'कानले हेर्नुपर्ने' प्रयोगात्मक नाटकको पात्र बन्दा

'कानले हेर्नुपर्ने' प्रयोगात्मक नाटकको पात्र बन्दा

मण्डला थिएटरमा बिहीबार नाटक हेर्ने निमन्त्रणा आयो- भित्र बाहिर ४। आउँछु भनेपछि जसरी पनि आउनै पर्ने, नआउने भए पहिल्यै भन्नुपर्ने सर्त थियो।

जसरी पनि ठिक समयमा पुग्नुपर्ने। जान्छु भनेर नगएका ठाउँहरू, समयमा नपुगेर कुर्दा कुर्दा हैरान परेका साथीहरू मेरा लागि सामान्य घटनाक्रम बनिसकेका थिए। तर नाटक निर्माण समूहको यो अचम्मको सर्त थियो मेरा लागि।

समयमै पुगेँ। अन्य साथीहरू पुगिसक्नु भएको रहेछ। एक जना साथीको गाडीमा समस्या आएकाले केही ढिलो हुनुभयो। हामीले झन्डै पाँच मिनेटजती पर्खियौँ।

हामीलाई साँघुरो ठाउँमा भित्तातिर फर्काएर लहरै राखियो। साथबाट झोला खोसियो, जुत्ता मोजा खोल्न लगाइयो। मोबाइल बन्द गर्न लगाइयो। स्वतन्त्रता प्यारो हुने कलाका पारखीले किन यस्तो गरे! हामी छक्क थियौँ। अझै त्यतिले पुगेन। हाम्रा आँखाहरूमा कालो पट्टी बाँधियो। यो त हदै भयो।

नाटक हेर्न बोलाउने अनि आँखामा पट्टी बाँध्ने। यो कस्तो पारा हो। मनमा यस्तो लागे पनि अन्य चुप बसेकाले म पनि चुप। हामीसँगै कलाकार विजय बराल पनि नाटक हेर्न सँगै आँखामा पट्टी बाँधेर बसेका थिए।

आँखा बन्द भएपछि कान चनाखो हुने नै भयो। मधुरो धुनमा बाँसुरी बज्यो। त्यसको आवाज कहिले नजिकै आइपुग्थ्यो, कहिले नेपथ्यमा पुग्थ्यो। एक छिनमा गिलासमा पानी खन्याइएको आवाज आयो। कानमा खुसुखुसु केही बोल्दै हातमा गिलास थमाइयो।

के दियो के। कतै खानै नहुने कुरो पो दियो कि। मनै मानेन, थोरै जिब्रोमा लगेँ। नाक र जिब्रोले थाहा पायो, ए कागती पानी रहेछ।

अरू दुई-तीन सिप सुरुप्प लिएँ। बाँसुरीको धुनले भने मज्जा दिइरहेको थियो।

एक छिनमा कसैले मेरो हात समाते। उठाए र डोर्याउँदै कहिले खुट्किला ओराले त कहिले उकालो चढाए। ती व्यक्तिलाई पूर्ण रूपमा विश्वास गर्न सकिएन। त्यसैले हात र खुट्टालाई छामछाम छुमछुम गर्ने जिम्मेवारी कडाइका साथ गर्न अन्तर चेत मनले आदेश दियो।

त्यो मानिसले कसैको बिहेमा छाडिदिएजस्तो लाग्यो। किनभने कतै टाढा बिहेमा बज्ने बाजा बजिरहेको थियो। मानिसहरू नाचगान गरिरहेका पो छन् कि, मेरो पाइला आवाज आएतिर लम्कियो।

तर फसाद, चिप्लोमा परेर झन्डै लडिन, सातो गयो। बाजाको नजिकै पुगिसकेकी थिएँ, चिप्लन खोजेपछि अगाडी बढ्ने हिम्मतै आएन। आवाज र स्पर्श सबैभन्दा धेरै सक्रिय भयो।

यत्तिकै रन्थनिएँ। कता हो कता। मनमा अनेकन् कुराहरू खेल्न थाल्यो। आँखा नदेख्नेको जिन्दगी सधैँ यस्तै त होला भन्ने सम्झिए। मन खिन्न भयो।

त्यही दुखको समयमा एक्कासि आकाश गड्याङगुडुङ गर्यो। हावा चल्यो, घनघोर वर्षा भयो। रुझेँ जस्तो लागेको थियो तर म ओभानै थिएँ।

वर्षासँगै आवाज आयो, मेरो नजिकै भिडन्त भइरहेको छ। आधुनिक हतियारसँगै मानिसहरूको घमासान युद्ध।

धादिङ। म जन्मेको गाउँमा पुगेँ। पुसको महिना, तुवाँलोले छपक्क छोपेको थियो। ठोक ठोक सालेलाई भन्दै बुट बजारेको आवाज आयो। म के गरौँ, कसो गरौँ भएर टक्क अडिएँ। कान छोप्न मन लाग्यो। टुक्रुक्क बसेर टाउको लुकाऊँ जस्तो लाग्यो। गोली मेरै कानलाई स्पर्श गरेर गइरहेको महसुस भयो। तर बिचबिचमा साथीहरूले बोलेको आवाज, उनीहरूसँग खाएको ठक्कर, अनि पुष्पा जी हैन भनेर सोधिएका प्रश्नहरूले मलाई अनुभूति गराइरहेको थियो, ती घटनालाई पछि छाडेको दुई दशक बिताइसकेको छ। म नाटक हेरिरहेको छु।

साथीहरूको बोली अनि हाँसोले मलाई पुरानो दिनमा पूर्ण रूपमा लैजान भने सकेन। ब्याकग्राउण्डमा मानिस रोइरहेका आवाज, पिडा र क्रन्दनका आवाजले भावुक बनाउन भने छाडेन।

यसरी झन्डै एक घण्टा आँखा बन्द गरेर यताउता गरिरहेँ। रमाइलो के लाग्यो भने, म नबोलेरै, नाम नभनेरै साथीहरूले मलाई चिनिरहनुभएको थियो। अझै शिलापत्र डटकममा काम गर्ने साथी समर्पण श्रीले त छुँदै नछोएर, मलाई चिन्नुभएको थियो।

बाहिर आएपछि आफैले आफूलाई सुँघे, मैले मेरो गन्ध पत्ता लगाउन सकिन। कसरी चिन्नुभयो भनेर सोधेँ, उहाँले भोइस् भन्दै हाँसेर टारिदिनुभयो।

बाहिर आएपछि हाम्रा आँखा खोलिए। भागदौडले शरीर थाकेको थियो। सबैलाई जीवनजल दिनुभयो र नाटक सकिएको घोषणा गर्नुभयो। हामी जिज्ञासु नजरले यताउता हेर्न थाल्यौँ। अगाडी बसेका कलाकार विजय बरालले बेलिबिस्तारमा नाटकको वर्णन गर्न थाले।

कुरा सुन्दै जाँदा हामी बोल्न नहुने रहेछ। बोलीका कारण जति अनुभूति गर्न सकिन्थ्यो त्यति गर्न सकिएन। नाटकका निर्देशक रामहरि ढकालका अनुसार अहिलेसम्म देखाइएको नाटकमध्ये सबैभन्दा धेरै हल्ला गर्ने टोली हाम्रै परेछ। अरूले हल्ला गरेका थिएनन् रे। त्यस्तै सोचेर हल्ला गर्दैनन् भन्ने अपेक्षा सहित नाटक देखाइएछ। तर हामी पर्यौं पत्रकार। नबोलेर बस्ने जातै भएन।

केही साथीहरू त भजन गाउनमा समेत व्यस्त हुनुहुन्थ्यो। हाम्रै कारण अबदेखिका नाटकमा निर्देशकले हल्ला गर्न पाइँदैन भन्ने नयाँ नियम पक्कै थप्नुहुनेछ।

भित्र बाहिरको भाग चार नाटक एक प्रयोगात्मक नाटक रहेछ। यसका दर्शक आफै नाटकका पात्र रहेछन्।

रोल्पाको एक गाउँमा दश दिन बिताएर त्यहाँका द्वन्द्व भोगेका मानिसहरूको अनुभूति रहेछ यो।

नर्वेमा उनले यस्तै नाटक देखाइसकेका छन्। नेपालमा पनि यो चौथो शृङ्खला हो।

कमजोर मन भएकाहरू, अनि दह्रो मुटु हुनेहरू। सबैले यो नाटकलाई आ–आफ्नै ढङ्गले बुझ्न सक्नेछन्। तर द्वन्द्वका कारण कहिल्यै नमेटिने दाग लागेकाहरूलाई भने यसले बल्झाउनेछ। खाटा बसेको ठाउँलाई कोट्याउनेछ।

२५ असार, २०७९, ११:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।