'महिनाको डेढ लाख तलव भन्थ्यो, लिबिया लगेर २ हजार डलरमा बेचिदिएछ'

'महिनाको डेढ लाख तलव भन्थ्यो, लिबिया लगेर २ हजार डलरमा बेचिदिएछ'

काठमाडौँ : इटाली जाने लोभमा द्वन्द्वग्रस्त मुलुक लिबिया पुगेका लमजुङ बेशीसहरका दिनेश बस्नेतले पाउनुसम्म यातना पाएर नेपाल फर्किएका थिए। लिबियामा विद्रोहीको कब्जा, हिरासत, समुद्रको बीचमा तेल बिनाको डुंगा यात्रा, कपडा नहुँदा बोरा ओढेर सुत्दाको सकस के चैँ भोगेनन् र उनले।

उनलाई इटलीको प्रलोभन देखाएर जसले लिबिया पूर्याएको थियो उसलाई मंगलबार इन्टरपोलले मकाउबाट पक्राउ गरेर नेपाल पठाएको छ।

अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोगमा नेपाल आइपुगेका उनले तीन वर्ष अगाडि प्रजु पन्तसँग आफ्नो ६ महिना लामो यातनाको इतिवृत्ति बताएका थिए। दिनेशले तीन वर्ष अगाडि खुलाएको विवरणको सम्पादित अंश :
०००
प्लस टुसम्म पढेको थिएँ। घरको आर्थिक अवस्था ठीकै भए पनि विदेश जाने हुटहुटी थियो। विदेश जाने उपाय खोज्दै बसेँ। विदेश गए ड्राइभिङ गर्नुपर्ला भनेर ड्राइभिङ पनि सिके। 

सकेसम्म पोर्चुगल या पोल्यान्ड जाने सोच थियो। त्यता जान २ पटक भारत पुगेर अन्तर्वार्ता पनि दिएँ तर फेल भएकाले जान पाइन। 

एक जना आफन्त लिबिया गएका थिए। उनको कमाइ राम्रो छ भन्ने सुनेको थिए। हङकङ बस्ने लमजुङ भोटेओडारका माइकल अधिकारी भनिने नारायण अधिकारीले विदेश पठाउँछन् भन्ने सुनेँ। फेसबुकमा खोजेको फेला परे। फेसबुकमै कुरा हुन थाल्यो। 

उनले सुरुमै ‘तिम्रो भविष्य मेरो जिम्मा भयो’ भन्दै ‘महिनामा डेढ लाख रुपैयाँसम्म कमाइ हुन्छ म मिलाउँछु’ भने। म ढुक्क भएँ। पैसा ८ लाख भए पुग्ने बताए। 

उनले ‘लिबियाको नजिकै इटाली पर्छ,  इटालीको अप्सन पनि छ, मिले उतै जानुपर्छ’ भनेका थिए। माइकलको सालो सतीश घिमिरे दुबईमा बस्ने रहेछन्। माइकलले उनैले सबै काम गर्छन् भनेका थिए। सतीशको घर हेटौँडा रहेछ। 

माइकले भिजिट भिषामा दुबई बोलाए। एक महिनाको दुबईको भिषा लाग्यो। इस्टवेस्ट ट्राभलबाट दुबईसम्म जाने भयौँ। १६ जनवरी, २०१९ (२०७५ माघ २) मा नेपालबाट उड्यौँ। 

दुबईको एयरपोर्टमा सतीश लिन आए। उनले सिधै दुबईको अल्याण्ड सिटीमा लगेर राखे। त्यहाँ सानो रुम थियो। त्यो रुममा पहिलो ग्रुपमा ३०-४० जना बसेका रहेछन्। हामी ५ जना थियौँ। माइकलका दाइ नवीन अधिकारी, साला सतीश घिमिरे र म सहित ३ जना।

दुबई पुगेको एक हप्तापछि माइकलले भिडियो कलमार्फत् पैसा माग्यो। कामको लागि लिबिया राम्रो छैन भनेर दुबईमा बस्दा थाहा भयो। दुबईका साथीहरुले राम्रो छैन, नजा भनेका थिए। 

मैले सतीशलाई ‘लिबिया त राम्रो छैन रे’ भनेँ। उनले ‘अरुको कुरा नसुन, म वर्किङ भिसा लगाउँदैछु’ भन्थ्यो। 

एक दिन ‘सतीशले भिषा आउन पैसा चाहिन्छ’ भन्दै सुरुमा ५ सय डलर मागेको थियो। दोस्रो पटक १ हजार डलर र तेस्रो पटक १५ सय डलर माग्यो। माइकलले हामीलाई नेपालमै छँदा केही डलर बोक्नु भनेर सिकाएको थियो। त्यही दिए।

इटली भनेर लिबिया पूर्याउने मानव तस्करीका आरोपी माइकललाई मकाउमा इन्टरपोलले समातेर नेपाल पठायो

लिबियामा चुनाब हुन लागेकाले कामको संकट भएको र भिषा लाग्ने बेलासम्म त्यो अवस्था नरहने बताए माइकलले। दुबईमा वर्किङ भिसा लागे पनि त्यही ८० हजार, उता गए त डेढ लाख भन्ने लाग्यो। मौका पाए इटाली पनि जान सकिने!

दुबईमा गएपछि नवीन अधिकारीसँग भेट भएको थियो। २०-२५ दिनसम्म केही कुरा भएन। एक दिन नवीनलाई माइकल भनेको कस्तो मान्छे हो भनेर सोधे।  

नवीनले म आफैँ पनि लिबिया जान लागेको हो। को हो त्यो चिन्दिनँ भने। 

लिबिया पुगेपछि नवीन र माइकल दाजुभाई भएको खुल्यो। एक महिनाको दुबईको बसाइपछि फेब्रुअरी १६ (फागुन ४) मा लिबियाको भिजिट भिसा आयो। 

सतीशलाई वर्किङ भिषा किन नआएको भनेर सोधे। उनले ‘उतै गएर काम गरेपछि लाग्छ भने। त्यही दिन प्लेनमा लिबियातिर लागियो।
चार घण्टाको यात्रापछि ट्युनिसियामा पुगियो। त्यहाँ २० घण्टाको ट्रान्जिट थियो। १८ घण्टाको प्लेन यात्रापछि लिबियाको मुसरता एयरपोर्टमा पुगियो। हामीलाई लिन त्यहाँको बोस आए। 

एयरपोर्ट हेरेको त, गएगुज्रेको थियो। प्लेन अडाउने ठाउँ र टिकट काट्ने घर मात्रै थियो। वरिपरिको बस्ती देख्दा ढ्याङ्ग्रो नै ठोक्यो। एउटा घर पनि सद्दे थिएनन्। सबै घरमा गोली लागेका, भत्किन लागेका जीर्ण थिए ।

जानेबित्तिकै साहुले पासपोर्ट लियो। त्रिपोली लगे। लानेबित्तिकै ढोका थुनेर बाहिर ताल्चा लगायो! त्यो लेबर सप्लायर कम्पनी रै’छ। कामदारको माग आएपछि हामीलाई पठाउने रहेछन्। 

कामदार चाहिएका कम्पनीका प्रतिनिधि त्यहाँ आउँथे। अन्तर्वार्ता दिन लगाइन्थ्यो। वेटरको, झाडु लगाउने जस्ता कामको मात्र माग हुन्थ्यो। म ड्राइभरमा काम गर्ने भनेर गएको थिएँ। ५-७ पटक अन्तर्वार्ता दिँदा पनि म जान मानिनँ। 

थुनामा २० दिन बस्यौँ। एक जनालाई हप्तामा एक किलो मात्र चामल दिन्थ्यो। १२ जना भारतीय नागरिक र हामी ३ जना गरेर १५ जना थियौँ। 

२० दिनमा त्यही सप्लायर्स कम्पनीको साहु हाम्रो कोठामा आएर जंगिदै अब पाल्न सक्दिनँ। जस्तो काम पाउँछौँ, त्यस्तै काम गर भन्दै हामीलाई एजेन्टसँग २ हजार डलरमा किनेको भन्यो।

बाहिर बेलाबेला बन्दुक पड्किएको आवाज आउँथ्यो। बन्दुक पड्केको आवाज आएपछि म हात जोडेर भन्थेँ, ‘भगवान् यो ठाउँबाट छिटो उम्काइदेऊ।’

भने अनुसारको काम पाइएन। एउटा अस्पतालमा वेटरको काम आयो। गए। अस्पतालमाथि क्याफे थियो। अस्पतालको नाम सिजिएच थियो। युद्धमा लडेका सिपाही उपचार गर्न आउँथे। कसैको हात छैन, कसैको भुँडीमा, कसैको टाउकोमा चोट लागेको हुन्थ्यो। 

वरपरको वातावरण हेरेर मन एकदमै त्रस्त हुन्थ्यो। बाहिर निस्कन पनि डर। त्यही अस्पतालमा बस्ने प्रहरीले हामीलाई बाहिर के भइरहेको छ भनेर भनिरहन्थ्यो। सुन्दै अत्यास लाग्थ्यो।

फेरि माइकललाई इमोबाट म्यासेज गरेँ। उनले केही दिनमा इटाली जाने भन्यो।  त्यही लिबियामा पूर्ण आयो। ऊ एजेन्ट थियो। उनले ‘३ हजार डलर दे र त्यो कम्पनीबाट भाग, म व्यवस्था गर्छु’ भने। मैले ५० हजारमा आइफोन बेचेँ। नेपालबाटै भाञ्जाले पूर्णले भनेको खातामा एक लाख रुपैयाँ राखिदिए। अरु बाँकी उतै पैसा दिए।

हामी राति भाग्यौँ। भाग्दा कसैले अवरोध गरेन। अस्पतालको प्रहरीले देखे पनि नदेखेजस्तै गरिदिए। 

रातको चकमन्न अँध्यारोमा कता लगेको केही पत्तो पाइएन। जिपमा भेडाबाख्रा हुले जसरी राखेका थिए। बाहिरबाट पुरै त्रिपालले बेरेका थिए। सानो जीपमा १६ जना थियौं। तीन घण्टाको सकसपूर्ण यात्रापछि समुद्रको किनारामा पुगियो।

आइफोन अस्पतालमै बेचेको थिए। सम्पर्क गर्ने केही साधन थिएन। केहीबेरपछि बोट आयो। भारतीय र हामी १६ जना थियौँ। अफ्रिकी मूलका २० जना थिए। माइकलले पानी जहाजमा जाने भनेको थियो तर काठको डुंगामा हालियो। त्यहाँको एजेन्टले ४ घण्टापछि इटालीको बोर्डरमा पुग्छौँ, त्यहाँ उद्दार गर्न आउँछन् भनेको थियो तर बोटमा राखेको बिस्कुट र पानीले यात्रा लामै रहेछ भन्ने लाग्यो। 

त्यतिबेला बिहानको त्यस्तै २-३ बजेको हुनुपर्छ। शंकैशंकामा समुद्रको बाटो लागियो। समुद्रमा हिँडेको १६ घण्टा भइसक्दा पनि बोर्डर आएन। समुद्रको एकोहोरो हिँडाइले सञ्चो भएन, उल्टी हुन थाल्यो। केहीबेरपछि त्यो बोटको त तेलै सकियो। हावाले जता लान्छ बोट उतै बत्तिन थाल्यो। 

केही समयपछि टाढाबाट एउटा ठूलो पानी जहाज आएको देखेपछि बाँच्ने आशा पलायो। उद्धार गर्न आएछन् जस्तो लागेको थियो। तर त्यो जहाज त भाग्यो। डुंगाभित्र पानी पस्न थाल्यो। साथीहरु रुन थाले। 

एक घण्टापछि एउटा पानी जहाज हामी भएको ठाउँमा आयो। त्यो डुंगा सिंगापुरको रहेछ। उनीहरु डेनमार्क हिँडेका रहेछन् तर तेल सकिएर लिबिया फर्कन आँटेको थिए। मसहित तीन जना र बंगाली त्यसैमा बस्यौँ। अफ्रिकनहरु बस्न मानेनन्। 

लिबिया फर्किए त्यहाँ पक्राउ गर्छन् र कुटाई खाइन्छ भन्ने डर रहेछ। उनीहरुमध्ये लिबियाको जेलमा बसेर कुटाई खाएका केही रहेछन्। हातखुट्टाको नङ निकाल्ने, टाउकोमा ताल्चाले हिर्काउने, सुम्ला बस्ने गरेर सिर्कनाले हान्ने रहेछन्। 

लिबियाको समुद्री किनारामा आइपुगेपछि जहाजका व्यक्तिहरु तेल हाल्नतिर लागे। हामीलाई लिबियाका विद्रोही समूहका सदस्यले पक्राउ गरेर उनीहरुको क्याम्पमा लगे। 

विद्रोहीको क्याम्प देखेपछि नर्क भन्या यही रहेछ भन्ने लाग्यो। त्यो क्याम्पलाई ओसामा क्याम्प भनिने रहेछ। क्याम्पमा दुई सय भन्दा बढी बन्दी थिए। विद्रोहीको हातमा बन्दुक। 

पानी बाथरुमको खानु पर्ने। असाध्य जाडो। मैले ज्याकेट मात्रै लगाएको थिए। फिलाको जुत्ता थियो। ज्याकेट र जुत्ता खोसेर लगिहाले।पहिलो दिन मर्नेगरी कुटे।

बिहान एउटा पाउरोटी दिन्थे। त्यसको १२ घण्टा पछि एक थाल म्याक्रोनी। त्यो ५ जनाले बाँडेर खानु पर्ने। 

विद्रोहीले हामीसँग तीन हजार डलर माग्यो। थिएन। फोन गर्न मोबाइल थिएन। उनीहरुले एजेन्ट को हो भनेर सोधे। हामीले लिबियाकै मान्छेको नाम लिएपछि उनीहरुले गर्ने व्यवहार फरक भयो। दोस्रो दिनबाट कुटेन। अन्यलाई कुटे। १२ दिनसम्म कुटाइ खाँदा चिच्याएको आवाज सुनेरै बित्यो। 

हामीबाट पैसा झर्दैन भन्ने लागेछ क्यारे, छोडिदिए। १२ दिनपछि बाहिर निस्कदा युएनको क्याम्प देखेँ।  अब घर जान पाउँछु भन्ने लाग्यो।

बाहिर हामीलाई सबै कुरा सोधियो । मैले जेलको अवस्थाबारे सबै भने। ५ दिन जति त्यही क्याम्पमा बसियो। पेटभरि खान पाइयो। 

५ दिनपछि युएनका मान्छेहरु कागजात मिलाउने भनेर गए। मैले कुरा लगाएको भनेर फेरि विद्रोहीको कब्जामा पुगेँ। १८ दिनसम्म कोचेर राखे। हाम्रो बारेमा किन भनिस् मार्दिऊँ भनेर तर्साउँथे। 

१८ दिन राख्दा पनि पैसा नझरेपछि विद्रोहीले राष्ट्र संघकै क्याम्पमा ल्याएर छोडिदिए। क्याम्पमा आइएमओ (अन्तर्राष्ट्रिय आप्रवासी संगठन)ले नेपाल फर्काउने तयारी गरिदियो। असार २० मा टर्की हुँदै नेपाल आइपुगेँ।
 

१४ भदौ, २०७९, ०२:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।