बिपी प्रतिष्ठानको रजिस्ट्रारका लागि सूर्य सङ्ग्रौलाको शैक्षिक मापदण्ड पुग्दैन, तर प्रधानमन्त्रीले पेलपाल पारे, स्वास्थ्य मन्त्रीले थाहै नपाए जस्तो गरे

बिपी प्रतिष्ठानको रजिस्ट्रारका लागि सूर्य सङ्ग्रौलाको शैक्षिक मापदण्ड पुग्दैन, तर प्रधानमन्त्रीले पेलपाल पारे, स्वास्थ्य मन्त्रीले थाहै नपाए जस्तो गरे

काठमाडौँ : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रार पदमा नियुक्त डा. सूर्य सङ्ग्रौलाको सो पदका लागि शैक्षिक मापदण्ड नै नपुग्ने खुलेको छ।

रजिस्ट्रारका लागि तोकिएको शैक्षिक योग्यता नभए पनि कांग्रेस नेतृ डिला सङ्ग्रौलाका श्रीमान् समेत रहेका उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङले रजिस्ट्रारमा नियुक्त गरेको खुलेको हो।

उकेरालाई प्राप्त पत्र अनुसार स्वास्थ्य मन्त्री खापुङले साउन १३ गते सङ्ग्रौलालाई पाँच वर्षका लागि प्रतिष्ठानको रजिस्ट्रार पदमा नियुक्त गर्ने निर्णय गरेका हुन्।

साउन १३ को मन्त्रीस्तरिय निर्णयको आधारमा पाँच वर्षका लागि सङ्ग्रौलाको नियुक्ति भएको हो।

‘स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री एवं प्रतिष्ठानका सहकुलपतिस्तरको मिति २०७९-०४-१३ को निर्णय अनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९ को दफा ११ ग को उपदफा (१) बमोजिम प्रतिष्ठानको रजष्ट्रिार पदमा ५ वर्ष पदावधि रहने गरी मनोनयन गरिएको'  उकेराले पाएको पत्रमा उल्लेख छ।

नियुक्ति र मनोनयन सम्बन्धी मापदण्डको बुँदा ‘४’ ‘घ’ को (२) मा रजिस्ट्रारको हकमा मान्यता प्राप्त शिक्षण संस्थाबाट चिकित्साशास्त्र, जनस्वास्थ्य,  अस्पताल प्रशासन, व्यवस्थापन  विषयमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरेको योग्यता तोकिएको छ।

सँगै सम्बन्धित क्षेत्रमा कम्तीमा दश वर्ष काम गरेको वा मान्यता प्राप्त शिक्षण संस्थाबाट चिकित्साशास्त्र वा स्वास्थ्यसँग सम्बन्धित विषयमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी मन्त्रालय सम्बद्ध निकायमा कम्तीमा नवौँ तह वा सो सरहको पदमा काम गरेको’ व्यक्ति रजिस्ट्रार पदमा नियुक्तिका लागि योग्य हुने उल्लेख छ।

तर सङ्ग्रौलाले मानविकी र सामाजिक शास्त्राचार्य (अर्थशास्त्र) अध्ययन गरेका हुन्। उनको शैक्षिक योग्यता र रजिस्ट्रारका लागि तोकिएको शैक्षिक योग्यता नै मिलेको देखिएन।

रजिस्ट्रार नियुक्तिका लागि डा. सङ्ग्रौलाको शैक्षिक योग्यता नमिलेको बारे नियुक्तिको निर्णय अगाडि नै छलफल भएको मन्त्रालयस्रोतले बतायो। स्वास्थ्य सचिव पनि यसबारे जानकार थिए।  तर प्रधानमन्त्री देउवाले नियुक्त गर्न जोडबल गरेपछि स्वास्थ्य मन्त्रीले अस्वीकार गर्न सकेनन्।

मन्त्री खापुङले भने आफूलाई रजिस्ट्रार नियुक्तिको विषय नियमसंगत नै गरेको भन्ने लागेको तर्क गर्दै उनको शैक्षिक मापदण्डबारे भने केही जानकारी नै नभए जस्तै गरे।

उकेरासँग कुरा गर्दै मन्त्री खापुङले भने,‘शैक्षिक मापदण्ड पुगेको छैन र? शैक्षिक उ (योग्यता) नै नमिलेको त नहुनु पर्ने त।’

उनले नियम अनुसार नै नियुक्त गरेको भन्ने लागेको दाबी गर्दै नियम अनुसार कहाँनेर नमिलेको हो भन्ने अब हेर्ने मन्त्री खापुङले दाबी गरे।

मन्त्री खापुङले थपे,‘मापदण्ड नपुगेको भन्ने त मलाई ख्याल भएन। के रहेछ हेरौँ।’

उनले प्रधानमन्त्रीको दबाबमा नभई आफूले सङ्ग्रौलालाई छानेको उनको दाबी थियो। खापुङले भने,‘त्यस्तो आदेश पनि हैन। मैले गरेको हो भन्नुपर्यो नि। मेरो जिम्मेवारीको कुरा हो।’

उता रजिस्ट्रारमा नियुक्त सङ्ग्रौलाले भने आफू प्रधानमन्त्री देउवाको इन्ट्रेस्टमा प्रतिष्ठानको रजिस्ट्रारमा नियुक्त भएको विषय लुकाएनन्।

‘प्रधानमन्त्रीको विशेष चासोको आधारमा (नियुक्त) गरिएको हो,’सङ्ग्रौलाले भने,‘ ‘प्रधानमन्त्री, सहकुलपति, उपकुलपति तीनै जनाको कुरा मिलेर (रजिस्ट्रार) बनेको हो। तीनै जनाको इन्ट्रेस्ट मिलेर बनाएको जस्तो लाग्छ मलाई।’

उनी नियुक्त हुनु अगाडि मन्त्रालयमा शैक्षिक योग्यताबारे कुरा भएको उनले स्विकारे। उनले स्वास्थ्य मन्त्रालयले आफूलाई शैक्षिक योग्यताको विषयमा प्रश्न उठाएको स्वीकार गर्दै भने,‘यो कुरा मन्त्रालयले गरेको थियो मलाई। मैले मन्त्रालयमा यो-यो हो भनेर सिधै भनेको हो।’

शैक्षिक मापदण्ड नमिले पनि नियुक्त भएको विषयलाई भने उनले स्वीकार गरेनन्।

रजिस्ट्रार नियुक्तिको मापदण्ड

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९ को परिच्छेद–४ मा ‘प्रतिष्ठानका पदाधिकारी, शिक्षक तथा कर्मचारीको सेवा, सर्त सम्बन्धी व्यवस्था’ छ भने दफा–११ ‘ग’ मा ‘शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्ति’ सम्बन्धी व्यवस्था छ।

प्रतिष्ठान ऐनको दफा–११ ‘ग’ को उपदफा (१) मा भनिएको छ,‘उपकुलपतिको सिफारिसमा सहकुलपतिले प्रतिष्ठानको शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशकको नियुक्ति गर्ने,' उल्लेख छ।

‘स्वास्थ्य मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३’ अनुसार प्रतिष्ठानको रजिस्ट्रारमा नियुक्तिका लागि शैक्षिक योग्यताको मापदण्ड मिलेको देखिँदैन।

सो नियुक्ति र मनोनयन सम्बन्धी मापदण्डको बुँदा ‘४’ मा पदाधिकारी तथा सदस्य नियुक्ति वा मनोनयनका लागि योग्यता तोकिएको छ।

मापदण्डको बुँदा ‘४’ ‘घ’ मा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९ को दफा–११ ‘ख’ र दफा ११ ‘ग’ बमोजिमको उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रार पदमा नियुक्तिको लागि योग्यता तोकिएको छ।

नियुक्ति र मनोनयन सम्बन्धी मापदण्डको बुँदा ‘४’ ‘घ’ को (२) मा रजिस्ट्रारको हकमा मान्यता प्राप्त शिक्षण संस्थाबाट चिकित्साशास्त्र, जनस्वास्थ्य,  अस्पताल प्रशासन, व्यवस्थापन  विषयमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी सम्बन्धित क्षेत्रमा कम्तीमा दश वर्ष काम गरेको वा मान्यता प्राप्त शिक्षण संस्थाबाट चिकित्साशास्त्र वा स्वास्थ्यसँग सम्बन्धित विषयमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी मन्त्रालय सम्बद्ध निकायमा कम्तीमा नवौँ तह वा सो सरहको पदमा काम गरेको’ व्यक्ति रजिस्ट्रार पदमा नियुक्तिका लागि योग्य हुने उल्लेख छ।

मानविकी र सामाजिक शास्त्राचार्य (अर्थशास्त्र) अध्ययन गरेका सङ्ग्रौलालाई प्रतिष्ठानमा रजिस्ट्रार नियुक्त गरियो।

सङ्ग्रौलाको शैक्षिक प्रमाणपत्रले प्रतिष्ठानमा रजिस्ट्रार नियुक्त हुनका लागि आवश्यक शैक्षिक योग्यता पुगेको देखिँदैन।

उकेरालाई प्राप्त शैक्षिक प्रमाणपत्र अनुसार प्रतिष्ठानको रजिस्ट्रारमा नियुक्त भएका सङ्ग्रौलाले त्रिभूवन विश्वविद्यालय ‘मानविकी र सामाजिक शास्त्र’ अध्ययन संस्थानबाट अर्थशास्त्र विषयमा डिग्री (मास्टर्स)’ गरेका हुन्।

प्राप्त विवरण अनुसार सङ्ग्रौलाले सन् २००५ मा भारतको एलएनएमयुबाट विद्यावारिधि (पिएचडी) समेत गरेको देखिन्छ।

डा. सङ्ग्रौला २०१३ सालमा जन्मिएका हुन्। उनको स्थायी घर बुद्ध विहार मार्ग, अल्का टोल, विराटनगर–११ हो। उनले सम्बन्धित क्षेत्रमा ३७ वर्षको अनुभव उल्लेख गरेका छन्। उनी बिपी प्रतिष्ठानका कर्मचारी पनि हैनन्।

रजिस्ट्रार सङ्ग्रौलाको नमिल्दो तर्क

प्रतिष्ठानको रजिस्ट्रारमा नियुक्त भएका डा. सङ्ग्रौलाले प्रतिष्ठानको ऐन र नियमावली सङ्गत नै आफू रजिस्ट्रार नियुक्त भएको दाबी गरे।

‘स्वास्थ्य मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३’ अनुसार बिपी प्रतिष्ठानको रजिस्ट्रारमा नियुक्तिका लागि तपाईँको शैक्षिक योग्यताको मापदण्ड नमिलेको रहेछ नि भन्ने जिज्ञासामा सङ्ग्रौलाले भने,‘त्यसमा व्यवस्थापन भनेको छ। व्यवस्थापनसँग पनि मिल्छ मेरो (विषय) । इकोनोमिक्स हो। पिएचडी हो।’

तर, तपाइले त मानविकी तथा समाजशास्त्र सङ्कायमा अर्थशास्त्र विषय अध्ययन गर्नु भएको रहेछ अनि कसरी रजिस्ट्रार नियुक्तिका लागि शैक्षिक मापदण्ड मिल्यो? भन्ने जिज्ञासामा सङ्ग्रौलाले भने,‘पहिला त इकोनोमिक्स र म्यानेजमेन्ट एक अर्कामा ट्रान्सफर हुन्थ्यो त्यतिखेर त। हाम्रो पालामा पनि हुन्थ्यो नि त त्यो त। पहिलाको हो नि त डिग्री मेरो।’

त्यसो त बिपी प्रतिष्ठानमा अङ्ग्रेजी, विज्ञान जस्ता विषय अध्ययन गरेका व्यक्ति पनि रजिस्ट्रार भएको भन्दै रजिस्ट्रारको हकमा नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३’ लागु नहुने उनले तर्क गरे।

डा. सङ्ग्रौलाले भने,‘प्रतिष्ठानको नियमावलीमा अन्य विषय भनेर लेखिसकेको छ। धरानमा अङ्ग्रेजी, विज्ञानको पनि रजिस्ट्रार हुनु भएको छ। रजिस्ट्रारको हकमा त्यो कुरा लागु हुँदैन।’

उनले मन्त्रालयको मापदण्डसँग प्राविधिक रूपमा व्यवस्थापन र मानविकी देखिए पनि विषय मिल्ने दाबी गरे। मन्त्रालयको मापदण्डसँग तपाईँको नियुक्तिका लागि विषय मिल्दैन त, भन्ने जिज्ञासामा उनले भने,‘हैन मिल्छ। व्यवस्थापन भनेर शब्दले टेक्निकल्ली ह्युमानिटिज र त्यो (मानविकी) भन्ने कुरा हैन नि। त्यसको विषयवस्तु के छ त त्यो सँग सम्बन्धित हुन्छ नि।’

स्वास्थ्य मन्त्रीकै अध्यक्षतामा सिनेटको बैठक बसेर बिपी प्रतिष्ठानको रजिस्ट्रारको हकमा यो गर्ने भनेर जबसम्म नियम बन्दैन, संशोधन हुँदैन तबसम्म त्यही (पुरानै) नियम लागु हुने उनले तर्क गरे।

तर, स्वास्थ्य मन्त्रालयले बनाएको मापदण्ड अनुसार त तपाईँको शैक्षिक योग्यता मिल्दै न नि त भन्ने जिज्ञासामा सङ्ग्रौलाले उल्टै ‘उसले त आफ्नो किसिमको कहाँ सजिलो छ बनायो नि मन्त्रालयले। कुन मान्छेलाई भर्ना गर्नुपर्ने थियो त्यही किसिमले बनायो नि त’, भन्ने जस्ता जवाफ दिए।

रजिस्ट्रारमा नियुक्तिको सबै ठाउँमा एउटै किसिमको मापदण्ड हुने भन्दै उनले कुनैमा के गर्ने कुनैमा के गर्ने हुन्छ र? भन्ने प्रश्न गरे।

बखेडा मात्रै झिकिएको तर गुणस्तरमा आफू कम नभएको उनले दाबी गरे। उनले भने,‘बखेडामा बखेडा निकाल्ने हो भने त डेभलोमेन्टको प्रक्रिया केही पनि हुँदैन।’

१९ साउन, २०७९, २०:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।