मकाउबाट नेपाल आएको छोरालाई प्रहरीले एयरपोर्टमै पक्राउ गरेर लगेपछि स्वागतमा गएका परिवार हेरेको हेर्‍यै

मकाउबाट नेपाल आएको छोरालाई प्रहरीले एयरपोर्टमै पक्राउ गरेर लगेपछि स्वागतमा गएका परिवार हेरेको हेर्‍यै

काठमाडौं : ‘अपराह्न ३ बजे तिमीहरूले खोजेको मान्छेको अराइभल टाइम छ एयरर्पोटमा।’

इन्टरपोलले मानव बेचविखन अनुसन्धान ब्यूरोलाई जानकारी दियो। मानव बेचविखनको टोली सोही अनुसार एयरपोर्ट क्षेत्रमा खटिएको थियो। भनेकै समयमा जहाज उत्रियो पनि। 

कालो टिसर्ट र पेन्ट लगाएका युवक छिटो–छिटो लम्किए। प्रहरीले उनलाई पक्राउ गरिहाल्यो। बाहिर ती युवकका परिवारले तयारी राम्रै गरेका थिए। प्रहरीले उनी नेपाल आउने बित्तिक्कै पक्राउ गर्छ भन्ने थाहा थियो।

‘ट्याक्सी तयारी अवस्थामा थियो,’ मानव बेचिविखन अनुसन्धान ब्यूरोका प्रवक्ता दानबहादुर मल्लले भने, ‘युवकका बुवासहित अन्य आफन्त पनि लिन आएका थिए।’

२०७५ माघ महिनामा लमजुङका दुई जनासहित अन्य थुप्रैलाई इटली हुँदै क्यानडा पुराइदिने सपना देखाएर मानव बेचविखन गरेको गम्भीर आरोप लागेका प्रमुख नाइके नारायण अधिकारी आउँदै थिए हङकङको मकाउबाट।

उनीविरुद्ध २०७६ सालमा ब्यूरोमा जाहेरी परेको थियो। लिबियामा आफ्नो छोरा सन्तोष श्रेष्ठ गुमाएका लमजुङ चितीका सोमप्रसाद श्रेष्ठले अधिकारी र उनको परिवारविरुद्ध जाहेरी दिएका थिए।

ब्यूरोको प्रवक्ता मल्लले दिएको जानकारीअनुसार नारायण मकाउमा बसेर उनका आफन्त श्रीमती सालो र भाइहरूलाई नेपालमा परिचालन गराउँदै आएका थिए। माइकलले भनेअनुसार उनीहरूले विदेश जान खोजेकालाई आफूहरू मार्फत लैजाने र दाइ मकाउमा भएकाले सहज हुने भन्दै रकम असुली गर्थे।

नारायणका आफन्त पक्राउ परि धरौटीमा रिहा भइसकेका हुन् भने मंगलबार पक्राउ परेका नारायणको बुधबार काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस छ। थुनछेक बहसले नारयणलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा रिहा गर्ने टुंगो लाग्छ।

०००

प्रहरी प्रधान कार्यालयका अनुसार लमजुङ दोर्दी गाउँपालिका–१ भर्तेका अधिकारीको नाममा मानव बेचविखन ब्यूरोको अनुरोधमा इन्टरपोल सचिवालयबाट रेड नोटिस जारी भएको थियो। सोही आधारमा इन्टरपोल मकाउको समन्वयमा उनी मकाउमा पक्राउ परेपछि नेपाल ल्याइएको थियो।

अधिकारीमाथि मासिक १ लाख ५० हजार रुपैयाँ तलब हुने गरी क्यानेडियन कम्पनीमा रोजगारी मिलाइदिने भनी पीडितहरू मार्फत २५÷२५ सय डलर र पासपोर्ट समेत लिएर इटाली लाने भन्दै लिबियामा अलपत्र पारेको आरोप छ।

'महिनाको डेढ लाख तलव भन्थ्यो, लिबिया लगेर २ हजार डलरमा बेचिदिएछ'

इटली भनेर लिबिया पूर्याउने मानव तस्करीका आरोपी माइकललाई मकाउमा इन्टरपोलले समातेर नेपाल पठायो

उनले पीडितहरूबाट पुनः ३ लाख रुपैयाँ आफ्नो श्रीमतीको बैंकको खातामा जम्मा गर्न लगाइ लिबियाको शरणार्थी क्याम्पमा राखेको अवस्थामा लिबियास्थित नेपाली सेनाको शान्ति सेना मिसन, इजिप्टस्थित नेपाली राजदूतावास र आईओएमको समन्वयमा पीडितहरूलाई नेपाल फिर्ता ल्याइएको थियो।

माइकल भनिने नारायण अधिकारीले भाइ नवीन अधिकारी र सालो शतिस घिमिरेमार्फत जसरी पनि विदेश जान तयार हुने व्यक्ति खोज्न लगाउने गरेका थिए। उनको भाइ नवीन सशस्त्र प्रहरीको सइबाट अवकाश लिएका थिए।

उनीहरूले इटाली लैजाने भन्दै लिबिया पुर्याइएका तीन नेपालीको ज्यान जोगियो। एक जनाको ज्यानै गएको थियो।। स्वदेश फर्किएका तीन जनामध्ये एक जना प्रहरीको सम्पर्कमा पुगेर यी तीन जनाको संलग्नता खुलाएका थिए।

एक पीडितले प्रहरीमा दिएको बयानअनुसार उनीहरूलाई मकाउमा रहेका माइकलले चोर बाटोबाट इटली पुर्याउने आश्वासन दिएर लिबिया पुर्याएर अलपत्र छाडेका थिए।
फेसबुकबाट सम्पर्कमा आएका माइकलले दिनेश बस्नेत, राजीव गुरुङ र नेत्र भट्टराईलाई विभिन्न देश हुँदै इटली पुर्याउने आश्वासन दिएका थिए। इटली पुग्दा १० लाखसम्म खर्च हुने भन्दै उनले फकाएका थिए।

उनीहरू २०७५ माघ २ गते काठमाडौंबाट दुबईका लागि उडेका थिए। दुबईमा एक महिना राखेर उनीहरूलाई ट्युनिसिया पु¥याइएको थियो। ट्युनिसियाबाट द्वन्द्वग्रस्त मुलुक लिबियाको राजधानी त्रिपोली पु¥याए। त्रिपोली पुगेपछि उनीहरूले आफू फसेको चाल पाए।

उनीहरू २ दिनको नाउ यात्रा गरेर इटलीको बोर्डर नजिक पुगे पनि इटलीमा छिर्न सकेनन्। तेल सकिएर अलपत्र परेका उनीहरूलाई पानी जहाजले उद्धार गरेर लिबियामा छाडिदिएको थियो। उनीहरूले लिबियाको विद्रोहीको कब्जामा परेर ३६ दिन विद्रोहीको क्याम्पमा यातना पाए। बल्लतल्ल अन्तर्राष्ट्रिय शरणार्थीसम्बन्धी संस्थाको सहयोगमा ट्राभल डकुमेन्टको आधारमा स्वदेश फर्किएका थिए।

१५ भदौ, २०७९, १३:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।