्यसको कार्यान्वयन गर्नुपर्ने अधिकार तोकिएको छ। 

सरकारले विपद् व्यवस्थापन ऐन, सहरी ऐन २०१९, भुउपयोग ऐन २०७७, सहरी विकास नीति आदिका माध्यमबाट पनि विपतको जोखिम कम गर्न सकिन्छ। त्यसैगरी काठमाडौं उपत्यका विकास प्राधिकरणले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपि)को सहयोगमा भुउपयोग ऐन २०७७ बमोजिम बहुविपद् जोखिमयुक्त भुउपयोग जमिनको पहिचान गरेको छ। 

सहरी बाढीप्रति आफूहरू सचेत रहेपनि हालसम्म कुनै कार्यक्रम सञ्चालन नभएको सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक सुरेन्द्र मोहन श्रेष्ठ स्वीकार्छन्। 

उनी भन्छन्, ‘सहरी बाढीप्रति हामी सचेत छौं तर त्यसलाई सम्बोधन गर्ने खालका कुनैपनि कार्यक्रम सञ्चालन भएका छैनन्। यसबारे स्थानीय सरकारको बुझाई फरक भएकोले समन्वय हुन सकेको छैन।’

विपद्को जोखिम न्यूनीकरण गर्न कानूनी पूर्वाधारहरू रहेपनि तिनको कार्यान्वयन हुन नसकेको सहरी योजनाविद् एवं सह प्राध्यापक उप्रेती बताउँछन्। बाढीजस्तो विपद्सँग जुध्न एकीकृत मापदण्ड आवश्यक रहेको भन्दै उनले सहरी बाढीको सन्दर्भमा सरकारसँग एकीकृत नीति नै नभएको औँल्याउछन्। 

‘विभिन्न नीति तथा ऐनहरू बनाएपनि बहुविपद्लाई एकसाथ सम्बोधन गर्ने किसिमका मापदण्डहरू नै बनेका छैनन्’ उनी भन्छन्, ‘जोखिम संवेदनशीलताको आधारमा कुन क्षेत्रमा के विकास गर्ने भन्नेबारे कुनैपनि निकाय गम्भीर छैनन्। जबसम्म ऐन र नीतिले बोलेको विषयवस्तु गम्भीर रूपमा मापदण्डमा आउँदैन र लागू हुँदैन तबसम्म हामी विपद्बाट जोखिममुक्त रहन सक्दैनौं।’

समाधान के होला ?

लेखक पद्म सुन्दर जोशीद्वारा लिखित ‘हिती प्रणाली’ नामक पुस्तकमा बाढीको सामना गर्न प्राचीन काठमाडौंमा पोखरीहरू प्रयोग हुनेबारे उल्लेख गरेका छन्। अहिलेको सहरी अवस्थामा पोखरी उचित विकल्प नभएपनि वर्षाको पानी जमिनमा पुर्याउने तरिका(रेनवाटर हार्भेस्टिङ) र प्राकृतिक निकास नै सहरी बाढीको समाधान हुने जोशी बताउँछन्। 

उनी भन्छन्, ‘प्राकृतिक रूपमा निकास हुने पानीको बाटो खाली नगराएसम्म बाढीले दु:ख दिइरहन्छ। प्राविधिक र आर्थिक क्षमता अनुसार भू-उपयोग योजना बनाउने र यससम्बन्धी बनेका मापदण्डलाई कडा रूपमा लागू नगरेसम्म समस्या यस्तै रहन्छ।’

सन् १९५० देखि ६० को दशकमा कमजोर ढल व्यवस्थापन, तुफान आदीजस्ता मानवीय एवम् प्राकृतिक विपद्का कारण बाढीको चपेटामा पर्ने जापानले बाढी नियन्त्रणका लागि प्रभावकारी रूपमा पोखरीजस्तै भूमिगत टनेल प्रणालीको विकास गरेको थियो। ‘फ्लड डिटेन्सन पन्ड्स’को नामले चिनिने ती पोखरीहरू बाढीको लागि प्रभावकारी हुने विज्ञहरू बताउँछन्।

‘काठमाडौंमा पोखरीमार्फत बाढी नियन्त्रण गर्न चुनौतीपूर्ण भएपनि असम्भव भने छैन’ नास्टका पूर्व उपकुलपतिसमेत रहेका वैज्ञानिक जीवराज पोख्रेल भन्छन्, ‘नयाँ पोखरी बनाउन स्थान अभाव भएपनि हामीसँग भएका पोखरीहरूलाई सरकारले वर्षा हुनुअघि खाली गराएर वर्षाको पानी त्यहाँ जम्मा गर्न सकिन्छ। र बाढी पस्ने क्षेत्रमध्ये कुनकुन स्थानमा पोखरी राख्दा उचित हुन्छ त्यसको आँकलन गरी पोखरी बनाउनु उचित हुन्छ।’

काठमाडौंको हकमा हरेक चार रोपनी क्षेत्रमा २० फुट फराकिलो, ४ फिट गहिरो पोखरी बनायो भने त्यहाँ ३० प्रतिशत बाढी रोक्नसक्ने नाष्टका वैज्ञानिक पोख्रेल बताउछन्। 

‘पोखरी बनाउँदा अन्य दुर्घटना हुन नदिन उचित अध्ययन गर्नुपर्छ’ उनी भन्छन्, ‘यसरी प्राकृतिक रूपमा समाधान खोज्नु नै उचित विकल्प हो।’

यस्तै, इनु प्रधान पनि सहरी बाढी र डुवान नियन्त्रणको लागि प्राकृतिक समाधानको रूपमा पोखरी वा जलासय उचित विकल्प हुने बताउँछिन्। 

‘नेपालमा चार महिना वर्षायामको अवधिमा ८० प्रतिशत पानी पर्छ। हरमा कंक्रिट, पेभिंग, सडक र ढलमार्फत सबै पानी जमिनभित्र जान पाउँदैन,’ उनी भन्छिन्, ‘कतिपय मुलुकहरूले पनि बाढी नियन्त्रणको लागि अस्थायी रूपमा जलाशय र पोखरीहरू बनाएका हुन्छन्।

काठमाडौंमा पहिलेका पोखरीहरूलाई ब्युँताउन नसकिएपनि पनि पार्क, खाली स्थानलाई अस्थायी जलाशय निर्माण गरी बाढी नियन्त्रण गर्न सकिन्छ।’ 

कतिपय ठाँउमा वर्षायाम सुरु हुनुअघि पम्प लगाएरै ढलहरू सफा गर्ने चलन हुन्छ। बाढी र डुवान नपरोस् भनेर उनीहरूले पूर्वतयारी गरेका हुन्छन्। कमजोर ढल व्यवस्थापनका कारण निम्तिने बाढीबाट बच्न वर्षायाम सुरु हुनुअघि ढल सफाई र मर्मतमा ध्यान दिनुपर्ने भन्दै उनले ब्राजिलको रियो दी जेनेरियो सहरले अपनाएको बाढी प्रतिरोधी जलाशय, चीनले जस्तो प्राकृतिकस्पन्ज सिटीको अवधारणामार्फत केहि हदसम्म बाढीबाट जोगिन सकिने बताइन्।

जलवायुविद् द्विवेदी पनि सहरीबाढी समाधानका लागि प्रधान, उप्रेती र प्रोखेलले दिएका उपायमा सहमत हुँदै भविष्यमा हुने बाढीको जोखिम न्युनीकरणका लागि सम्बन्धित निकायहरू चनाखो हुनुपर्ने बताउँछन्। 

काठमाडौंको त नराम्रो अनुभव भैहाल्यो। कमसेकम सहरोन्मुख नगरहरूले उचित योजना बनाउन सिक्नुपर्छ’ उनी भन्छन्, ‘नगरहरूले घरको नक्सा बनाउँदा आकाशे पानीबारे पनि सोचेर नक्सा बनाउनुपर्छ। पानीको निकासका लागि गहन अध्ययन गरेर योजना बनाउनुपर्छ। क्षति बेहोर्ने कि पूर्वतयारी अपनाउने भन्नेबारे सोच्नुपर्छ।’

-यो रिपोर्ट सेन्टर फर डाटा जर्नालिज्म नेपाल (सिडिजेएन)को सहकार्यमा तयार पारिएको हो 

२४ भदौ, २०७९, १८:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।