विश्वको कुख्यात १९ मानव तस्करको सूचीमा नेपाली महिला, तर नेपालमा छैन कुनै विवरण 

विश्वको कुख्यात १९ मानव तस्करको सूचीमा नेपाली महिला, तर नेपालमा छैन कुनै विवरण 

काठमाडौँ : नेपाली नागरिक राखी गौचन भनेर सर्च गर्ने हो भने छक्क पार्ने खालका सूचना आउँछन्। समाचार मात्रै हैन, किताब अनि अन्तर्राष्ट्रिय मानव तस्करीमा सक्रिय रहेकाहरूको सरकारी सूचीमा समेत नाम छ उनको। सामान्य पनि हैन, विवरण अनुसार विश्वका कुख्यात १९ मानव तस्करमध्ये एक हुन् उनी।

उनी नेपाल अनि मेक्सिको दुवै देशको नागरिक भएको मानव तस्करी र लागु औषध नियन्त्रण सम्बन्धी काम गर्ने राष्ट्रिय सङ्घीय नियोगको प्रतिवेदनमा समेत उल्लेख छ। तर उनी नेपाल कहाँकी हुन् भन्ने कतै खुल्दैन।

सर्च इन्जिनमा उनको विवरण लेखिकाको रूपमा पनि आउँछ। तर आपराधिक सूचीमा रहेकी राखी र अमेरिकामा रहेकी ती लेखिका एकै हुन् या हैनन् त्यो भने सुरक्षा निकायबाट पुष्टि हुन सकेन।

सन् २०२० को प्रतिवेदन अनुसार उनी मेक्सिकोमा बसेर नेपाली नागरिकसँगै भारतीय, बंगालादेशी, पाकिस्तानी र अफगानी नागरिकलाई तस्करी गरेर अमेरिका पुर्याउन निकै सक्रिय छिन्। उनले प्रतिव्यक्ति न्यूनतम ३ हजार पाँच सयदेखि ४० हजार अमेरिकी डलरसम्म लिने गरेको र प्रत्येक महिना १० जनासम्मलाई अवैध रूपमा अमेरिका प्रवेश गराउने गरेको देखिन्छ।

यी अन्तर्राष्ट्रिय रूपमै कुख्यात भएकी नेपाली नागरिकबारे नेपालका सुरक्षा एजेन्सीसँग पनि पूर्ण जानकारी छैन। उनीबारे नेपालको सुरक्षा निकायसँग थप विवरण छ कि भनेर उकेराले गरेको खोजमा थप केही फेला परेन।

मानव बेचबिखन नियन्त्रण ब्युरोका प्रवक्ता दानबहादुर मल्लले उनी नेपाल प्रहरीको फरार सुचीमा रहेकोसम्म जानकारी दिए।

‘राखीको बारे के-कस्तो जानकारी आएको छ अहिले नभनौँ,’उनले उकेरासँग भने, ‘उनलाई ब्युरोले फरार सुचीमा राखेको भने छ।’

विश्वका कुख्यात १९ तस्करमध्ये एक हुन् राखी

सन् २०१२ मा अस्लम खानले राखीलाई ३५ सय अमेरिकी डलर तिरेर अवैध रूपमा मेक्सिकोबाट अमेरिका प्रवेश गरेका थिए। उनी अमेरिका प्रवेश गरेर शरणार्थीको मान्यताका लागि आवेदन दिए। तर उनी अमेरिकी सुरक्षा एजेन्सीको निगरानीमा परिसकेका थिए।

उनी आतङ्कवादी या लागुऔषध तस्कर भएको आशङ्कामा अमेरिकी सुरक्षा एजेन्सीले नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनी गौचन समूहको सहयोगमा अमेरिका प्रवेश गरेको सूचना पाएको उनीहरूले गौचनको समूहबारे जानकारीका लागि समेत उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। अहिले उनै राखी विश्वका कुख्यात १९ मानव तस्करीको सूचीमा छिन्।

अमेरिकाको होमल्यान्ड सेक्युरिटीको प्रतिवेदन अनुसार अमेरिकामा मानव तस्करी गर्ने १९ जनामध्येकी एक हुन् राखी। मानव तस्कर महिलामा उनको नाम पहिलो सूचीमै छ। उनी अमेरिका पुगेर आफ्नै जीवन बदल्न चाहनेहरूलाई मात्रै हैन आतंकवादीहरुलाई समेत अवैध रूपमा अमेरिका प्रवेश गराउन सक्रिय देखिएपछि अमेरिकाको फेडरल ब्युरो अफ इन्भेस्टिगेशनले स्टिङ अप्रेसनै चलाएर उनलाई सन् २०१३ मा पक्राउ गरेको थियो।

उनको सङ्गठनको सदस्य बनेर छिरेका अमेरिकी गुप्तचरले उनलाई महत्त्वपूर्ण मिटिङको बहानामा अमेरिकाको टेक्ससमा बोलाएर पक्राउ गरेको थियो। एफिबिआइले उनको व्यापारिक साझेदार एल पासोलाई प्रयोग गरी टेक्ससमा ‘बिजनेस मिटिङका’ लागि उनलाई बोलाएको थियो।

उनी ‘बिजनेस मिटिङका’ लागि अमेरिका प्रवेश गरेपछि पक्राउ परिन्। अहिले उनको अवस्थाबारे थप जानकारी फेला परेन। नेपालमा त उनको नाम बाहेक थप विवरण नै फेला परेन।

एफिबिआइले गरेको अनुसन्धानमा उनी सन् २००१ बाट मानव तस्करीमा  संलग्न भएको देखिन्छ। उनी आफैँ इटली हुँदै मेक्सिकोसम्म पुगेकी थिइन्। मेक्सिकोमा बसेर उनले अवैध बाटो हुँदै अमेरिका जान मेक्सिको पुगेकाहरूलाई अवैध रूपमा अमेरिका छिराउन सक्रिय भइन्।

सम्बन्धित देशबाटै मेक्सिकोसम्म पुगेर अमेरिका जाने हो भने ४० हजार अमेरिकी डलर( करिब ४५ लाख नेपाली) र मेक्सिको पुगेर उनीमार्फत अमेरिका प्रवेश गर्ने हो भने ३ हजार पाँच सय अमेरिकी डलर लिने गरेकी थिइन्।

उनले मेक्सिको पुगेकाहरूलाई अमेरिका कसरी प्रवेश गर्नेदेखि लिएर त्यहाँ पुगेर कसरी शरणार्थीको आवेदन दिनेसम्म सबै उपाय सिकाउने गर्दै आएको एफबिआइले खुलायो। उनले आफ्नो वास्तविक नाम बदलेर निक्की राखेकी थिइन्। आफ्ना ग्राहकलाई पासपोर्ट, लगायतका कागजात सबै जलाउन लगाउने अनि अमेरिकी अध्यागमनमा सोध्दा के खुलाउने अनि के नखुलाउने सबै सिकाएर पठाउने गरेको खुल्यो।

पाकिस्तानी काश्मीरमा द्वन्द्वग्रस्त क्षेत्रका व्यत्तिहरु अवैध रूपमा अमेरिका प्रवेश गर्न थालेपछि एफबिआइ र होमल्याण्ड सेक्युरिटीको राडारमा उनी परेकी थिइन्। उनले अवैध रूपमा अमेरिका प्रवेश गराएका केही व्यक्ति आतङ्कवादी गतिविधिमा समेत संलग्न रहेको देखिएपछि उनको खोजीलाई अमेरिकी सुरक्षा एजेन्सीले प्राथमिकतामा राखेर स्टिङ अप्रेसनै चलाएको थियो। त्यही अप्रेशन अनुसार उनी पक्राउ समेत परेकी थिइन्।

११ वर्षदेखि तस्करीमा 

विभिन्न देशबाट हुने मानव तस्करीबारे भएको एक अन्तर्राष्ट्रिय अध्ययनको पहिलो सूचीमै राखीको केस स्टडी राखिएको छ जसमा उनलाई' सबैभन्दा प्रभावशाली मानव तस्कर' भनिएको छ। उनको सञ्जालबारे थाहा पाउन एफबिआइले सन् २००५ देखि सन् २०१५सम्म अवैध रूपमा अमेरिका प्रवेश गरेका १९ जना भारतीय नागरिकसँग बयान समेत लिएको देखियो। उनलाई प्रतिवेदनमा ' अमेरिका छिर्न चाहने मुस्लिम देशका नागरिकहरूलाई अवैध रूपमा प्रवेश गराउन सबैभन्दा सक्रिय मानव तस्कर' भनिएको छ।

अन्डरकभर अप्रेसनमा खुले अनुसार उनले ११ वर्षदेखि युरोप र एसियाका नागरिकहरूलाई अवैध रूपमा अमेरिका प्रवेश गराउँदै आएकी छिन्। उनले पाकिस्तानी, बङ्गलादेशी, भारतीयहरूलाई अमेरिका प्रवेश गराएकी छिन्। अन्डरकभर एजेन्टसँगको कुराकानीमा उनले आफूले पाकिस्तानमा आतङ्कवादमा लागेकाहरूलाई समेत अमेरिका छिराएको खुलाएकी थिइन्।

४ साउन, २०७९, १७:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।